ड्रग्सले डुब्दै ड्युडहरू!


गोकर्णप्रसाद उपाध्याय ।
संयुक्त राष्ट्र संघीय महासभाले १९८७ डिसेम्बर ७ मा जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेपछि सुरू भएको लागुऔषध विरूद्धको विश्वव्यापी साझा अभियान हाल जारी छ।

तर पनि लागुऔषधका प्रयोगकर्ता र चुनौती अविरल थपिँदैछन्।

यसै सेरोफेरोमा ’मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागुऔषध चुनौतीको गरौं सम्बोधन’ भन्ने राष्ट्रिय नाराका साथ सन् २०२२ को दिवस मनाइँदैछ। केयर–इन–क्राइसिस ह्यासट्यागका साथ सामाजिक सञ्जालहरूमा फैलिएको छ।

ष्लखयतभअज
द्वन्द्व, प्राकृतिक विपद, राजनीतिक वा धार्मिक कारणले हुने विस्थापन, चरम आर्थिक संकट र स्वास्थ्य संकटको अवस्था लागुऔषधको जालो फैलाउने उर्वर अवस्था भएको कुरा विश्वव्यापी नाराले सम्बोधन गरेको छ।

मानवीय र स्वास्थ्य संकटजस्ता संकटका बेला लागुऔषधको जोखिम झन् बढ्न सक्ने यथार्थतालाई अफगानिस्तान र युक्रेनको मानवीय संकटको बेला लागुऔषध कारोबारीहरू सल्बलाएका र कोभिड–१९ को आगमनसँगै अनलाइनमा आधारित कारोबार; लागुऔषधको ओसारपसारमा निजी विमान प्रयोग; जलमार्ग प्रयोग; बिक्रीकर्ता र सेवनकर्ताबीच प्रत्यक्ष सम्पर्कमा नआउने ’कन्ट्याक्टलेस’ विधिहरूको प्रयोग बढेको तथ्यले सजिलै पुष्टि गर्छन्।

विश्वभर लागुऔषध प्रयोगकर्ता २७ करोड ५० लाख नाघिसके। नेपालकै सेरोफेरो खोतल्दा पनि सन् १९९० को दशकमा केवल एउटा सुधार केन्द्र थियो– आसरा सुधार केन्द्र, काठमाडौं। अनि सीमित कार्यकर्ता।

लष्अ

आजको मितिमा २७ जिल्लामा दुई सय पचासभन्दा बढी यस्ता सुधार केन्द्र खुलिसकेका छन्। प्रयोगकर्ता बढे र पो ’रिह्याब सेन्टर’ बढे। लागुऔषध सेवन, बिक्री वितरण, ओसारपसार वा यस्तै अन्य लागुऔषधसम्बन्धी मुद्दाका कारण अहिले ६ हजारजति कैदीबन्दी कारागारमा छन्।

देशभरका रिह्याब सेन्टरहरूमा ५ हजारजति युवा उपचारका लागि बसेका छन्। उनीहरू आफ्नो, परिवार र राज्य सबैको लागि अनुत्पादक भएर थन्किएका छन्।

विश्व ड्रग्सको दुरूपयोग र अवैध ओसारपसारसँग साझा रूपमा जुधिरहेको छ। यो लडाइँ आजको होइन, सदियौंदेखिको हो र संकेतहरूले भनिरहेछन् ’अझै सदियौंसम्म ड्रग्स विरूद्धको यस्तै लडाइँ चलिरहनेछ।’

यो लडाइँमा कति युवा ज्यान गुमाउने छन् अनुमान छैन। अहिले पनि बर्सेनि ९० हजारभन्दा बढी युवाहरू विभिन्न किसिमका लागुऔषधको ’ओभरडोज’ का कारण ज्यान गुमाइरहेका छन्। ड्रग्स सेवन र अवैध ओसारपसारका कारण युवाहरू एकातर्फ अनुत्पादक बन्दैछन्। कैयौंको जीवन कारागारमा, कैयौंको रिह्याबमा बित्दैछ। स्वास्थ्य बिग्रिँदैछ, कतिपयले ज्यानै गुमाइरहेका छन्। यस अर्थमा ड्रग्सका कारण डुब्दैछन् ’ड्युड’ हरू।

विश्वमा गाँजा, अफिम र कोकिनजन्य प्राकृतिक लागुऔषधहरू छन्। त्यसैगरी सिन्थेटिक र नियन्त्रित गरी विभिन्न किसिमका लागुऔषधहरू प्रयोगमा छन्। लागुऔषधको प्रसंग निकाल्ने तर गाँजाको कुरा नगर्ने हो भने अपूरो हुन जान्छ।

नेपालमा गाँजा अहिले चर्चामा छ। गाँजा खोल्नुपर्ने माग उच्च छ। संसदमा कुरा उठेको छ। विश्व परिवेशलाई हेर्दा हामीले गाँजालाई औषधीय प्रयोजनका लागि खोल्न ढिला गरिसक्यौं जस्तो लाग्छ।

हुन त हालै गृह मन्त्रालयले गाँजामा रहेको औषधीय गुणलाई आत्मसात गर्दै गाँजा तथा गाँजाजन्य पदार्थलाई औषधीय प्रयोजनका लागि खुला गर्न अवधारणापत्र स्वीकृत गरी अर्थ मन्त्रालयको समेत सहमति लिई थप राय सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयबाट उक्त फाइल नेपाल कानुन आयोगमा पुगेको जानकारी प्राप्त भएको छ।

विश्वमा २७ करोडभन्दा बढी ड्रग्स प्रयोगकर्ता छन्। एसियामा मात्रै करोडभन्दा बढी। छिमेकी बंगलादेशमा ३६ लाख। विश्व खुसी सूचकांकको हिमायती भुटानमा सन् २०१७ मा गरिएको सर्वेक्षणले भन्छ– त्यहाँका विश्वविद्यालयका दुई तिहाई युवा कुनै न कुनै कुलतमा छन्। लागुऔषधका प्रयोगकर्ता बढेसँगै म्यानमार सरकारले पचासौं ठाउँमा ड्रग ट्रिटमेन्ट सेन्टरहरू खोल्नुपरेको छ।

पछिल्लो सर्वेक्षणले भन्छ नेपालमा १ लाख ३० हजार ४२४ जना ड्रग्स प्रयोगकर्ता छन् र बर्सेनि ५ प्रतिशतको दरले बढिरहेका छन्।

युएनओडिसीका अनुसार विश्वमा बर्सेनि ३२ अर्ब डलर बराबरको लागुऔषध अवैध रूपमा ओसारपसार हुन्छ। एउटा अर्को अध्ययनले भन्छ अफगानिस्तानी अफिमबाट वार्षिक ३८० टन हेरोइन र मर्फिन उत्पादन हुन्छ। करिब ५ टन अफनानिस्तानमै खपत हुन्छ, बाँकी ३७५ टन विश्व बजारमा जान्छ। यो विश्व समुदायकै लागि डरलाग्दो अवस्था हो।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको उद्देश्य विश्वलाई लागुऔषधको दुरूपयोगमुक्त बनाउन कामहरू गर्ने र एकअर्काबीच सहयोग आदानप्रदान गर्ने भए पनि सो दिशामा अझै धेरै गर्न बाँकी छ।

नेपालकै सन्दर्भमा पनि जोखिम थुप्रै छन्। भारतसँगको सिमाना खुला छ, जहाँ ओसारपसार पनि हुन्छ, ओसारपसार गर्न नपाए प्रयोगकर्ताहरू सीमापारि गएर खाएर झुम्म परेर आउने प्रवृत्ति उहिलेदेखि कायम छ।

विश्वमा सिन्थेटिक ड्रग्सको सबैभन्दा ठूलो उत्पादन तथा निर्यात हुने र लागुपदार्थ उत्पादन तथा ओसारपसारको राजधानी मानिने थाइल्यान्ड, लाओस र म्यानमारको सीमा क्षेत्र ’गोल्डेन ट्रायंगल’ बाट नजिक छौं। नेपाल यस्ता ड्रग्स व्यापारको ’ट्रान्जिट’ बन्ने खतरा छ।

राम्रो अभिभावकत्व दिन नसक्दा युवाहरू कुलतमा छन्। लागुऔषध तीनै तहका सरकारको प्राथमिकतामा परेको छैन त्यसैले हामी देवतालाई सुरक्षित राख्न मन्दिर स्थापना गर्न करोडौं बजेट खन्याउँछौं, तर कुलतमा परेका युवाको सुरक्षा गर्न उपचार तथा पुनर्स्थापना केन्द्रमा लगानी शून्य छ।

गाँजा तथा अफिम खेतीलाई कानुनले बन्देज गरेको छ। तर सो खेती उत्पादन नगर्न, उत्पादन गरेको ठाउँमा फँडानी गर्न स्थानीयबासीको अवरोध र प्रतिकार हुने गर्छ।

एक अध्ययनले न्यून आय भएका मुलुकमा सन् २०३० सम्म लागुऔषध प्रयोगकर्ता ४३ प्रतिशत बढ्ने अनुमान गरेको सन्दर्भ र माथिका कारणहरूले हामी साँच्चै जोखिममा रहेको प्रमाणित हुन्छ।

विद्यालय शिक्षा, किशोर किशोरीबीच दौंतरी शिक्षा र अभिभावक शिक्षामार्फत सचेतना र रोकथामका प्रयास बढाउन ढिला गर्नु हुँदैन। जसरी अहिले पूर्व लागुऔषध प्रयोगकर्ताले रिह्याब सेन्टरहरू सञ्चालन गरेर बाटो बिराएका युवालाई सुधार्न योगदान गरेका छन्, त्यसैगरी रोकथाम र नियन्त्रणको क्षेत्रमा उनीहरूको ज्ञान, अनुभव प्रयोग गर्न सकिन्छ।

सबै तहका सरकारबीच सहकार्य, साझेदारी र स्रोत परिचालन आवश्यक छ। माध्यमिक तहका सामाजिक विषयका शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई लागुऔषधसम्बन्धी प्रशिक्षण र समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागुऔषध विरूद्ध सचेतना फैलाउन सकिन्छ। प्रत्येक प
्रदेशमा सरकारकै लगानीमा नमूना उपचार तथा पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्छ। नत्र युवाहरू ड्रग्समा डुबिरहने छन् अनि राज्य पीडामा।

(उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
सेतोपाटिबाट साभांर……..

 2,709 total views,  4 views today

Related posts