मलाई लाग्छ, म निकै सुन्दर छु – झमक घिमिरे

अश्विनी कोइराला ।

लामो समयपछि नेपाली साहित्यमा महिला स्रष्टाले मदन पुरस्कार पाएपछि साहित्यमा महिलाको वर्चश्व नघटेको प्रमाणित भयो । सबैभन्दा महत्त्वपूर्ण कुरा, यो पुरस्कार यस्ती महिलाले प्राप्त गरिन्, जो सुन्न र लेख्न मात्र सक्छिन् । सानैदेखि प्रतिमस्तिष्क रोगबाट पीडित झमक घिमिरेका खुट्टाका तीनवटा मात्र औंला चल्छन् । यही तीन औंलाबाट आफ्ना दैनिक काम गर्ने झमकले बाँकी रहेको समयमा यही खुट्टाका माध्यमद्वारा लेखिएको ‘जीवन फूल कि काँडा’बाट मदन पुरस्कार प्राप्त गरेकी हुन् ।

दर्जनौँ पुरस्कार र सम्मान पाएकी झमकले दुई लाख रुपैयाँ राशिको मदन पुरस्कार पाएपछि भने उनको राष्ट्रिय रूपमै चर्चा–परिचर्चा भयो । उक्त पुरस्कारले झमकको मात्र होइन, समग्र महिला एवं अपाङ्गको शिर उँचो भएको प्रतिक्रिया आएको थियो । उनको ‘जीवन काँडा कि फूल’ पुस्तक अङ्ग्रेजी एवं विश्वका विभिन्न भाषामा अनुदित भएपछि यी स्रष्टा विश्वकै साझा साहित्यकार बनेकी छन् । अनौपचारिक शिक्षा मात्र पाएकी झमकले करिब एक दर्जन पुस्तक लेखिसकेकी छन् ।

===

जब तपाईँले होस सम्हाल्नु भयो, आफूलाई कस्तो पाउनु भयो ?

मसँग अरूजस्तो भाषा सम्प्रेषण गर्ने अभिव्यक्ति थिएन । सक्षम हात र शरीर थिएन । तर मलाई अरूजस्तै भोक लाग्दथ्यो, प्यास लाग्दथ्यो । डरले म पनि रुन्थेँ । यो सबै सहेर घर रूघुवाका रूपमा दिनभर एक्लै बस्नु मेरो नियति थियो किनभने बैनीहरू पढ्न विद्यालय जान्थे, आमा मेलापात र बुबा जागिरमा । मेरो जीवन नजिकै गोठमा बाँधिएका पशुभन्दा फरक थिएन ।

झमक घिमिरे
त्यस्तो बेलामा आफ्नो भोक प्यास कसरी मेटाउनु हुन्थ्यो ?

आमाले कतै बासी भात राख्नु भएको थियो भने म मरीतरी खुट्टाले तान्थेँ, त्यो भुइँभरि झर्थ्यो, अनि त्यही सिता उठाएर खान्थेँ । पानी पिउने शैली पनि त्यस्तै । दुःखद् कुरा के भने जब आमा मेलाबाट फर्कनु हुन्थ्यो, भूइँभरि झरेको भात देखेपछि कुट्दै भन्नुहुन्थ्यो, ‘बहिनीहरूको भाग नराखिकन आफैँ खाइस्, सापे ।’ यसरी कुटाइ खाएर मेटिन्थ्यो, मेरो भोक र तिर्खा ।

तपाईँका खुट्टाका बूढी औँला मात्र चल्छन्, यस्तो अवस्थामा खुट्टाले खान जान्नु पनि ठूलो कुरा थियो, यो कसरी सिक्नु भो ?

संघर्षले । मलाई पनि अरूजस्तै आफैँ खान मन लाग्थ्यो । अरूले खटाई–खटाई दिएको मेरो बालमनले कसरी मान्थ्यो र ? हजुरआमाको मृत्युपछि सबै किरियामा व्यस्त भए । त्यही मौकामा मैले आफैँ खाने प्रयास गरेँ र सफल पनि भएँ ।

त्योबेलाको सबैभन्दा पीडादायी क्षण कुनलाई मान्नुहुन्छ ?

म घिस्रिएर हिँड्थेँ । यसले मेरा सबै लुगाहरू एकदमै च्यातिन्थे । मेरा लागि बुबाले बोराको पहिरन बनाइदिनु हुन्थ्यो । त्यो पनि च्यात्तिहाल्ने । छरेर खाना खान्थेँ । म सबैका लागि बोझ थिएँ । सबैले मलाई अघिल्लो जन्मको पापको फल मान्थे । नमिठो गाली गर्थे, मृत्युको कामना गर्थे । म पनि मान्छे हुँ भन्ने उनीहरूमा कल्पनासम्म थिएन । जीवनका पल–पल पीडादायी थिए ।

अक्षर कोर्न कसरी सिक्नुभयो ?

बुबाले बहिनी मीनालाई पढाउनु हुन्थ्यो । मलाई नजिकै जान मनाही थियो । यद्यपि बोलीबाट ‘क’ सुनेर सिकेँ । त्यही ‘क’लाई भूइँमा कोर्ने प्रयास गरेँ । यो निकै गाह्रो काम थियो । त्यो बेला खुल्ला धरती मेरा लागि अभ्यास पुस्तिका बने, ढुङ्गा–माटो अनि खुट्टाका मसिना औंलाहरू पेन्सिल र इरेजर बने ।

सबैभन्दा खुसीको क्षण ?

‘क’ लेख्न जानेको बेला । यद्यपि त्यो खुसी म सबैसँग बाँड्न चाहन्थेँ, तर कसलाई मतलब थियो र म ‘क’ लेख्न सिक्नुको आनन्द । मैले त्यो खुसी मुखमा फिँज निकाल्दै खुट्टा धुलोमा बजारेँ, अनि उडेको धुलोसँग मैले खुसी मनाएँ । त्यो ‘क’ सबैले देखून् भनेर भूइँमा ठूलो गरी लेखेकी थिएँ, मुखबाट आवाज निकालेर त्यसलाई देखाउने प्रयास गरिरहेकी थिएँ, तर मान्छेहरूले त्यसलाई टेकेर नामेट पारिदिए । यद्यपि ‘क’ लेख्न जान्नुको आनन्द अरूसँग तुलना गर्न सक्तिनँ ।

अक्षर जोडेर शब्द बनाउन कसरी सिक्नुभयो ?

बुबाले बहिनीलाई पढाएको कुरा म मनमनै दोहो¥याउँथे, त्यो भूइँमा लेख्ने प्रयास गर्थेँ । मान्छेहरू शीतलाई जूनको आँसु भन्छन् । मैले त्यही आँसुले अक्षर लेख्न सिकेँ, शब्द बनाउन जानेँ । त्यही आँसुले जिन्दगीको नयाँ रङ भरेँ, नयाँ खाका कोरेँ ।

यसरी अक्षर र शब्द कोर्दा त परिवारका सबै सदस्य खुसी हुनुभयो होला, होइन ?

हाम्रो समाज केटाकेटीलाई हप्काएर, दप्काएर तह लगाउनु पर्छ भन्ने संस्कृतिबाट ग्रस्त छ । हाम्रा आमा–बुबा त्यही संस्कृतिबाट हुर्किएका हुन् । मैले किन पढ्नुप¥यो, यसले किन सिक्नुप¥यो, यसको संसारमा के काम ? भन्ने सोच भएकाले मैले लख्न पढ्न सिकेको कसैलाई थाहै थिएन, मैले थाहा दिनै सकिनँ ।

आफ्नो यो अवस्थाप्रति समाजले गरेको व्यवहार कसरी सम्झनुहुन्छ ?

शरीर अपाङ्ग हुँदैमा, मेरो विवेक, विचार र भावना अपाङ्ग थिएन । उनीहरूले सबै अर्थमा आफूलाई मात्र पूर्ण ठाने र आफूलाई मात्र सग्लो देखे । यद्यपि म उनीहरूले सोचेजति निर्बल, निरीह भने थिइनँ । उनीहरूको नजरमा म बेकारकी मान्छे, काम न काजकी मान्छे थिएँ । मेरो नजरमा भने उनीहरू नै पढेलेखेका मूर्ख थिए । यद्यपि मैले यसलाई नराम्रो रूपमा लिइनँ ।

अब मानिसहरूले तपाईँलाई यो धर्तीको बोझ ठाने, त्यसबेला तपाईँलाई चित्त त दुख्थ्यो, आफैँ कमाइ गर्न पाए हुन्थ्यो भन्ने पनि आउँथ्यो कि ?

हो, मलाई अक्षर लेख्न र त्यसमार्फत् भावना व्यक्त गर्न कापी, पेन्सिल र अन्य सामग्रीको आवश्यकता पर्दथ्यो । त्योबेला ती सामग्री किन्न केही आम्दानी गर्न मन लागेको थियो । मान्छेहरू आफ्नो खुट्टाको कला देखाएर बाटोमा माग्न सल्लाह दिन्थे, त्योबेला मलाई औडाहा हुन्थ्यो, मान्छे किन मलाई यति हीन सम्झन्छन् ? के म आफ्नो सिर्जनाले कमाउन सक्तिनँ र ? भन्ने लाग्दथ्यो ।

आज त्यही लेखनले तपाईँलाई चिनाएको मात्र होइन,आत्मनिर्भर पनि बनाएको छ, यसलाई कसरी लिनुभएको छ ?

एउटी महिला सबै अर्थमा स्वतन्त्र हुन आर्थिक रूपमा आत्मनिर्भर हुनैपर्छ । यो मेरो जिन्दगीले सिकाएको कुरा हो । पहिले मैले मानिसहरूबाट जे भोगेँ, वर्तमानमा मैले तिनीहरूलाई कुनै प्रतिशोधको आँखाले हेरेकी छैन, प्रेमको आँखाले सबैलाई हेरेकी छु ।

पहिलो शब्द के लेख्नुभयो, त्यो बेला तपाईँको मनमा कस्ता भावहरू आउँथे ?

मैले पहिलो शब्द कलम लेखेँ । यो लेख्न सजिलो र मेरा लागि सपना थियो । त्यसपछि मैले जति शब्द बनाउन थालेँ, मेरा आँखाबाट आँसु बगिरहे, हतपत थामिएनन् । म त्यसलाई शब्दको उत्सव भनूँ कि आँसुको उत्सव ?

आफ्नो सिर्जनाको कमाइलाई कसरी सम्झनुहुन्छ ?

खै कुन माध्यमले हो कुन्नि, मैले खुट्टाले साहित्य सिर्जना गर्न थालेको खबर फैलिन थालेछ । त्यसअघि मुर्दाघाट जस्तो मेरो घरमा विद्वान् मानिसको चहलपहल हुन थाल्यो । त्यसबेला मैले उहाँहरूबाट मेरो कृतिको भनौँ, केही पैसा पाउन थालेँ । २०५५ सालमा छापिएको पहिलो कवितासंग्रह ‘सङ्कल्प’बाट एक हजार रुपैयाँ रोयल्टी पाएकी थिएँ । कान्तिपुरमा स्तम्भ लेख्न थालेपछि भने मेरो आम्दानी नियमित हुन थालेको हो । मेरो सिर्जना प्रकाशित हुन थालेपछि मैले आफ्ना लागि आफैँ पहिरन किन्न थालेकी थिएँ, लेख्ने कापी र डायरी पनि आफ्नै कमाइले किन्न थालेँ । कतिपय अवस्थामा मेरो पुरस्कार र रोयल्टी घरको गर्जो टार्ने माध्यम पनि भए ।

तपाईँ जन्मले नै अपाङ्ग बन्नुप¥यो, यसमा तपाईँलाई दोष थिएन भन्ने कुरा कहिले थाहा पाउनुभयो ?

अनुभवले । म सुन्थेँ, पापका कारण म यस्ती भएँ । मलाई विश्वास लाग्दैनथ्यो ।

उपचारका प्रयास कसरी भयो ?

मेरो गाउँ धनकुटा बजारभन्दा केही पर एउटा गाउँमा छ । आज पनि कुनै रोग लागे, त्यहाँ धामी–झाँक्री लगाउने चलन छ । मलाई पनि यसैगरी उपचार गराइयो । मेरो जीउमा चढेका पिशाच, डङ्किनी आदि झार्ने निहुँमा हाम्रा घरका कुखुराका भाले, अन्डा, परेवा र बोकाका बलि कति दिइए , कति ।

कहिले थाहा भयो, यो एउटा निको नहुने रोग हो, भन्ने कुरा ?

सन् २००४ मा धरानको विश्वेश्वप्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा एकजना विदेशी चिकित्सक रूइसले मलाई मस्तिष्क पक्षाघात भएको छ । यही पक्षाघातका कारण शरीर सञ्चालन गर्ने दिमागले काम गर्न सकेको छैन भनेपछि थाहा पाएँ ।

तपाईँ यस्तो अवस्थामा पनि खुट्टाबाटै एउटा सक्षम जिन्दगी बाँच्न सफल हुनुभएको छ, यसलाई के भन्नुहुन्छ ?

म केही भन्दिनँ बरू चिकित्सकहरू चाहिँ चमत्कार भन्छन् ।

तपाईँलाई कहिल्यै आफू नराम्रो छु भन्ने लाग्यो ?

कहिल्यै लागेन । मलाई कतिले मेरो अवस्था देखेर मृत्युको कामना गरे । दसैँमा मेरो बुबाले सबैलाई दीर्घजीवनको आशीर्वाद दिनुहुन्थ्यो, मलाई भने एकपटक चाँडै मृत्युको आशीर्वाद दिनुभयो । कारण म जीवनमा केही गर्न सक्तिनँ भन्ने लाग्दथ्यो । मलाई भने म सधैँ बाँचिरहूँ, रामाइरहूँ भन्ने लाग्छ । म ऐना हेर्छु र रूप देखेर मख्ख पर्छु । मान्छेहरूले मेरो जात, वर्ग छुट्याएर पनि प्रकृतिले मलाई कुनै भेद गरेन । अरूलाई जस्तै रूप, रंग र बैँस दियो ।

सुन्दरताको तपाईँको परिभाषा के हो ?

हाम्रो गाउँमा एकजना लाटे सार्की थिए, ती उति राम्रा थिएनन् । मलाई भने सानी मुखिनी भन्दै साह्रै माया गर्थे । मलाई ती सार्की मन परे । संसारमै उत्कृष्ट व्यक्ति लागे । राम्रा भन्नेहरूले मलाई एकपटक मायाले सुम्सुम्याएनन्, ती मानिसहरू मलाई कुरूप लागे ।

तपाईँले लेख्ने साहित्यको उद्देश्य के हो ?

आवाजविहीनहरूको आवाज र शब्दविहीनहरूको शब्द नै मेरो साहित्यको उद्देश्य हो ।

तपाईँले आफ्ना नामको बीचमा रहेको कुमारी हटाउनु भयो, किन ?

स्त्रीलिङ्ग बुझाउने यो शब्द महिलाहरूको सल वा सप्को जस्तै हो । जुन ठाउँ कुठाउँ अल्झिन्छ र लड्ने सम्भावना हुन्छ । नारी विद्रोहको यो एउटा सानो उदाहरण हो ।

यसका लागि तपाईँले बुबासँग ठूलै झगडा गर्नुभएछ, हगि ?

हो । म चाहन्थेँ, नागरिकताबाटै यो ‘कुमारी’ शब्द हटोस् । मैले कति कराएँ, गनगन गरेँ, मेरो कुरा सुनिएन । अन्त्यमा बुबासँग झगडा गरेरै यो काममा सफलता हात लगाएँ । यो विद्रोहले ठूलो अर्थ राख्छ ।

तपाईँका कलमले धेरैजसो विद्रोहका गीत लेखेका छन्, यो विद्रोहको भाव जन्मने पृष्ठभूमि के थियो ?

म सानैदेखि अलि हठी स्वभावकी थिएँ । लेखनमा पनि मेरो त्यही स्वभाव देखा प¥यो । मैले सानैदेखि मानिसबीच छुट्याउनेउ जात–भात, नारीलाई हेर्ने दृष्टिकोण, अपाङ्ग एवं कमजोरमाथि गर्ने व्यवहार,गरिब हुनुको पीडा सबै मैले महसुस गर्दै गएँ । मेरो पहिरन चाँडै च्यातिन्थे, केही मानिसहरू मेरो गुप्ताङ्गमा ताकीताकी ढुंगा हान्थे । एउटा विवश र लाचार केटीमाथिको यो अन्यायले ममा ठूलो हलचल त्याउँथ्यो । रजस्वला हुँदा म र मेरी बहिनीलाई भिन्दै कोठामा राख्ने, घाम हेर्न नदिने जस्ता व्यवहारबाट पनि ममा विद्रोह जन्मिथ्यो । सानैदेखि अन्धविश्वासको विरोध गर्ने र अन्यायको प्रतिकार गर्ने बानी नै थियो ।

तपाईँ साह्रै राम्रो चित्र पनि कोर्नुहुन्छ, सिर्जनाको यो आशीर्वाद कसरी पाउनुभयो ?

म सानैदेखि भुइँमा सिन्काले कोरेर फूल, मान्छे, बिरालो, खरायो आदिका आकृति बनाउँथेँ । कापी र कलम पाउन थालेपछि त्यसमा पनि कोर्न थालेँ । यद्यपि रंगसँगको पहिलो साक्षात्कार आमाको सिन्दुर चोरेर गरेँ । धेरैपछि धरानका व्यापारी एवं साहित्यप्रेमी नरेन्द्रबहादुर श्रेष्ठले मेरो यो खुबी चिन्नुभयो । उहाँले कर गरेर मलाई क्यानभास र कुची थमाइदिनु भयो । अहिले त रंगसँग मलाई ठूलो प्रेम भएको छ । जब अक्षरहरूले सम्पूर्ण भावना व्यक्त गर्न सक्तैनन्, म रंगहरूको सहारा लिन्छु ।

एउटा लेखकको रूपमा पाउनु पर्ने सबै सम्मान पाइसकेँ भन्ने लाग्छ ?

एउटा लेखकको रूपमा सबै सम्मान पाएँ कि पाइन भनेर म सोच्ने गर्दिनँ । त्यो त समयले भन्ने हो । बरू लेखक भएर गर्नुपर्ने मेरो दायित्व के हो, त्यो मैले पूरा गर्न सकिनँ कि भन्ने चिन्ता भने लागिरहन्छ ।

तपाईँ सबल हुनु भएको भए यति धेरै कृति सिर्जना हुन सम्भव थियो ?

थियो पनि होला र थिएन पनि होला । महिला परेँ, श्रीमान्, छोराछोरी स्याहार्दै हुन्थेँ कि ? सहयोगी श्रीमान् पाउँथेँ भने यति सिर्जना सम्भव थियो भन्ने लाग्छ ।

अब साहित्यिक कृतिका रूपमा कुन–कुन विधामा कस्तो कृति लेख्न मन लागेको छ ?

मैले धेरै विधाका कृति दिन बाँकी छ । स्वस्थ्यका कारणले मैले चाहेर पनि दिन खोजेजस्तो कृति दिन सकेकी छैन । मलाई जीवनलाई नजिकैबाट बुझ्ने किताब (जीवनपयोगी) दिन मन छ ।

तपाईँ बिरामी हुनुहुन्छ, अचानक मृत्यु भयो भने जीवनप्रति कुनै गुनासो बाँकी रहला ?

बिरामी छु, यो सामान्य मानिसलाई लाग्ने जस्तै छ, जसले जीवन चुँड्ने पनि सक्छ । यद्यपि मेरो मृत्यु यति चाँडै र सजिलै आउँछ भन्ने ठान्दिनँ । आखिर मृत्यु त हुन्छ नै, चाँडो र ढिलाको कुरा हो । मृत्यु भैहाले पनि जीवनप्रति कुनै गुनासो भने पटक्कै छैन किनभने मैले समाज र मान्छेको अहित हुने कुनै कर्म गरेकी छैन ।

जब खुसी हुनुहुन्छ, आफ्ना खुसी कसरी व्यक्त गर्नुहुन्छ ?

खुसी भएर ।

तपाईँको अवस्था यस्तो छ कि आफ्ना विचार सबैलाई सम्पूर्ण रुपमा सम्प्रेषण गर्न सक्नुहुन्न, यो सम्झँदा कस्तो लाग्छ ?

कुण्ठाभित्र छु कि जस्तो लाग्छ ।

तपाईँ युवा हुनुहुन्छ, तर अरू जस्तो माया प्रेम गर्न सक्तिनँ भन्दा कस्तो लाग्छ ?

हो, म युवा हुँ । यद्यपि म अरूले भन्दा बढी माया प्रेम गर्न सक्छु । अरू व्यक्तिहरू सीमित व्यक्तिलाई प्रेम गर्छन्, म सबै व्यक्ति र सबै जीवनलाई प्रेम गर्छु ।

कसैले माया गरोस्, म पनि दुलही हुन पाऊँ भन्ने लाग्दैन ?

कुनै पनि युवतीलाई दुलही हुन मन लाग्नु स्वभाविक ठानिन्छ । मेरो हकमा भने त्यो विपरीत भइदियो । मलाई आजसम्म दुलही बनेर सिंगारिऊँ भन्ने इच्छा लागेको छैन ।

झमक नारी पनि हो, आमा बन्न मन लागेको छैन ?

म आमा बनिसकेकी छु । मेरा हरेक कृति मेरो सन्तान हुन् । एउटा बेकम्मा ठानिएकी, समाजबाट पछाडि पारिएकी केटी सिर्जनाहरूको बस्तीमा पसेकी छे, सिर्जनाहरूको फूलबारी गोड्न । ती सिर्जना देख्दा तपाईँ पनि पक्कै खुसी हुनुभयो होला, मेरा सन्तान तिनै हुन् ।

सबैभन्दा बढी पीडा कुन बेला हुन्छ ?

मलाई अरूले नबुझ्दा र अरूलाई आफूले नबुझ्दा ।

आज तपाईँको नाम छ, यसको श्रेय कसलाई दिनुहुन्छ ?

मेहेनतलाई ।

आफ्ना लाखौँ पाठकलाई के भन्न चाहनुहुन्छ ?

म मेरा शुभचिन्तकहरू प्रत्येक पल सम्झिरहन्छु । ती सबैको माया र प्रेमले गर्दा झमक ‘झमक’ भएकी हो । मलाई ती सबैको गाली र ताली चाहिएको छ ।

साहित्य र कलाबाहेक तपाईँको बाँकी भएको रहर के छ ?

म कहिलेकाहीँ कल्पना गर्छु, अफ्नो रगत–पसिनाले बनेको आफ्नो घरमा बस्न पाए हुन्थ्यो । किनभने म कसैको बोझ बन्न चाहन्नँ । सबै अर्थमा आत्मनिर्भरता मेरो सपना हो ।

अहिलेसम्म विचारेर त्याउँदा जीवन काँडा रहेछ कि फूल ?

मान्छेसँग दुःख, कष्ट छ र नै ऊ सुखका लागि र आनन्दका लागि लडिरहन्छ । यो संघर्षलाई काँडा मान्ने हो भने जे प्राप्ति हुन्छ, त्यो त फूल नै हो । मलाई त जीवन फूल नै लाग्यो ।

(प्रस्तुत अन्तर्वार्ता साहित्यकार अश्विनी कोइरालाको पहिलो पुस्तक ‘उनीः नेपाली समाजका विचित्र पात्र’बाट साभार गरिएको हो ।)

 687 total views,  2 views today

Related posts