बुद्धिसागरका तीन गजल

बुद्धिसागर ।

१)
चिरा पर्यो जम्मै खेत बाली चुपचाप
हाम्रै मात्र भागमा दैव खालि चुपचाप ।

खुसी बन्यो कत्ले माछा मर्यो आँखामा
मात्र आँखा भित्रभित्रै पाली चुपचाप ।

हत्केलामा फूलै फुल्यो फुस्रो खरानी
बन्यो सारा युग पापी जाली चुपचाप ।

उदास–उदास भयो हलो माटो लोकगीत
कर्मैमा पो खिया लाग्यो फाली चुपचाप ।

उठ्यो यौटा कालो आँधी रोयो फूलबारी
सैयौँ फूलको बूढो बाबु माली चुपचाप ।

बुद्धिसागर
२)
उही हो नि नीलो पानी धार बदलिएछ
व्यापार हुन्छ जिन्दगीको बजार बदलिएछ ।

पठाइदियौ मृत्यु केवल जिन्दगीको नाउँमा
भन साथी किन उपहार बदलिएछ ।

डर लाग्छ आफ्नै आँगन घरै बिरानो भो
कहाँ टेकी भित्र पककसौं सङ्घार बदलिएछ ।

कसरी पो आगो बन्यौ फूलभौँ कोमल तिमी
अनायासै यस्तो किन विचार बदलिएछ ।

खेत–खेत बारी–बारी बग्यो रातो रगत
कहाँ गल्ती भयो फेरि असार बदलिएछ ।

३)
टल्किँदै छन्‌ खुकुरी यी कहाँ गए दापहरू
बन्दुकभैँ पड्किँदै छन्‌ आज पदचापहरू ।

ठूलै हुरी आयो मरे मलेवाका जोडीहरू
बचेरालाई कसको पो लागेछ नि श्रापहरू ।

मन्दिरमा गई बाल्छ लाख दियोबत्ती उही
जसले यहाँ धेरै–धेरै गरेको छ पापहरू ।

हेर्दाहेदै आफ्नो हजुर भइगयो खरानी नै
ललनाका मुटु पोल्छन्‌ चिताका ती रापहरू ।

छल गरेछ साहुबाले सोझा आँखाहरूलाई
लागे धैरै ती भाग्यमा अँगुठाका छापहरू ।

प्रस्तुत गजल बुद्धिसागरको पहिलो कृति रारा जलेपछिबाट साभार गरिएको हो ।

 1,357 total views,  2 views today

Related posts