सिन्धुले काठमाडौबासीलाई मेलम्चीको पानी दिएबापत वार्षिक १५ करोड रुपैयाँ पाउने

सिन्धुपाल्चोकले काठमाडौ बासीलाई मेलम्चीको पानी दिएबापत लेबीस्वरुप वार्षिक १५ करोड रुपैयाँ पाउने भएको छ ।
खानेपानी मन्त्रालयले प्रतिएक हजार लिटर पानीमा करिब दुई रुपैयाँ लेबी पाउने गरी नियमावली बनाएको छ । यो नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृत गर्ने क्रममा रहेको खानेपानी सचिव माधव बेलबासेले बताए ।

योजना आयोगले मेलम्चीको पानी दिएबापत सिन्धुपाल्चोकमा पर्ने आर्थिक, वातावरणीय र सामाजिक प्रभावको मूल्यांकन गरी लेबी तय गरेको हो । योजना आयोगका लागि पूर्व अर्थ सचिव सुमनप्रसाद शर्माको संयोजकत्वमा समिति बनेको थियो । समितिमा सञ्जय अधिकारी, पवन लोहनी र राजीव जोशी थिए ।

संयोजक शर्माका अनुसार सुख्खायाममा धेरै लेबी प्राप्त हुने र वर्षायाममा कम हुने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लागू गर्ने महसुल दरको २० प्रतिशतले हुने गरी लेबी तय गरिएको हो ।
समितिले मेलम्ची खोलाले हुने सिंचाइ, बाली विविधता, बाली सघनता, वातावरणमा पर्ने प्रभाव, सिन्धुपाल्चोकवासीको आर्थिक सामाजिक जीवनमा पर्ने प्रभावलगायतका पक्षलाई समेटेर अध्ययन गरिएको पूर्व सचिव शर्माले बताए ।

 21,777 total views,  6 views today

Related posts