ए प्लस मात्र सफलताको मापन होइन


मिलन पाण्डे ।

एउटा अनुमानबाट सुरु गरौं– मानौं एसईईमा सबै विद्यार्थीको ४ जीपीए आयो । शिक्षकहरूबाट, राजनीतिज्ञहरूबाट, उद्यमीहरूबाट, पत्रकारहरूबाट कस्तो प्रतिक्रिया आउला ? के यी व्यक्तिहरूले ‘हाम्रो देशको शिक्षा उत्कृष्ट भयो’ भन्लान् ? शिक्षकहरूलाई, विद्यालयलाई पुरस्कृत गर्लान् ? त्यस्तो पक्कै हुनेछैन । परीक्षा निकै सजिलो रहेछ भनिनेछ । प्रश्नपत्र बनाउने, कापी जाँच्नेहरूमाथि नै प्रश्न उठाइनेछ । अझ, बजारमा ‘अब शिक्षाको स्तर बढाउनुपर्छ’ भनेर बहस हुनेछ ।

अघिल्ला वर्षहरूमा कोरोनाका कारण एसईई परीक्षा भएन । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई आफूखुसी बढी नम्बर दिए । २०७२ को एसईईमा २ जना, २०७३ सालमा जम्मा ४ जनाले ४ जीपीए ल्याएका थिए । तर, २०७७ सालको एसईईमा करिब साढे ८ हजारले ४ जीपीए ल्याए । के यी ५ वर्षमा शिक्षामा आमूल परिवर्तन भएको हो ? राज्यले चमत्कार गरेको हो ? विद्यार्थीहरूको स्तर ह्वात्तै बढेको हो ? होइन । यो ग्रेडको स्फीतीकरण हो । जति धेरैको जीपीए ४ आउँछ, त्यति धेरै त्यसको मूल्य घट्छ ।

म यो एकोहोरो प्रतिस्पर्धात्मक परीक्षा प्रणालीको पक्षमा छैन । हालको परीक्षाले पौडिने, कुद्ने, उड्ने सबलाई एउटै फित्ताले नापिरहेको छ । यो प्रणाली अवैज्ञानिक त छँदै छ, अन्यायपूर्णसमेत छ । परीक्षाले त हरेक व्यक्तिलाई उसको आफ्नै प्रतिभा अनुरूप मापन गर्ने हो । परीक्षाले प्रत्येकको आफ्नै प्रगति मापन गर्ने हो । विद्यार्थीले दस वा बाह्र कक्षा सक्दै गर्दा, आफू कुन विधामा अघि बढ्न सक्ने हो, त्यो पहिचान गर्न सकिने देखिएको छ । शिक्षामा राम्रो गरिरहेका देशहरूले विद्यार्थीहरूलाई ८ कक्षा सक्दै गर्दा विद्यार्थी र अभिभावकलाई बोलाएर ऊ के विषयमा राम्रो छ र उसको करियर कता मोड्न सकिन्छ भनेर पहिचान गरिदिन्छन् । कोहीलाई एकेडेमिक्समै अगाडि बढ्न सुझाव दिइन्छ । कोहीलाई खेलमा त कोहीलाई प्राविधिक क्षेत्रमा । तर, ८ वा १० कक्षा सक्दै गर्दा सबै विद्यार्थी आफ्नो बाटो पहिल्याउँछन् । त्यहाँको शिक्षा ए प्लस, बी प्लसमा अड्किएको छैन ।

अहिले अंगीकार गरिएको प्रणालीमा सफलता त्यो हो, जो थोरैले पाउँछन् । हुन त, सफलता भनेको सापेक्षता नै हो । यो मापनमा, कोही असफल भए न कोही सफल हुने हो । मैले आजसम्म आत्मसात् गर्न नसकेको कुरा के हो भने, एउटा स्कुलले ५०० जना भर्ना गर्छ अनि ढोकामा ५ जनाको फोटो झुन्ड्याएर आफैं सफल भएँ भनेर प्रचार गर्छ । यो बेइमानी हो । एउटा स्कुलले बाँकी ४९५ जनाको जिम्मा लिनुपर्छ कि नाइँ ? जबसम्म प्रत्येक विद्यार्थीको जिम्मा स्कुलले लिन सक्दैन, त्यो शिक्षालाई सफल मान्न सकिँदैन ।

संसारमा भएका विभिन्न अध्ययनले ग्रेडले विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व नगर्ने देखाएका छन् । ती मार्कसिटले सृजनशीलता, नेतृत्व क्षमता, सामूहिकता, सामाजिक–मानसिक र राजनीतिक चेतबारे दर्साउँदैनन् । विद्यार्थीले किताबमा रहेका सूचनाहरूलाई संश्लेषण गरेर परीक्षामा लेखेर नम्बर त ल्याउन सक्लान् तर जीवनमा सफलताका निम्ति समस्याको सही समाधान दिन सकिरहेका छैनन् । अझ, समस्याको उचित पहिचान नै गर्न सकिरहेका छैनन् । हामी सफलतालाई ए प्लसमा खोज्ने मूर्खता गरिरहेका छौं । प्रख्यात कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो छोरालाई भनेका थिए, ‘तिमीले कक्षामा टप गर्नु पर्दैन, औसत छात्र भए पुग्छ । औसत विद्यार्थीसँग मात्र आफ्नो सीप विकासका लागि पर्याप्त समय हुन्छ । टपरहरूले धेरै कुरा गुमाएका हुन्छन् ।’ उनको यो बुझाइ निकै महत्त्वपूर्ण छ ।

विद्यार्थीहरूले टप गर्न वा राम्रो ग्रेड ल्याउनका लागि धेरै कुरामा ‘कम्प्रोमाइज’ गरेका हुन्छन् । कतिले स्वास्थ्यलाई ख्याल नगरी निरन्तर पढेका हुन्छन् । ‘परीक्षा’ भन्दै आफ्नै दिदी–दाइको बिहेमा पनि माथि पूजाकोठामा थुनिएर पढेका हुन्छन् । मामाघर, आफन्तकहाँ नगएको वर्षौं भैसकेको हुन्छ । हामीलाई राम्रो ग्रेड ल्याउने भूत चढेको हुन्छ । हामी टप नै गर्नुपर्छ, पर्फेक्ट नै हुनुपर्छ भनेर बसेका छौं । हामीलाई यही सिकाइएको छ । ठूलो कम्पनीमा जागिर खाने, घर बनाउने, गाडी किन्ने सपना बुनेका हुन्छौं । त्यसका लागि बढी नम्बर ल्याउने दौडमा लाग्छौं ।

शैक्षिक शोधकर्ता क्यारन आरनोर्डले गरेको अनुसन्धानमा टपरहरूको करियर सफल हुने गरे पनि उनीहरू माथिल्लो दर्जामा कमै मात्र पुग्ने गरेको देखिएको थियो । उनी स्वर्णपदक विजेता विद्यार्थीमा दूरदर्शिताको कमी हुने बताउँछन्  । यी विद्यार्थीहरू प्रायः सिस्टमकै सहयोगी बन्छन्, सिस्टम हल्लाउने तागत राख्दैनन् । त्यसैले टपर मात्र सफल हुन्छन् भन्ने होइन । त्यो सफलताको मापन केले गर्ने भन्ने हो ? परीक्षाको नतिजाले वा जीवनको यात्राले ? स्टिभ जब्सले उच्च शिक्षा सक्दै गर्दा २.६५ जीपीए ल्याएका हुन् । हाम्रै हरिवंश आचार्य एसएलसी फेल भएका हुन् । चर्चित मार्टिन लुथर किङ जुनियरले कलेजको चार वर्षमा एकचोटि मात्र ए ल्याएका छन् । खोक्रो ग्रेडका लागि कुद्नभन्दा पनि आफूलाई निरन्तर ‘अप–ग्रेड’ गर्न हामीले हाम्रा विद्यार्थीहरूलाई कहिले सिकाउने ? प्रश्न यहीँनेर उठ्छ । नम्बर घट्ला, ग्रेड कम आउला तर हाम्रो लक्ष्यप्रतिको ऊर्जा ग्रेडकै कारणले घट्नु हुँदैन ।

मैले एसएलसीमा त्यति बेलै डिस्टिंक्सन ल्याएको थिएँ । तर, आज ती नम्बरहरूले मलाई खोक्रो साबित गरिरहेका छन् । बिरामी हुँदा पनि कालो चिया अनि थिन आरोट बिस्कुट खाएर स्कुल गएर दिनभरि पढेँ । पढाइ नसकी प्रेम गर्नु हुँदैन भनेर म प्रेमबाट भागेँ । आज फर्केर हेर्दा, यदि १७ वर्षअघि फर्कन पाउँथेँ भने, म बरु कम नम्बर ल्याउन तयार हुन्थेँ तर यसरी स्वास्थ्य मारेर स्कुल जान्नथेँ होला । आज फर्केर हेर्दा, नम्बरका लागि मेरा ससाना खुसीसँग सम्झौता गर्दिनथेँ होला । अझ कम घोक्थेँ होला । बाहिरी ज्ञानहरू बटुल्थेँ होला । आफ्नो रुचिका लागि अझ समय दिन्थेँ होला । मैले विज्ञानका कापीहरूमा चित्रहरू छापेर कटाएको समयमा आफ्नो नेतृत्व कला अनि लेखन सुधार्थें होला । जीवन जिउने कलाबारे अझ बुझ्थेँ होला । अलिकति बोल्ने कला र ‘कमेडी’ पनि सिक्थेँ होला । साथीहरूसँग रातिराति जीवनको अर्थ बुझ्ने–बुझाउने गफ गर्थें होला । त्यो खासै जीवनयात्रामा माने नराख्ने ए प्लसको पछि दौडिन्नथेँ होला ।

आज जीवनको यात्रा यो विन्दुमा पुग्दै गर्दा, परीक्षामा कति नम्बर आयो भन्ने कुराले त्यत्रो ठूलो अर्थ नराख्ने रहेछ भन्ने कुरा बुझ्दै छु । अर्थ त हामीले १० वर्षपछि आफूलाई कहाँ के गरिरहेको देखिरहेका छौं, त्यो आकृति हाम्रा आँखामा आएको छ–छैन भन्ने कुराले राख्ने रहेछ । यथार्थमा, त्यही आकृतिले हामीलाई डो¥याउने रहेछ । मार्ग देखाउने रहेछ । डाक्टर बन्न चाहन्छौं भने हाम्रा आँखाअगाडि सेतो कोट लगाएर आफ्नो

तस्बिर आउन जरुरी रहेछ । क्रिकेटर बन्ने हो भने आफ्नो वर्ल्डकप खेलेको तस्बिर अगाडि आउनुपर्ने रहेछ । आफ्नो लगाव र रुचि पहिल्याउन सक्नु नै हाम्रो सफलता रहेछ । साँचो अर्थमा सही शिक्षा त्यही तस्बिरको निर्माण गर्नु रहेछ । हुन त, हामीलाई आफू केमा राम्रो छु भन्ने पत्ता लगाउन समय लाग्न सक्छ । त्यो समयको खोजी गर्न सक्नु नै शिक्षा रहेछ । आफ्नो त्यही लगाव र रुचिको खोजी नै जीवन रहेछ । यत्ति कुरा बुझ्नु, मार्कसिटको ‘ए प्लस’ भन्दा ठूलो उपलब्धि रहेछ ।

अन्त्यमा फेरि भन्छु, परीक्षामा कम नम्बर ल्याउनु भनेको असफल हुनु होइन । हामीले जीवनमा केही गुमाउँछौं, त्यसको बदलामा अरू केही पाइरहेका हुन्छौं । ए प्लसको बदलामा बी प्लस वा सी प्लस आउँदै गर्दा जुन समय अन्य कुरामा लगाइएको हुन्छ, त्यो समयमा उनीहरूले अन्य सीप र कला सिकिरहेका हुन्छन् । सायद त्यही सीपले उनीहरूलाई जीवनमा सफल पनि बनाइरहेको हुन्छ । विद्यार्थीले कम नम्बर ल्याउँदा सबैभन्दा पहिले यो कुरा उनीहरूको परिवारले बुझ्नुपर्छ । इन्जिनियर बनाउने होडमा कतिपय अभिभावकले आफ्ना छोराछोरीभित्र लुकेको क्रिकेटरको हत्या गरिरहेका हुन्छन् । डाक्टर बनाउने होडमा, हाम्रा छोरीहरूको मिस नेपाल बन्ने सपनालाई कुल्चिरहेका हुन्छौं । यो कुरा अबचाहिँ हामीले बुझ्नुपर्छ ।

आज सफलताका निम्ति हामीले सर्टकट बाटो लिन थालेका छौं । आज हाम्रो शिक्षा नै कस्मेटिक बन्दै छ । फोटो राम्रो निकाल्ने दुई तरिका हुन्छन् । पहिलो, मान्छे नै राम्रो बनाउने । दोस्रो, फोटोसप गर्ने । हाम्रो शिक्षाले दोस्रो बाटो रोज्न थालेको छ । आफ्ना विद्यार्थी पास गराउने नाउँमा गेस पेपरमा प्रश्न बाँड्छ । अनि, चिट चोराएरै भए पनि शतप्रतिशत पास गराउँछ । आइपरे सेन्टर किनिदिन्छ । अनि, फेरि त्यही नतिजालाई नै सर्वस्व मानेर फोटो झुन्ड्याउँछ । हामीले सफलतालाई पनि व्यापार बनाएका छौं । सफलताको नाटक रचिरहेका छौं । यो नाटक अब पनि नरोक्ने ?

एसईईमा कम नम्बर आएछ वा फेल नै भइएछ भने पनि केही फरक पर्दैन । लाग्दो हो, साथीहरू पास भएर कहाँ पुगे, म छुटेँ । एउटा के भ्रमबाट हामी मुक्त हुन जरुरी छ भने, प्रत्येक व्यक्तिको आआफ्नै बाटो हुन्छ । प्रत्येक मानिसको आफ्नै गति छ अनि आफ्नै गोरेटो छ । तपाईंको संघर्ष अनि तपाईंक
ो बाटो तपाईंको साथीको भन्दा फरक छ । तपाईंले एकदुई वर्ष ढिलो परीक्षा उत्तीर्ण गर्नुभयो वा अलिकति नम्बर कम ल्याउनुभयो भने पनि लामो दौडमा त्यसले केही माने राख्नेवाला छैन । केवल तपाईंले आफूलाई पहिचान गर्न सक्नुहुन्छ वा हुँदैन भन्नेले मात्र माने राख्छ । एसएलसी फेल भएर वा बी प्लस वा सी प्लस नै आएर के भो र ? कतै जीवन संघर्षको यात्रामा तपाईंकै कक्षाका टपरलाई जागिर खुवाउने संयोग पो जुर्छ कि ? कहिलेकाहीँ परीक्षामा खाएको आलुले भोलि ठूलो फल पो दिन्छ कि ?
(कान्तिपुरबाट)

 3,537 total views,  6 views today

Related posts