नेपाली कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्य


भुपेन्द्र थापा (माधब)

कम्युनिस्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारिणी प्रमुख प्रधानमन्त्री बने । राष्ट्रप्रमुख राष्ट्रपति बने । उपराष्ट्रपति बने । तर जुन वर्गको उत्थानका निम्ति आन्दोलन भयो त्यो कति पूरा भयो कति हुन बाँकी छ । त्यो नेपाली समाजमा प्रष्टै छ । इतिहासमा भएका कमजोरी र वर्तमानको दम्भबाट बाहिरन नसके भविष्य अन्धकार हुने निश्चित छ ।

नेपालमा राणा विरोधी आन्दोलनका पहिलो विद्रोही योद्धा थिए लखन थापा मगर । उनलाई वि.सं. १९३३ सालमा मृत्युदण्ड दिएर सामान्ती शाही शासकहरूले आफ्नो सत्ता विनासको निम्तो दिएका थिए । १९९७ सालमा टंकप्रसाद आर्चायको नेतृत्वमा र प्रजापरिषद् गठन भयो । जसले राणा शाहीहरूविरुद्ध पर्चाबाजी सुरु गरेको थियो । प्रजापरिषद्का नेता शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई सरकारले प्राणदण्ड दिएको थियो । त्यसैगरी ३६ जनालाई आजीवन कारावासको दण्ड दिइयो ।

१९९७ सालको काण्डपछि विस्तारै मुलुकभर राणा विरोधी स्वरहरू गुन्जिन थाले । भित्रभित्रै विद्रोहका मुनाहरू पलाउन थाले । त्यसै समयमा क.पुष्पलाल श्रेष्ठ जो सहिद गंगालाल श्रेष्ठका भाइ थिए, उनको पहलमा नेपाल कम्युनिस्ट पार्टी गठन भयो । कलकत्ताको स्यामबजारस्थित नवीन गल्लीको एउट वंगालीको घरमा लेनिनको जन्म जयन्तीको अवसर पारेर २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) नेपाल कम्युनिस्ट पार्टीको विधिवत जन्म भएको थियो । नेपाल कम्युनिस्ट पार्टीको गठनको २ दिन पछाडि वैशाख १२ गतेको बैठकले क.पुष्पलाल श्रेष्ठलाई महासचिव निर्वाचित ग¥यो । क.निरञ्जन गोविन्द वैद्य, क.नरबहादुर कर्माचार्य, क.नारायण विलास जोशी र क.मोतिदेवी श्रेष्ठसहित पाँच जनाको कमिटी गठन भयो । चार महिनापछि २००६ भाद्र ३० गते ने.क.पा गठनको औपचारिक जानकारी गरियो । औपचारिक घोषणा गर्दा केन्द्रीय कमिटीमा क.पुष्पलाल श्रेष्ठको नेतृत्वमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र माइसाप भनिने अयोध्या सिंह मात्र थिए । उक्त कमिटीमा महासचिव क.पुष्पलाल नै थिए । कलकत्ताको स्यामबजारमा गठन हुँदा बैशाख १० गते २००६ सालको केन्द्रीय समिति नै भाद्र ३० गते २००६ मा आइपुग्दा चार महिनाको छोटो अवधिमा नै संस्थापक चार जना हटेका थिए । उनीहरू कसले र कसरी हटे आजसम्म विवादमै छ ।

कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै विवादको सिकार हुन पुगेको देख्न सकिन्छ । जसलाई क.पुष्पलालले पार्टीभित्र संशोधनवादको प्रवेश भएको भने पनि पार्टी भित्रको यो पहिलो सैद्धान्तिक बहसको उपमा दिइएको थियो । पार्टी भित्रको आन्तरिक संर्घषको रूपमा गणतन्त्र कि संवैधानिक राजतन्त्र ? भन्ने सैद्धान्तिक वहसमा गणतन्त्रको पक्षमा क.पुष्पलाल उभिएका थिए भने संवैधानिक राजतन्त्रको पक्षमा क. मनमोहन अधिकारी उभिएका थिए । गणतन्त्रको पक्षमा उभिएका क. पुष्पलाललाई महासचिवबाट हटाइयो । यसले पार्टीभित्र संशोधनवादको प्रवेश भएको स्पष्ट हुन्छ । स्थापनाकालदेखि नै संख्या, विवाद अस्पष्टता र छलकपटबाट कम्युनिस्ट आन्दोलन आरोपित भएको देखिन्छ । ७३ वर्षको यो इतिहासमा कम्युनिस्ट पार्टी कहिल्यै विवाद मुक्त हुन सकेन । इतिहासको जगमा वर्तमान उभिएको हुन्छ । वर्तमानको जगले भविष्य निर्माण हुन्छ । आजका हाम्रा कम्युनिस्ट पार्टीका नेतृत्वको वैचारिक विचलनताले र सैद्धान्तिक अकर्मण्यताले कम्युनिस्ट आन्दोलनको भविष्य पतनवादको खाल्टोतिर जाँदै छ भन्ने दृश्य प्रष्टै छ । नेकपा स्थापनाको चार वर्षपछि २०१० सालमा पार्टीको पहिलो अधिवेशन भयो । उक्त अधिवेशनमा क.मनमोहन अधिकारीले २००६ सालमा नेकपाले जारी गरेको प्रथम घोषणापात्र नै संशोधनको प्रस्ताव राखेर संशोधन गरी गणतन्त्रवादी घोषणा पत्रलाई असफल बनाएर वैज्ञानिक राजतन्त्र स्वीकार गरेको थियो ।

वास्तवमा ०४७ सालमा गठन भएको नेकपा एमालेको लाइन नै क.मनमोहनले ०१० सालमा पारित गराएको संशोधनअनुसार थियो । जसको नेतृत्व मदन भण्डारीदेखि माधव, झलनाथ, वामदेव, केपीसम्मले गरेको इतिहास घामझै छर्लंग छ । जुनवेला मनमोहन अधिकारीले प्रस्तुत गरेका प्रस्तावमा प्रथम घोषणापत्रको वामपन्थी मूलहरूलाई सुधार्नुपर्ने उल्लेख गरेका थिए । यसरी नै उनले नेकपालाई वैधानिक राजतन्त्र र संसदीय अभ्यासको लाइनको पक्षमा अगाडी बढाए । मनमोहनको त्यहि संशोधनवादी लाइनका कारण केशरजंग रायमाझी प्रवृत्तीको जन्म भएको हो भन्ने कारणको अरू प्रष्टीकरण दिनुपर्ने देखिँदैन । त्यसैकारण पनि नेकपामा पहिलो फुट भएको बुभ्mन सकिन्छ ।

दोस्रो महाधिवेसनबाट उनै दरबारको दानापानी खाएका केशरजंग रायमाझी महासचिव बने । परिणाम स्वरूप ०१९ सालमा नेकपाले पहिलो विभाजनको कलंक बेहोर्नुप¥यो । ०१७ सालमा कम्युनिस्ट पार्टीका महासचिव रायमाझी निरंकुशताको पक्षमा उभिएर राजाको कदमको खुलेरै स्वागत गरे । त्यही नै नेकपा फुटको मुख्य कारण बन्न पुग्यो । त्यसैबीचमा पुष्पलाल, तुलसीलाल, मोहनविक्रम र मनमोहनहरूको पनि विभाजनका शृंखलाहरू एकपछि अर्को फुटको सिकार हुन थाले । जसले गर्दा ०२३ सालसम्म आइपुग्दा नेपालमा कम्युनिस्ट पार्टीहरू लगभग अवसानको संघारमै पुगेका थिए । दक्षिणपन्थी संशोधनवाद, व्यक्तिवादी अवसरवाद, अस्पष्टतावादी पतनवाद र दलाल सामन्तवादी परस्तवाद नेकपा स्थापनाकालदेखि नै हुर्किंदै आएको बुभ्mन गारो नपर्ला । त्यसपछि एकातिर पूर्व मेचीकोसी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंग रायमाझीको समूहमा पनि विभाजन आयो । एक वर्षपछि क.पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गरे । त्यो पनि ०२५ सालमा विभाजित भयो । पार्टीका शीर्षथ नेताहरू तुल्सीलाल र पुष्पलाल पनि छुटिए ।

०२८ सालमा नेपाली कम्युनिस्ट आन्दोलनमा दुई वटा लाइनहरू प्रष्ट देखा परे । एउटा झापा जिल्ला कमिटी र अर्को केन्द्रीय न्युक्लियस थियो । जसको नेतृत्व सिपी मैनालीले झापा आन्दोलनमार्फत गरेका थिए भने मोहनविक्रम सिंहले पञ्चायत, भारतीय विस्तारवाद र सामन्तवाद विरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए । ०२८ सालदेखि यता यी दुई समूहहरूमा पनि दर्जनौँपटक विभाजनका तीता–नमीठा अनुभवहरू नेपाली कम्युनिस्ट आन्दोलनले भोग्दै आएको इतिहास छ । ०२८ सालदेखि वैचारिक र सैद्धान्तिक रूपमा यी दुई समूहबीच निकै फराकिलो धुव्रीकरण झण्डै ५० वर्षभन्दा बढी नै रह्यो । ०३१ सालमा मोहनविक्रम र निर्मल लामाको नेतृत्वमा चौथो महाधिवेशनद्वारा नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि सशस्त्र सघर्ष गर्ने प्रस्ताव पारित भयो ।

०३५ सालमा नेकपा (माले) ले पनि जनवादी क्रान्ति, पुँजीवादी क्रान्ति, सर्वहारा वर्गको अधिनायकत्व, जनताको जनवादी गणतन्त्रमा जोड दिँदै नेकपा मालेको स्थापना भयो । ०३६ सालमा फेरि मनमोहन अधिकारीले नेकपा मनमोहन समूह गठन गर्दै रणनीतिक नयाँ जनवादी गणतन्त्र र कार्यनीतिक प्रजातन्त्रको पुनःस्थापना जनमत संग्रहमा बहुदललाई भोट माग्ने लाइन पास गरे । ०४२ सालमा नेकपा माक्र्सवादी गठन मनमोहन अधिकारीकै अध्यक्षतामा भयो । महासचिव मनमोहन अधिकारी, सचिव सहाना प्रधान र बलराम उपाध्यायसँगै सदस्यहरूमा भरतमोहन अधिकारी सिद्धिलाल सिंह, कमल कोइराला, केशरमणि पोखरेल, बोधराज काफ्ले, माधव ज्ञवाली, शरणविक्रम मल्ल, तिलक पराजुली, एकराज पाण्डे, रामसिहं रावल, राम व. भण्डारी, वोर्णबहादुर कार्की, समिर यादव, दुखीलाल चौधरी, भीम सेडाई, महेश्वर शाह आदिसमेत थिए । ०४७ सालको पुसमा नेकपा माक्र्सवादी सातौँ सम्मेलन नेकपा माक्र्सवादी र नेकपा मालेको संयुक्त भेलाद्वारा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी र लेलिनवादी नेकपा (एमाले) गठन भयो । ०४६ सालको जनआन्दोलनमा तुलसीलालको अध्यक्षतामा बसेको बैठकले सहाना प्रधानको अध्यक्षतामा २१ सदस्यीय संयुक्त वाममोर्चा गठन भयो । संयुक्त वाम मोर्चामा संलग्न पार्टीहरू थिए, ‘नेकपा माक्र्सवादी, नेकपा माक्र्सवादी–लेलिनवादी, नेकपा चौम, नेकपा अमात्य, नेकपा मानन्धर, नेकपा वर्मा, नेमकिपा (रोहित) स्वतन्त्र वामपन्थी पदमरत्न तुलाधर ।’ अर्का तिर संयुक्त जनआन्दोलन समितिमा नेकपा मशाल, नेकपा मसाल, नेपाल कम्युनिस्ट लिग, नेकपा मालेमा (कृष्णदास) र स्वतन्त्र वामपन्थी नेता गणेश पण्डित पनि थिए । ०४६ सालको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको स्थापनको पक्षमा थियो ।

०४६ साल यता पनि नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन र एकताका इतिहास निकै छन् । नेकपा (एमाले) को ०५४ सालमा विभाजन भई ०५८ सालमा एकता भयो । माओवादीको इतिहास पनि टुटफुट विभाजनका विनासकारी पहिरोवाट गुज्रिदै आएको थियो । नेकपा चौमबाट लागेको फुटको पहिरो ०७९ सालसम्म पनि रोकिएन । पुष्पलाल, निर्मल लामा, मोहन विक्रम, मोहन वैद्य (किरण) हुँदै पुष्पकमल–प्रचण्ड) सम्म आइपुग्दा माओवादी आन्दोलन भित्र ठूला–साना गरी ०४१ सालदेखि झण्डै ०७९ सम्म आइपुग्दा विभाजनका पहिराहरू अनगिन्ती देख्न सकिन्छ ।माओवादी ०५२ साल फागुन १ गतेबाट दीर्घकालीन जनयुद्धको बाटो तय गरी प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढदै, आधार इलाका निर्माण गर्दै जनमुक्ति सेनालाई सशक्त पार्दै अघि बढ्दै गयो । हजाराँै मानिसहरू सहिद भए । हजारौँ बेपत्ता भए । हजारौँ घाइते अपांग भए । अन्ततः १० वर्षपुग्दा नपुग्दै १२ बुँदे सम्झौतामा माओवादी आयो ।

माओवादीको १० वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनको बलमा २ सय ४० वर्षे सामन्ती निरंकुश राजतन्त्रको विधिवत रूपमा अवसान भयो । ०६४ साल चैत २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो । माओवादी सबैभन्दा ठूलो पार्टी भयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड भए । तर पहिलो संविधानसभाबाट सविधान निर्माण हुन सकेन र दोस्रो संविधानसभाको निर्वाचन २०७० मंसिर ४ मा सम्पन्न भयो । ०७२ असोज ३ गते संविधान सभाद्वारा नेपालको संविधान ०७२ जारी भयो । त्यसबीचमा पनि कम्युनिस्ट पार्टीहरूमा राजनीतिक आरोह तथा अवरोह भने कायमै रहे ।०१९ सालमा बनारसबाट छुटिएका दुई धारहरू ०७५ जेठ ३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुनर्मिलन भयो । त्यो पनि लामो समय टिक्न सकेन । तीन वर्ष पार गर्दा नगर्दै फेरी ०७५ जेठ ३ को पुनर्मिलनले ०१९ सालको दोस्रो रूप लिएर विभाजन भयो ।

परिस्थितिले अवसरवादी भएकाहरू फेरि पनि सुध्रिन सक्दछन् । नेताहरूले अवसरवादी भएर मैमत्ता हुँदा कैयाँैपटक इमानदार कार्यकर्ताहरूले दक्षिणपन्थीका बारहरू भत्काएर पार्टी र नेतृत्वलाई सही बाटोमा ल्याएका उदाहरण हामीसामु छर्लंगै छ । यी र यस्ता प्रवृत्तिका विरुद्धमा आगामी दिनमा एकपछि अर्को घटनाले क्रान्तिकारीहरूको चेतनाको आँखा खुल्दै जानेछ । कम्युनिस्टहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्दछ । २००६ सालदेखि ०७९ सालसम्मका नेपाली कम्युनिस्ट आन्दोलनका कमि–कमजोरी र हाम्रो परिस्थितिलाई सही विश्लेषण नगर्ने हो भने धेरै पाठ सिक्न सकिन्छ । ७३ वर्षसम्म लामो कम्युनिस्ट आन्दोलनमा सहभागी भएर समर्थक तथा शुभचिन्तकहरूले गरेको शहादत, रगत, पसिना बगाएको र भोगेको जेल–नेल यातनालगायत लाखौलाख कम्युनिस्टप्रतिको आकर्षण जनताको पीर मर्कामा गाएका गीत, लगाएका नारा, लेखिएका कविता व्यर्थ हुन्छन् । आज यस घडीसम्म आइपुग्दा त्यसबाट उत्प्रेरित विभिन्न वर्ग र समुदायका आमनेपाली समाज सिंगो कम्युनिस्ट आन्दोलनको एउटा परिवार हो । कम्युनिस्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारिणी प्रमुख प्रधानमन्त्री बने । राष्ट्रप्रमुख राष्ट्रपति बने । उपराष्ट्रपति बने । तर जुन वर्गको उत्थानका निम्ति आन्दोलन भयो त्यो कति पूरा भयो कति हुन बाँकी छ । त्यो नेपाली समाजमा प्रष्टै छ । इतिहासमा भएका कमजोरी र वर्तमानको दम्भबाट बाहिरिन नसके भविष्य अन्धकार हुने निश्चित छ । लामो वर्तमान नेतृत्व वर्गविहीन समाजको सपना देखाउने र वर्ग उत्पादनको राजनीतिक भट्टी बनाउनेसँगै पद–पैसा र पावरमा रमाउने जनतामाथि भावनात्मक सांघातिक आक्रमण गरी जसरी पनि सत्तामा पुग्ने प्रवृत्तिको निरन्तर जन्म गराउने प्रवृत्ति देखिएको छ । कार्यकर्ता नेताहरूको निधारमा तेल घसेर, जसरी पनि नेताको स्तुति गरेर आफ्ना महत्वकांक्षाहरू पूरा गर्ने प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनको भविष्य विघटनको रेलझै दौडिरहेको छ । समयले नेटो नकाट्दै समस्याको समाधान अघि सार्नसके विनाशको सूचनालाई टार्न सकिएला । अन्यथा इतिहास र वर्तमान नै खरानीको थुप्रोमा परिणत हुनेगरी विनास नआउला भन्न सकिन्न ।

(सौर्यआलाइनबाट)

 4,043 total views,  16 views today

Related posts