मध्य भोटेकोसीबाट बिजुली गर्ने तयारी


जनतापत्र, भोटेकोशी ।
मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आगामी असार अगाडिनै बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ ।
सो आयोजना केहि समय देखि भूकम्प, बाढीपहिरो, कोभिड र कमजोर आन्तरिक व्यवस्थापनका कारण १० वर्षदेखि अस्तव्यस्त बनिरहेको छ । सो आयोजना चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको छ । व्यवस्थापन सुधार्न डेढ वर्षदेखि प्रयास भइरहेको थियो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले अब भने निकट भविष्यमै विद्युत् उत्पादनको तयारी भइरहेको जनाए ।
अन्तिम चरणमा बाँध, सुरुङ र पावर हाउस निर्माण भइरहेको छ । आयोजनाका प्राविधिकका अनुसार, बेलाबेलामा हुने स्थानीय समस्या र प्राकृतिक प्रकोप आयोजनाका लागि बाधक बनेकाले लगानी नै डुब्ने हो कि भन्नेसम्मको परिस्थिति रहेको छ । हालको समयमा आएर स्थानीयको अवरोध कम भएको छ । पावर हाउसमा इलेक्ट्रोमेकानिकलको मुख्य काम भइरहेको छ । पछिल्लो समय ०७७ को भोटेकोसी बाढीले स्टोर गरेको इलेक्ट्रोनिक सामानमा क्षति गरेपछि अहिले सामान झिकाएर उक्त कामलाई तीव्रता दिइएको छ । शिवाकोटीका अनुसार आयोजनामा इलेक्ट्रोमेकानिकलको काम भइरहेकोमा छ महिनाभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने तयारी भएको छ ।

भोटेकोसी गाउँपालिकाको चाकुमा बाँध निर्माण गरी बाह्रबिसे नगरपालिकाको जम्बुमा पावरहाउस निर्माण गरिएको आयोजनाको ७ किमि सुरुङ ब्रेक–थ्रु गत साउनमा गरिएको थियो । ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको मध्य भोटेकोसी पावर कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् । निर्माण पूरा हुन लागेकाले सेयरधनी पनि उत्साहित भएको फिल्डमा बाँधको साइट हेरिरहेका इन्जिनियर उमेश पराजुलीले बताए । कर्मचारी सञ्चयकोष, चिलिमे जलविद्युत् कम्पनी, स्थानीयको सेयर रहेको आयोजनाको लागत १५ अर्ब ३ करोड रहेको बताइएको छ । सुरुङसहित सिभिल र हाइड्रोमेकानिकलका सबै कामको जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सनले पाएको छ । आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुने शिवाकोटीले जनाए ।
हाल सुरुङको ‘फिनिसिङ’को काम भइरहेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले सर्वसाधारणलाई सेयरसमेत वितरण गरिसकेको छ । प्रस्ताव गरिएभन्दा एक वर्ष ढिलो सुरु भएको आयोजना सन् २०१७ मा पूरा गर्ने लक्ष्यअनुसार आयोजनालाई तत्कालीन सीई
ओ कुलमान घिसिङले अघि बढाएका थिए । उनलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले बिनाकारण सरुवा गरेपछि केही समय नयाँ समस्या उत्पन्न भएको थियो ।
०७७ मंसिरमा तत्कालीन सीईओ मणिकुमार काफ्लेमाथि निर्माणमा संलग्न चिनियाँ ठेकेदारसँग घूस मागेको अभियोग लागेपछि शिवाकोटीलाई नियुक्त गरिएको थियो ।

 6,486 total views,  2 views today

Related posts