पाँचपोखरी गाँउपालिकाको पर्यटन प्रवर्धनको अध्ययन शुरु

पाँचपोखरी ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन शुरु भएको छ ।
सो क्षेत्रको अध्ययनको शुरुआत वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले गर्नुभएको हो । पर्वतारोही माया गुरुङको संयोजनमा रुट अध्ययनसहितको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण मङ्सिर १९ गतेदेखि पुस ३ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका रहेको वताइएको छ ।
सो टोलीमा वडा नं ३ का अध्यक्ष नीमाछिरिङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो तामाङ सगरमाथा आरोही महिला कान्छीमाया तामाङ, सगरमाथा आरोही दावाजाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर तुलसिङ्ग गुरुङ रहनेछन् ।
प्रारम्भिक अध्ययन र उद्देश्यबारे जानकारी गराउदैं मन्त्री नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो ।
उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्वपूर्ण मानिन्छ ।

 2,275 total views,  2 views today

Related posts