पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सातौं गाउँसभा सकियो

जनतापत्र , पाँचपोखरी ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सातौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक गरी दुई विधेयक पारित समेत गरेको छ ।
अर्धवार्षिक प्रगति प्रतिवेदन कार्यपालिका सदस्य कमला थापाले प्रस्तुत गरिन । प्रगति प्रतिवेदनमा सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम, स्वास्थ्यकर्मीमार्फत सुत्केरी जाँच गरिएको, १० वटा सहकारी संस्थालाई रासायनिक मल बिक्री वितरणका लागि अनुमति दिइएको उल्लेख छ । 
त्यसैगरी हालसम्म युरिया मल १५ सय बोरा र डिएपी मल तीन सय बोरा बिक्री वितरण भइसकेको पनि प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ सय २५ जना सूचीकृत भइसकेको, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणाली सञ्चालनका लागि वडाहरुमा कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, राउटर खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

 2,140 total views,  2 views today

Related posts