तिजको महिमा

सुनिता रखाल
हरितालिका तिज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाडको महिमा भाद्र शुक्ल पक्ष द्वितिया देखि पञ्चमी सम्म रहन्छ । भाद्र द्वितियाको दिन दर खाने चलन छ भने तृतीयाको दिन पानी पनि नखाई निराहार व्रत बस्ने र शिवजीको पुजा आरधाना गरी मन्दिरमा पूजा गर्ने , भजन कीर्तन गाउने चलन रहिआएको छ ।
चौथीको दिन बिहान गोवर्द्धन पूजा गरेर मात्र खाना खाने चलन छ र ऋषि पञ्चमीको दिन गङ्गामा गएर नुहाएर पूजा गरेर सक्ने चलन रहिआएको हो । एउटा लोकउक्ती रहेको छ । रमणीय स्थल कैलासमा शिव र पार्वती बस्नु हुन्थ्यो र पार्बतीले एकान्त मौका पाएर शिवसङ्ग पार्बतीले बिन्ती गरिन् । हे स्वामी आज सम्म कसैले नजाने र नसुनेको यस्तो अत्यन्त गोप्य धर्म, धर्महरूको सर्ब्स्वरुप भएको थोरै परिश्रमले ठुलो फल मिल्ने यस्तो धर्म मेरो उपर कृपा राखी आज्ञा गरी बक्सियोस् भनेर सोध्दा । हे पार्वती नारीहरूको मुख्य उत्तम जो व्रत हो । सो भन्दछु सुन यदि तिमी पनि निरन्तर सौभाग्य चाहन्छौ भने अवश्य यो व्रत गर्न नछोड्नु यो व्रत गर्नाले सम्पूर्ण पाप रहितभै नारी सप्त जन्म सम्म राज्य औ सौभाग्यको वृद्धि हुन्छ अथवा सात जन्म सम्म रानी हुनेछ । शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन त्यही हरितालिका तीजको दिन रहेको थियो । त्यसै दिन देखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् । तर अहिले आएर यो कलियुगका नारीहरूले बर्सभरि तिजको दर खाने भन्दै यो धर्म सस्कृतीलाई विकृति को रूपमा पु्र्याउँदै छ । यो प्रथा गलत हो । हामी हाम्रो धर्म हाम्रो परम्परा हाम्रो नारीहरूको विशेष पर्व लाई नारीहरुलेनै संरक्षण गर्न जरुरत छ । हाम्रो मौलिक सस्कृतीलाई जोगाऔँ । भड्किलो विकृतिलाई रोकौँ । गरिब र धनी होच्याउने चाड नबनोस् हरितालिका तिज । कपडा र गहनाको प्रदर्शनी गर्ने मात्र नबनोस् हरितालिका तिज । हिन्दु नारीहरूको माहान चाड झल्किने होस् । नारीहरूको दुख पिडा साटेर खुसी र हाँसोको उर्जा बनियोस् ।
दर खाने दिन
यो चाडमा माइतिले छोरी तथा चेलीलाई घरमा गई लिएर आउने वा वोलाएर मिठा मिठा परिकार खुवाइ तथा मनका भवनाहरु एवं सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यही दर खाने दिनबाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा विभिन्न परिकारका साथै खिर खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकार परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरातमा १२ बजे अघि खाने चलन छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेट भरी खाने प्रचलन बसेको हो ।
तिजको महत्व
हाम्रो समाजमा तिज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तिजलाई जुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक काल देखि चली आएको परम्परा हो सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी वाकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मिएको घर समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तिज पर्वको गहन महत्व रहेको छ ।
तिजमा महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको छ । तिजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहितहरू सुयोग्य वर पाउ भनी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तिजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाइ ब्राम्हणलाई दान दक्षिणा दिने चलन रहेको छ ।
ऋषि पञ्चमी
शास्त्र अनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन्छ उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाइको गोवर लगाएर ३६५ चोटि नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन् । मुलत ३६५ वटा दतिवनको डाँठ टोकेर खोलामा बगाउनु माटो र गोवरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु चाल्नीमा गन्ती गरीएका तिल, चामल,जौ राखेर माथिबाट पानी खन्याइ छानिएको पानीले नुहाउनु र सप्त ऋषिको पूजा गरेपछि महिलाहरू पुर्णरुपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा टोकेर तिजको पञ्चमी दिन खोलामा बगायो भनेपनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वास छ । वास्तवमा भन्ने हो भने तिज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएकोमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टिका रातो कपडा रातो चुरा पोते आदि सबै रातै रङ्गमा सजिनु तिज पर्वको रङ्ग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तिज पर्वको सन्देश मानिन्छ । यो चाड मान्दा उर्जा भएर सबैको मनमा आनन्द आउँछ । हिन्दु नारीहरूको यो विशेष महान चाडलाई सभ्य र भव्य वनाऔं । हरितालिका तिज २०८० सालको सवै सवैमा शुभकामना ।

 3,545 total views,  2 views today

Related posts