इजरायल–प्यालेस्टाइन द्वन्द्वको नालीबेली


प्रेम ढकाल ।

सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’ मा आज हामी इजरायल–प्यालेस्टाइनी समस्याको इतिहास, इजरायलमा हमासले आक्रमण गर्नुका कारण र अब हुनसक्ने परिदृश्यलगायत विषयमा चर्चा गर्नेछौं।

शनिबार बिहानै प्यालेस्टाइनी अतिवादी समूह हमासले अचानक इजरायलमाथि गाजाबाट आक्रमण ग¥यो। प्यालेस्टाइनीलाई रोक्न लगाइएका पर्खाल डोजरले तोडेर, काँडेतार काटेर हमास लडाकु इजरायलभित्र घुसे। प्याराग्लाइडिङ गर्दै आकाशबाट र डुंगाहरूको प्रयोग गरेर समुद्रबाट हमासका लडाकु इजरायलका विभिन्न सहरहरूमा पुगे। आफ्ना लडाकु इजरायलमा घुसेको थाहा नपाओस् भनेर हमासले केही समयभित्रै २००० भन्दा बढी रकेट प्रहार ग¥यो।

’द इकोनोमिस्ट’ पत्रिकाका अनुसार हमासका लडाकुले सीमामा लगाइएका क्यामेरा र सेन्सरमा गोली हानेका थिए। इजरायली सेनाको दक्षिणी गाजा हेडक्वार्टरमा आक्रमण गरेर सञ्चार अवरूद्ध पारे।

नरसंहार मच्चाउँदै सर्वसाधारण र बर्दीमा रहेका सयौं इजरायली र दर्जनौं विदेशी नागरिकको हत्या गरे।

हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएर गाजा क्षेत्रनजिकैको ‍फार्ममा काम गर्ने १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते छन्। एक जना नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात छ।

सन् १९७३ मा यहुदीहरूको चाड योम किपुरका दिन इजिप्ट, सिरियालगायत अरब राष्ट्रले इजरायलमाथि आक्रमण गरेको ठ्याक्कै ५० वर्ष र १ दिनपछि हमासले शनिबारको हमला गरेको हो। हमासको उक्त आक्रमणबाट इजरायलको पछिल्लो पुस्ताले कहिल्यै नभोगेको हिंसा र आतंकको सामना गर्नुप¥यो। मंगलबार बिहानसम्म हमासको आक्रमणमा परेर ९ सय इजरायलीको मृत्यु भइसकेको छ। सय जनाभन्दा बढी इजरायलीलाई हमासले अपहरण गरेर लगेको छ।

भकभधबीबहmष् दबलप
इजरायलीका लागि यो हमला ११ सेप्टेम्बर २००१ मा अमेरिकामाथि अल–कायदाले गरेको हमलाजस्तै भएको छ। अमेरिकाले इजरायलको सुरक्षाका लागि निरन्तर साथ दिने प्रतिवद्धता जनाइसकेको छ।

विमानवाहक युएसएस गेराल्ड फोर्डको नेतृत्वमा युद्धपोतहरू इजरायलतर्फ पठाइसकेको छ।

त्जभ धभद
इजरायलले सुरु गरेको जवाफी कारबाहीमा झन्डै ७०० जना हमास लडाकु र प्यालेस्टाइनी सर्वसाधारणको ज्यान गइसकेको छ। अत्यावश्यकीय सेवाका लागि इजरायली पूर्वाधारमा निर्भर गाजामा बिजुली, पानी, इन्धन र खाद्य सामग्रीसमेत लैजान इजरायलले रोक लगाइसकेको छ। गाजाका बीस लाख बढी प्यालेस्टाइनीका लागि आगामी दिन धेरै कष्टकर हुनेछन्।

हमासले किन इजरायलमाथि आक्रमण ग¥यो भनेर बुझ्नका लागि इजरायल–प्यालेस्टाइनको इतिहास जान्नुपर्ने हुन्छ।

अहिलेको इजरायल र प्यालेस्टाइनीहरूको नियन्त्रणमा रहेको वेस्ट ब्यांक र गाजा शताब्दियौंदेखि मुस्लिम बहुल प्यालेस्टाइन थियो। भू–मध्यसागर र जोर्डन नदीबीच रहेको यो ठाउँको केही भागमा आइरन एज (फलामे युग) मा फिलिस्तिनीहरू बसेकाले यो पूरै भू–भागलाई प्यालेस्टाइन भनिन्छ। भू–मध्यसागर र जोर्डन नदीबीच रहेको प्यालेस्टाइन सन् १५१६ मा अटोमन साम्राज्यले कब्जा गरेपछि विशाल अटोमन साम्राज्यको सिरियाअन्तर्गत रह्यो।

तर यहुदीहरू यो भूमिलाई आफ्नो उद्गमस्थल मान्छन् र यहाँ इस्लाम धर्म सुरु नहुँदै आफ्ना पुर्खाहरू बसोबास गरेको दाबी गर्छन्। अर्थात् ३ हजार वर्षभन्दा पहिलादेखि यो भूमिमा आफूहरू बसेको भन्छन्।

यही भूमिको बेत्लेहेममा करिब २०२५ वर्षअघि जिसस क्राइस्टको जन्म भयो। लगभग ३३ देखि ३८ वर्षको उमेरमा जेरूसलममा सुलीमा चढाएर क्राइस्टको हत्या भएपछि यो भूमि क्रिश्चियनहरूका लागि पनि पवित्रस्थल बन्यो।

यो भूमिमा विभिन्न कालखण्डमा बाहिरियाहरूले आक्रमण गरे र कब्जा गरे। झन्डै २३५० वर्षअघि सिकन्दर महानले कब्जा गरेको यो भूमि सन् ७० ताका रोमनहरूको कब्जामा प¥यो। चार वर्षसम्म जेरूसलमका यहुदीहरूलाई नाकाबन्दी लगाएका रोमनहरूले कब्जा गरेपछि जेरूसलम ध्वस्त पारे। त्यसपछि यहुदीहरू भागेर संसारभर छरिएर बस्न थाले।

पछि यो भूमिमा मुसलमानहरूले आक्रमण गरे र विभिन्न मुसलमान वंशले शासन गरे। अघि चर्चा गरेजस्तो यो भूमि सन् १५१६ देखि अटोमनको मुस्लिम खलिफाको हिस्सा बन्यो। अटोमन साम्राज्यको हिस्सा रहेकै बेला सन् १८८० को दशकमा युरोपमा यहुदी लक्षित अत्याचारका कारण भागेर यहुदीहरू प्यालेस्टाइनमा सामूहिक रूपमा फर्केर बसाइँ सर्न थाले।

अष्ट्रिया–हंगेरी साम्राज्यमा जन्मेका र भियनामा पत्रकारिता गर्ने थियोडर हर्जललगायतले त्यसपछि यहुदीका लागि प्यालेस्टाइनमा छुट्टै राज्यको माग उठाउन थाले। त्यही भएर थियोडरलाई यहुदीको राजनीतिक पिता भनिन्छ।

सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरू हुने बेलासम्म बसाइ सर्ने क्रम बढेर प्यालेस्टाइनको यहुदी जनसंख्या दोब्बरभन्दा बढी भइसकेको थियो। प्रथम विश्वयुद्धमा अटोमन साम्राज्यको पराजय भयो र देशहरू विखण्डित भए।

बेलायती सेनाले अटोमनलाई हराउँदै गर्दा सन् १९१७ मा तत्कालीन बेलायती विदेश मन्त्री आर्थर बाल्फोरले बेलायतका प्रसिद्ध यहुदी लर्ड वाल्टर रोथ्सचायल्डलाई चिठी लेख्दै प्यालेस्टाइनमा रहेका गैरयहुदीहरूमाथि पूर्वाग्रह नराखी त्यहाँ यहुदी राष्ट्र बनाउन बेलायत सरकारको समर्थन रहेको उद्घोष गरे।

त्यतिबेलाको महाशक्ति राष्ट्रले गरेको उक्त उद्घोषलाई बाल्फोर घोषणा भनिन्छ। त्यो घोषणाले प्यालेस्टाइनमा यहुदी राष्ट्र बनाउने आधार तय ग¥यो।

प्रथम विश्वयुद्धमा हारेका शक्ति मुख्यतः जर्मनी र अटोमनबाट जितेको भूमिलाई विजयी राष्ट्रबीच भाग लगाउँदा प्यालेस्टाइन बेलायतको भागमा परेकाले पनि बाल्फोर घोषणाले मान्यता पायो।

दोस्रो विश्वयुद्धमा हिटलरको नाजी जर्मनीले छानीछानी दशौं लाख यहुदीहरूको अमानवीय र क्रुर हत्या गरेपछि विश्व समुदायलाई यहुदीका लागि छुट्टै राज्य बनाइदिन नैतिक दबाव बढ्यो। संयुक्त राष्ट्र संघको महासभाले २९ नोभेम्बर १९४७ मा प्यालेस्टाइनमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने निर्णय ग¥यो। दुवै पक्षले दाबी गरेको जेरूसलम र वरिपरिको क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गरिने भयो।

बेलायतले १४ मे १९४८ मा प्यालेस्टाइनमाथिको दाबी छोडेपछि त्यसैदिन यहुदीको राज्य इजरायल घोषणा भयो। पहिल्यैदेखि त्यहाँ बसेका यहुदी मात्रै नभएर संसारको कुनै पनि भागमा रहेका यहुदी त्यहाँ बस्न पाउने भए। अहिले पनि अरू देशमा रहेका यहुदीले इजरायली नागरिकका रूपमा इजरायलमा बस्न पाउँछन्।

इजरायल देश बनाउने उक्त निर्णय प्यालेस्टाइनमा बस्ने मुसलमान र वरिपरिका मुस्लिम राष्ट्रले मानेनन्। १४ मे १९४८ को रात प्यालेस्टाइनका मुसलमान, जोर्डन, इजिप्ट, सिरियालगायत देशले इजरायलमाथि आक्रमण गरे। झन्डै १० महिनासम्म चलेको त्यो युद्ध इजरायलले जित्यो। आफ्नो भागमा परेको जमिन मात्रै नभएर प्यालेस्टाइनीका लागि छुट्टयाएको भू–भागको पनि झन्डै ६० प्रतिशत हिस्सा कब्जा ग¥यो।

युद्ध इजरायलले जिते पनि छिमेकी मुस्लिम देशले इजरायलको अस्तित्व स्वीकार गरेनन् र बल प्रयोग गरेर इजरायललाई विनाश गर्ने प्रयास गरिरहे।

सन् १९६७ को जुन महिनामा इजरायलले जोर्डन, इजिप्ट, सिरिया, इराक, साउदी अरेबिया, कुवेतलगायत देशसँग ६ दिन युद्ध लडेर थप भू–भागमा आफ्नो अधिपत्य जमायो।

मुस्लिम देश भने त्यसपछि पनि इजरायललाई ध्वस्त पार्न लागिरहे। प्यालेस्टाइनीलाई सहयोग जारी राखे।

यसमा इरानको भूमिका भने अरू मुस्लिम देशभन्दा फरक छ। शाह–पहलवी वंशले शासन गरेको इरानले सुरुमा यहुदी राज्यको समर्थन गरेको थियो। १९४८ मा इजरायललाई देशको मान्यता दिने अमेरिकासँग त्यतिबेला राम्रो सम्बन्ध भएको इरान अमेरिकापछि दोस्रो राष्ट्र बनेको थियो।

तर १९७९ मा भएको इस्लामिक क्रान्तिमा शाह–पहलवी वंशलाई सत्ताच्यूत गरेर कट्टरपन्थीले शासन गर्न थालेपछि इरान अमेरिका जस्तै इजरायलको पनि कट्टर दुश्मन बन्यो। अहिलेसम्म पनि इरानले गाजाको हमास र लेबनानको हिजबुल्लाह समूहलाई हतियार र पैसा दिएर इजरायलमाथि आक्रमण गर्न लगाउँछ।

आफूलाई स्वीकार नै नगर्ने आक्रामक छिमेकीले घेरिएको इजरायल हरबखत आफ्नो अस्तित्व नै खतरामा भएको महशुस गर्छ। त्यही भएर इजरायल सैन्य र अरू क्षेत्रमा प्रगति गरेर बलियो राष्ट्र बनेको छ। इजरायललाई अमेरिकाले हतियारलगायत अरू सहायता निरन्तर दिइरहेको छ।

यहुदी धर्म पढ्ने र बिरामीलगायत केहीलाई दिइने छुटबाहेक इजरायलले सबै नागरिकलाई सैनिक तालिम अनिवार्य गरेको छ। चाहिएको समयमा यी तालिमप्राप्त नागरिकलाई युद्धमा परिचालन गर्छ। यही कारण पटक–पटक छिमेकीसँग युद्ध जितेको छ। इजरायलसँग आणविक हतियार पनि छ भनिन्छ।

सबै नागरिकले सैनिक तालिम लिने भएकाले पनि हमासले इजरायलमा कोही गैरसैनिक नहुने भन्दै सर्वसाधारणमाथि आफूले गर्ने आक्रमणको बचाउ गर्छ।

इजरायलले बलियो सुरक्षा प्रबन्ध गरे पनि मुस्लिम देशको सहयोगमा प्यालेस्टाइनीले पहिल्यैदेखि हिंसात्मक आन्दोलन चलाएका छन्।

त्यो आन्दोलन ६० को दशकदेखि प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ) को नेतृत्वमा भएको थियो। यासिर अराफात सन् १९६९ मा पिएलओका प्रमुख भए। त्यसपछि उनी झन्डै चार दशक इजरायलविरोधी प्यालेस्टाइनी आन्दोलनको प्रतीक बने।

पिएलओले सुरुमा इजरायलको अस्तित्व स्वीकार गर्दैन थियो भने इजरायलले पनि पिएलओको।

प्यालेस्टाइनमा लगातारको हिंसाबाट आजित अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले बिस्तारै इजरायल र पिएलओको वार्ता गराउन थाले। यो वार्ता सुरूमा नर्वेको राजधानी ओस्लोमा भएकोले यसलाई ओस्लो प्रक्रिया भन्न थालियो। यसैअन्तर्गत दुई पक्षबीच सन् १९९३ र १९९५ मा गरी दुई वटा शान्ति सम्झौता भए। दुवैले एक–अर्काको अस्तित्व स्वीकार गर्न थाले। सम्झौताअनुसार अराफातको नेतृत्वमा प्यालेस्टाइनीको स्वशासनको निम्ति ५ वर्षका लागि अन्तरिम प्यालेस्टिनियन नेशनल अथोरिटी बनाउने सहमति भयो।

पहिलो सम्झौतापछि १९९४ मा अराफात र तत्कालीन इजरायली प्रधानमन्त्री यित्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेजले नोबेल शान्ति पुरस्कारसमेत पाए।

तर यहुदी र प्यालेस्टाइनीको दुई राज्य बनाउने सम्झौताको सुरुदेखि नै दुवै पक्षका कट्टरपन्थीले विरोध गरिरहेका थिए।

सन् १९८७ मा भएको पहिलो इन्तिफादा अर्थात् आन्दोलनपछि गठन भएको हमासले पुरै भू–भाग प्यालेस्टाइनीको हुनुपर्ने भनेर इजरायलमाथि आतंककारी हमला जारी राख्यो। तर पनि अराफातको उचाइका कारण उनी नै प्यालेस्टाइनीका वैध प्रतिनिधि बनिरहेका थिए।

इजरायली कट्टरपन्थीले प्रधानमन्त्री रबिनको ४ नोभेम्बर १९९५ मा हत्या गरेपछि इजरायलमा भने शान्ति पक्षधर कमजोर हुँदै गए। अराफातसँग हात मिलाउँदा प्यालेस्टाइनीलाई इजरायलको तर्फबाट ‘इनफ अफ ब्लड एन्ड टिअर्स। इनफ!’ भन्ने रबिनकै रगत बगेपछि शान्ति प्रक्रियामा ग्रहण लाग्यो।

शान्ति सम्झौताअनुसार प्यालेस्टाइनी भूमिबाट इजरायली नागरिक फिर्ता हुनुको साटो झन नयाँ बस्ती बन्न थाले। सन् २००० मा प्यालेस्टाइनीले दोस्रो इन्तिफादा सुरू गरेपछिको हिंसामा शान्ति सम्झौताको अवसान नै भयो। बीचमा थप सम्झौता नभए पनि अन्तरिम प्यालेस्टाइनी अथोरिटी भने अझै अस्तित्वमा छ।

इजरायलले त्यसपछि आफूमाथि भएका पटक–पटकका आन्दोलन र आक्रमण बल प्रयोग गरेर निस्तेज गरेको छ। प्यालेस्टाइनी नियन्त्रणमा अहिले गाजा अनि जोर्डन नदी र डेड सीको पश्चिममा रहेको वेस्ट ब्यांक छ। ३६५ वर्ग किलोमिटर क्षेत्रफल भएको गाजा र ५८६० वर्ग किलोमिटरको वेस्ट ब्यांकको बीचमा इजरायली भूमि छ।

२००५ मा गाजाबाट इजरायलले सेना र आफ्ना नागरिक फिर्ता गरेपछि हमासले युद्ध गरेर प्यालेस्टाइनी अथोरिटीको नेतृत्व गर्ने फताह समूहलाई हराएर २००७ मा गाजालाई आफ्नो नियन्त्रणमा लियो। वेस्ट ब्यांक भने फताहले नेतृत्व गरेको प्यालेस्टाइनी अथोरिटीले प्रशासन चलाउँछ।

अहिले पनि वेस्ट ब्यांकका थुप्रै ठाउँमा इजरायली सैनिक पोष्टहरू छन्। त्यहाँ इजरायलले अवैध रूपमा व्यापक यहुदीको बस्ती बिस्तार गरेको छ।

२००४ मा अराफातको निधन भएपछि २००५ मा निर्वाचन जितेका महमुद अब्बास प्यालेस्टाइनी अथोरिटीका प्रमुख छन्। उनी नै प्यालेस्टाइन राज्यको राष्ट्रपति पनि हुन्।

२००५ पछि वेस्ट ब्यांक निर्वाचन भएको छैन र हाल ८७ वर्षका अब्बासको सरकारले विदेशी सहायता रकमको व्यापक भ्रष्टाचार गरेकाले उनलाई प्यालेस्टाइनी जनताले मन पराउँदैनन्।

कट्टरपन्थी हमासलाई इजरायल र अमेरिकाले आतंककारी माने पनि उसले आफूलाई प्यालेस्टाइनी जनताको सच्चा प्रतिनिधि दाबी गर्छ। उता अब्बासले इजरायलको मान्यता पाए पनि जनतामा भने उनको राम्रो प्रभाव छैन।

इजरायलको राजनीति पनि जटिल छ। प्रधानमन्त्री नहुँदा आफूविरूद्ध भ्रष्टाचार मुद्दा चल्ने भएकाले बेन्जामिन नेतेन्याहुले अतिवादीसँग अहिले गठबन्धन गरेकाले यो समस्या झन् पेचिलो भएको छ। प्यालेस्टाइनीको अस्तित्व नै स्वीकार नगर्ने दक्षिणपन्थीले वेस्ट ब्यांकमा यहुदी बस्ती बिस्तारलाई झन् तीव्रता दिएका छन्। उनीहरूको ध्येय सारा भूमिलाई इजरायल बनाउने हो।

वेस्ट ब्यांक र गाजालाई इजरायलमा मिसाए पनि प्यालेस्टाइनीलाई यहुदीसरह मान्यता दिन उनीहरू तयार छैनन्। मान्यता दिने हो भने इजरायल यहुदी राज्य नै नरहने उनीहरूको जिकिर छ।

अहिलेको अवस्थामा हमास नियन्त्रित गाजामा इजिप्टसँग मिलेर इजरायलले नाकाबन्दी लगाएको छ भने वेस्ट ब्यांकमा इजरायलकै नियन्त्रण छ। संयुक्त राष्ट्र संघ र लगभग सबै राष्ट्रले चाहेको ‘टु–स्टेट सोलुसन’ अहिलेको अतिवादी इजरायली सत्ताले स्वीर्कादैन।

संयुक्त राष्ट्र संघको महासभाले २०१२ देखि गैर–सदस्य पर्यवेक्षक राज्यको हैसियतमा बढुवा गरे पनि अहिलेको कट्टरपन्थी इजरायली सरकारका कारण प्यालेस्टाइन लगभग हैसियतविहीन छ।

मुस्लिम देशको सहयोगमा प्यालेस्टाइनीले कब्जा गरिएको आफ्नो राज्यका लागि लडाइँ जारी राखे पनि बलियो इजरायलले जहिल्यै पनि दबाउन सक्छ। प्यालेस्टाइनीमाथि अत्याचार गर्छ।

दोस्रो विश्वयुद्धताका हिटलरले गरेको यहुदीको नरसंहारका कारण सुरूमा गैरमुस्लिम देशहरूले इजरायलप्रति सहानुभूति देखाएका थिए। तर शक्ति आर्जन र ‍विकास गरेर बलियो भएको इजरायलले पछिल्ला दशकमा निरिह प्यालेस्टाइनीमाथि गर्ने अत्याचारको धेरैले विरोध गर्छन्। मानवीय सहानुभूति अहिले प्यालेस्टाइनीसँग हुन्छ।

हमासले बेला–बेला आतांकाकारी आक्रमण र इरान प्रायोजित हिजबुल्लाहले पटक–पटक आक्रमण गरिरहने इजरायली गुनासो सही हो। तर पनि प्यालेस्टाइनीको भूमि कब्जा गरेर समस्या समाधान रोकेको दोष पछिल्लो समयमा इजरायललाई जान्छ। आफूले २००५ मा गाजा छोडेको दुई वर्षमै त्यो ठाउँ हमासले कब्जा गरेको उदाहरण देखाउँदै स्वतन्त्र प्यालेस्टाइन राज्य बनाए हमासजस्ता अतिवादीले सत्ता हत्याएर इजरायलमा निरन्तर आक्रमण गर्छन् भन्ने इजरायलको तर्क छ। तर अराफात बाँचेका बेला हमास धेरै कमजोर हुँदा पनि प्रधानमन्त्री रबिनको हत्यापछि इजरायलले समस्या समाधान गर्न चासो देखाएको थिएन।

इजरायलमाथि आतंकवादी हमला भइरहँदा यो समस्याको समाधान शान्तिपूर्ण रूपमा गर्नुपर्छ भन्ने मत इजरायलभित्र पनि कमजोर हुँदै जानु स्वभाविक हो।

अब, हराउन नसकिने इजरायलमाथि हमासले किन अहिले आक्रमण ग¥यो त भन्नेबारे कुरा गरौं।

हमासले शनिबारको हमलाको तुरून्तै जिम्मेवारी लिँदै यो ‘अल अक्सा मस्जिदमा इजरायलले गरेको दमनको बदला’ भएको बतायो। जेरूसलमको पुरानो शहरमा रहेको अल अक्सा मस्जिद मुसलमानले मक्का र मदिनापछि तेस्रो पवित्र स्थल मान्छन्। उता यहुदीहरू भने यसलाई टेम्पल माउन्ट भन्छन् र यहाँ पहिले दुई वटा आफ्ना मन्दिर रहेको दाबी गर्छन्। अल अक्सा मस्जिदको बारेमा पटक–पटक विवाद भइरहने र हाल त्यहाँ त्यति ठूलो तनाव पनि नभएकाले यो आक्रमण त्यस कारणले मात्रै भयो भन्ने मान्न सकिन्न।

अहिले गाजाबाट दैनिक झन्डै १८००० प्यालेस्टाइनीलाई इजरायलयमा आएर काम गर्न इजरायलले अनुमति दिन्छ। विदेशी सहायतामा निर्भर गाजामा आधारभूत सेवा प्रदान गर्न त्यसबापत् उठाउने करले हमासलाई केही सजिलो हुन्छ। यसलाई माया मारेर र इजरायलले कडा जवाफी कारबाही गर्छ भन्ने थाहा हुँदाहुँदै हमासले अल अक्सा मस्जिदकै कारणले आक्रमण ग¥यो भन्ने आधार देखिँदैन।

कतिले नेतेन्याहुले विवादस्पद रूपमा अदालतको अधिकार कटौती गर्न खोजेकाले इजरायल विभाजित भएका बेला हमासले हमला गरेको भनेका छन्। तर यत्रो ठूलो आक्रमण गरेपछि इजरायली विभाजित रहँदैनन् भन्ने हमासलाई थाहा नहुने भन्ने हुन्न।

त्यसैले यो आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा हुन लागेको साउदी अरेबिया र इजरायल बीचको सम्झौतालाई बिथोल्न भएको अनुमान गर्नुपर्ने हुन्छ।

इजरायलले प्यालेस्टाइनी समस्यालाई थाती राखेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा बहराइन र संयुक्त अरब इमिरेट्ससँग २०२० मा अब्राहम सम्झौता गरेको थियो। पछि मोरक्को र सुडानसमेत उक्त सम्झौतामा जोडिए। त्यो सम्झौता आफूलाई इस्लामको अभिभावक ठान्ने साउदी अरेबियाको सत्ता चलाइरहेका युवराज मोहम्मद बिन सलमान अर्थात् एमबिएसको अनुमतिमा गरिएको मानिन्छ।

२०१८ को अक्टोबरमा टर्कीमा रहेको साउदी महावाणिज्य दूतावासमा साउदी एजेन्टले साउदी अरेबियाबाट निष्कासित वासिङ्टन पोस्टका स्तम्भकार जमाल खसोग्जीको हत्या गरेका कारण एमबिएससँग रूष्ट भएका बाइडेन अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि साउदी र इजरायलबीच सम्झौता गराउन चाहन्छन्।

एमबिएसका नजरमा बलियो इजरायलसँग राम्रो सम्बन्ध आर्थिक रूपमा मात्रै नभएर सामरिक रूपमा पनि महत्वपूर्ण छ। इजरायलले प्यालेस्टाइनी समस्या पनि समाधान गर्दिए हुन्थ्यो भन्ने लागे पनि उनको मुख्य माग इरानबाट हुन सक्ने हमलाविरूद्ध अमेरिकी सैन्य सुरक्षाको ग्यारेन्टी हो।

इजरायली प्रधानमन्त्री नेतेन्याहुलाई पनि प्यालेस्टाइनीको दमनका कारण मुस्लिम देशसँग सम्बन्ध बिग्रिएको इजरायलका लागि साउदीसँगको सम्झौताको महत्वबारे थाहा छ। र उनी सम्झौता गर्न आतुर छन्। बाइडेन यो सम्झौताका बदलामा प्यालेस्टाइनी समस्या समाधानका लागि इजरायलबाट केही दिलाउन चाहन्छन्। अहिले गठबन्धनमा रहेका अतिवादीले त्यो सम्झौता नमान्ने भएकाले नेतेन्याहु गठबन्धन तोडेर, मध्यमार्गी विपक्षीसँग मिलेर भए पनि राष्ट्रिय हितको त्यो सम्झौता गराउँछन् भन्ने बाइडेनको आँकलन छ। इजरायलले प्यालेस्टाइनीमाथि गर्ने अत्याचारको नैतिक दोष इजरायललाई साथ दिने भएकाले अमेरिकालाई पनि जान्छ। त्यसैले बाइडेन साउदीसँगको सम्झौताको लोभ देखाएर भए पनि यो समस्या समाधान गर्न चाहन्छन्।

सुन्नी मुसलमान रहेको साउदी र शिया मुसलमान रहेको इरानबीच धेरै पहिलेदेखि दुश्मनी छ। हालै मात्रै चीनको मध्यस्थतामा साउदीसँग इरानको सम्बन्ध सुधारको पहल सुरू भए पनि त्यो प्रक्रिया धेरै गाह्रो छ। आफ्ना दुई मुख्य शत्रु साउदी र इजरायलको सम्बन्ध अर्को प्रमुख शत्रु अमेरिकाको अग्रसरतामा सुधार होस् भन्ने इरान चाहन्न। त्यसैले इरानले आफ्नो प्रभाव प्रयोग गरेर यसपालि हमासलाई आक्रमण गर्न लगाएको हुन सक्छ।

अमेरिका र इजरायल दुबैले हालसम्म इरानको संलग्नताको प्रमाण नभेटिएको भने पनि आफूलाई हतियार दिने मुख्य प्रायोजक इरानको अनुमतिबेगर हमासले यत्रो आक्रमण गरेको सोच्नै सकिन्न।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले इरानी सुरक्षा अधिकारीहरूले हमास आक्रमणको योजना बनाउन मद्दत गरेका थिए भनेर लेखेको छ।

जर्नलको समाचारमा २ अक्टोबरमा लेबनानको बेरूतमा भएको बैठकमा इरानको इस्लामिक रिभोलुसनरी गार्डका अधिकारीले आक्रमणको लागि हरियो झन्डा देखाएको, हमास र इरान परिचालित लडाकु समूह हिजबुल्लाहका स्रोतको हवाला दिइएको छ।

साउदी सँगको सम्झौताका लागि इजरायलले प्यालेस्टाइनीका लागि केही सहुलियत दिए पनि त्यसको फाइदा र जस अब्बासले नेतृत्व गरेको प्यालेस्टाइनी अथोरिटीलाई हुने भएकाले इरानलाई मात्रै नभएर हमासले पनि त्यो सम्झौता रोक्न खोजेको हुनसक्छ।

अब, इजरायल–हमासको यो युद्ध कसरी अगाडि बढ्ला भनेर चर्चा गरौं।

इजरायलसँग युद्ध जितिँदैन भन्ने हमासलाई राम्ररी थाहा छ। यो कुरा हमास मात्रै नभएर वरिपरिका इरानसहित सबै मुस्लिम राष्ट्रलाई थाहा छ। त्यसैले इरान आफूले सिधै इजरायलमा आक्रमण नगरेर हमास र हिजबुल्लाहलाई प्रयोग गर्छ। अरू मुसलमान राष्ट्र पनि इजरायलसँग सम्बन्ध सुधार गर्न चाहन्छन्।

यत्रो आक्रमण हुन लागेको कुरा विश्वभरि प्रख्यात इजरायली गुप्तचरलाई किन थाहा भएन भन्ने अनुसन्धान इजरायलले बिस्तारै गर्दै जानेछ। त्योभन्दा पहिले एक जना इजरायली मारिँदा पनि कडा जवाफ दिने इजरायलले ९०० जनाभन्दा बढी आफ्ना नगारिक मारिएको हमासको आक्रमणको कडा जवाफ दिनेछ। इजरायली प्रधानमन्त्री नेतेन्याहुले आक्रमण भएको तुरून्तै युद्धको घोषणा गर्दै शत्रुलाई थाहा पनि नभएको शक्तिसहित जवाफी आक्रमण गर्ने उद्घोष गरेका छन्। हमासले पहिले कहिल्यै नचुकाएको मूल्य यसपालि चुकाउने उनको भनाइ छ। यत्रो नोक्सान भएपछि हिंस्रक जवाफ दिन उनीमाथि जनदबाब पनि हुनेछ।

इजरायल धेरै शक्तिशाली भए पनि हमासलाई सखाप पार्न सजिलो भने हुने छैन। गाजा विश्वमै बढी जनघनत्व भएका ठाउँहरूमध्ये हो। त्यहाँ आक्रमण गर्दा सर्वसाधारण प्यालेस्टाइनी पनि मारिने छन्। फेरि हमास सुरक्षाका लागि बस्तीमै घुलमिल भएर बस्छ र सर्वसाधारणलाई ढालका रूपमा प्रयोग गर्छ। हमासले सर्वसाधारण इजरायली मारेजस्तो निस्फिक्री तरिकाले सर्वसाधारण प्यालेस्टाइनी मार्न इजरायललाई सजिलो हुने छैन। हवाई–आक्रमण वा सेना नै पठाए पनि जति सर्वसाधारण प्यालेस्टाइनी मारिँदै जान्छन्, इजरायलमाथि उति अन्तर्राष्ट्रिय दबाब बढ्नेछ्। अहिले हमासको आक्रमणपछि इजरायलले पाएको सहानुभूति प्यालेस्टाइनीतिर सर्नेछ।

अर्कोतर्फ हमासले इजरायली हमलाबाट जोगिनका लागि नै धेरै इजरायली सैनिक र सर्वसाधारणलाई अपहरण गरेर लगेको छ। इजरायलले आफ्ना नागरिक भएको ठाउँमा जथाभावी आक्रमण गर्ने छैन। उनीहरूको सुरक्षा र रिहाइ सरकारका लागि महत्वपूर्ण छ।

सन् २००६ मा अपहरणमा परेका आफ्ना सैनिक जिलाद शालितलाई छुटाउन २०११ मा इजरायलले १०२७ प्यालेस्टाइनीलाई रिहा गरेको थियो।

द एटलान्टिक पत्रिकाका अनुसार त्यतिबेला इजरायलले छोडेकामध्ये एक जना याह्या सिन्वर अहिले गाजाका हमास प्रमुख छन्। त्यसैले तत्कालका लागि इजरायली आक्रमणबाट जोगिने र पछि अपहरणमा परेकालाई छोड्दा इजरायलसँग ठूलो बार्गेनिङ गर्ने हमासको मनसुवा हुनुपर्छ।

अर्कोतर्फ यत्रो हत्या गर्ने हमासलाई छोड्नु हुन्न भन्ने जनदबाब इजरायलमा व्यापक छ। अपहरणमा परेकालाई छुटाउन धेरै सम्झौता गरे हमास पल्किने छ र फेरि पनि यस्ता आक्रमण गर्नेछ भन्न डर पनि छ। त्यसैले पनि हमासले फेरि यस्तो नगरोस् भनेर चेत्ने गरी जवाफ इजरायलले दिनेछ।

यो युद्धमा लेबनानको अतिवादी समूह हिजबुल्लाह सहभागी हुन्छ कि हुन्न भन्ने पनि अहिलेसम्म यकिन छैन। त्यसैले हिजबुल्लाहले गर्नसक्ने आक्रमणबारे पनि इजरायल चनाखो रहने छ। तर हिजबुल्लाहले आक्रमण गरे नै पनि इजरायलले हमास र हिजबुल्लाह दुबैको सामना गर्न सक्छ।

जे भए पनि आगामी दिनमा इजरायलको जवाफी कारबाहीमा हमाससहित धेरै सर्वसाधारण प्यालेस्टाइनी मारिने छन्।

दशकौंदेखि जेलिएको यो द्वन्द्वको असर इजरायल र प्यालेस्टाइनसँगै बाँकी विश्वले अबको केही समय भोग्नु पर्ने छ।

संयुक्त राष्ट्र संघले सुझाएको दुई राज्यको हल सन् १९४८ मा इजरायलले माने पनि अरब देशहरूले मानेनन्। कमजोर इजरायललाई मिलेर ध्वस्त पार्न खोजे। सन् १९९० को दशकको ओस्लो सम्झौता शक्तिशाली इजरायलले नमानेका कारण प्यालेस्टाइनी समस्या समाधान हुन सकेन। अहिले प्यालेस्टाइनीले ७५ वर्षअघि संयुक्त राष्ट्र संघले सुझाएको जमिनको बाँडफाँट माने पनि इजरायलले मान्दैन। प्यालेस्टाइनीमाथि अत्याचार जारी छ।

हमासको पछिल्लो आक्रमणले इजरायल–साउदी सम्झौता हुनबाट रोक्छ कि रोक्दैन हेर्न बाँकी नै छ। सम्झौता नरोके पनि त्यो सम्झौताका लागि हुनसक्ने प्यालेस्टाइनी समस्याको समाधानलाई भने पक्कै रोक्ने छ।

(सेतोपाटीबाट)

 5,402 total views,  41 views today

Related posts