कम्युनिष्ट कार्यकर्तालाई चार सुझाव

मोहन गौतम ।

मोहन गौतम ।

१. पार्टी एकता र सहमती मात्र होइन सरकार र पार्टीको सुसन्चालन नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक सहित सिङ्गो देशको चाहना र आवश्यकता हो । यसमा नेतृत्वका बीचमा बिषय र प्रक्रियामा छलफल, बहस, विमति र सहमति निरन्तर चलिरहन्छ । नेतृत्वका बीचमा कसरी बिधि र प्रक्रिया मिलाउने भनी कोठाभित्र चलेका छलफललाई ढोका बाहिर बसेर सघाउने जिम्मा पाएकाहरूले मनगढन्ते फुर्काहरू गाॅसेर कसैको चाकरी र कसैलाई धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु स्वयं उसले सघाइरहेको नेतृत्व प्रतिको बेइमानी हो ।

२. टुक्रा टुक्रामा बिभाजित नेपालको कम्युनिष्ट आन्दोलन कोअर्डिनेशन केन्द्र हुॅदै नेकपा बन्ने अवस्थासम्म विना कसैको योगदान आएको थिएन भलै कतिपय अहिले यो आन्दोलनमा नहुन सक्छन् भने कतिपय सॅगै भएर पनि उनका सबै कुरा मन नपर्न सक्छ । जो शक्तिमा आउॅछ उसकै पछि लागेर स्वार्थ पूरा गर्ने र डुली खान पल्केकाहरूलाई निष्ठा र इमानमा जीवन विताएका अग्रजहरूको अपमान गर्ने अधिकार हुन्न । त्यसमाथि षडयन्त्र र बदनियतपूर्ण तरिकाले लेख्नु/लेखाउने काम गरी उक्त बिषय पढने/सुन्ने निष्ठावान मानिसलाई उद्धेलित गरेर सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्नु त अक्षम्य अपराध नै हो ।

३. मान्नुस की नमान्नुस ठूला ठूला दुई पार्टी मिलेर बनेको नेकपाको सुसन्चालन नीति, बिधि, प्रक्रिया र मापदण्ड विना संभव नै छैन । अहिले शक्तिमा हुने कसैलाई आफ्ना आफ्ना ब्यक्ति टिपेर चलाउन सकिन्छ भन्ने लागेको भएपनि त्यो क्षणिक हो र यसले दीर्घकालमा पार्टीलाई कमजोर बनाउॅछ । सत्य कुरा हो की बिधि र प्रक्रियाको महत्व शक्तिमा हुने, पावर इन्जोइ गर्ने, आफ्नो क्षमताको दुरूपयोग गरी कतिबेला एउटा त कतिबेला अर्कोसॅग जोडिएर एउटै मानिसको कतिबेला जय जयकार त कतिबेला अपमान गरेर पुरस्कार थाप्नेलाई भन्दा निष्ठापूर्वक पार्टी र देशको हितका लागि जीवन समर्पण गरेका इमान्दार एवम् क्षमतावान कार्यकर्ताका लागि छ ।

४. आज शक्तिको उन्मादमा जे पनि लेख्ने, लेखाउने, भ्रम फैलाउनेहरूले भोली अर्को त्यस्तै अर्को पात्रको शिकार आफु हुनुपर्यो भने के भन्ने/गर्ने भन्ने पनि सोंच्ने की ? त्यसैले विनम्र अनुरोध छ उन्माद त्यागौं, सबैको यथोचित सम्मान गरौं, आफु को हुॅ र आफ्नो जिम्मेवारी के हो भन्ने बुझौं, चर्काउन होइन मिलाउन लागौं, अपवाद बाहेक सबैको जीवनमा घाम छायाॅ हुन्छ ।

 4,621 total views,  2 views today

Related posts