सधैंका फुर्सदि महिलाहरु

गोमा खत्री

“ ए यो त महिला हिङ्सा विरुद्धको १६ दिने अभियान पो चलिरहेको छ त त्यहाँ नगरपालिकाले केही जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ जानू पर्ने थियो।“
ए होइन भैगो तिमी घरमा बस, म पुगेर आउछु नि त । हुन्छ हुन्छ तपाईं जानुस् मेरो घरमा धन्दा धेरै छ ।

“आज वडामा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिममा सहभागी हुनु भन्ने खबर आएको थियो, मैले त भुसुस्कै पो बिर्सेछु ।“ ए त्यो तालिम, गतिलो खालको होइन पर्दैन जान बस्तुलाई घाँस पनि छैन, मेरो लुगा पनि धुनु छ म त्यहा पारि गाउमा एकछिन पुग्नु छ दाजुहरुले भेटघाट गर्न बोलाका छन् ।
यो पङ्तिहरु हाम्रो लागि नौला अवश्य होइनन् साथै सत्य सावित हुन्। समाजमा महिलाको अवस्था कस्तो छ भनेर थाहा पाउन हामीलाई कत्ति पनि अप्ठ्यारो छैन। हो हिजोका हाम्रा हजुरआमा, आमाहरु शिक्षाबाट बन्चित भएर बेफुर्सदि भएका थिए भने वर्तमान समयका महिलाहरु शिक्षित भए र दोहोरो जिम्मेवारीका साथ बेफुर्सदि भएका छन् ।
विश्व माहामारिको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण हाम्रो देश नेपाल पनि यसबाट सुरक्षित हुन नसकिरहेको अवस्थामा २०७६ चैत ११ गतेदेखि देशमा पुर्ण रुपमा लकडाउन गरियो अर्थात बन्दाबन्दी भयो। लगभग ५ महिना त पुरै लकडाउनमा नै रह्यो। त्यतिबेला अधिकांश भन्दा बढि घरपरिवारका सदस्यहरु एक आपसमा जम्मा भए ।
अरु समयमा आफु एक्लै वा थोरै परिवार सदस्य हुदा पनि व्यस्त रहने हाम्रा आमाहरु परिवारका पुरै सदस्य घरमा हुदा पनि उतिकै व्यस्त देखिए ।
महिलाहरु बिहान ५ बजे उठेदेखि बेलुका विस्तारामा जानू अघि सम्म उनिहरुको हात कहिल्यै खालि हुदैन । बिहान उठ्दादेखिको घरायसी सुसे धन्दा, गाई भैसिको घासपानि, चियाखाजा, खाना, भाडाकुडा सरसफाइ, भान्सा सरसफाइ, घाँस काट्ने लगायतका काम दैनिकी जस्तै छ। खाना खाएर थालमा हात चुठ्दै तौलियाको फेरले मुख पुछेर टिभि कोठामा हाम्रा दाजु तथा बुवाहरुले टिभि हेर्दै गर्दा बिचरा आमाहरु तथा महिलाहरुले भने घण्टौ लगाएर जुठा भाडा मोल्नु पर्छ। के ती जुठा भाडा मोल्ने, घर सफा गर्ने लगायतको काममा सघाउन नहुने हो ?
दिनभरिको काममा पनि महिलाहरु सरिक भएका हुन्छन्, खेतिपाति वा घरबाहिरको काम सकेर सङै घर आएकाहरु महिलाले भान्सा सम्हालिरहेको अवस्था छ भने हाम्रा पुरुष जातिहरु भने सिरानिको सहायतामा आराम गर्दै टेलिभिजनमा मनोरन्जन लिन पुग्छन्।
शहरका कुरा के छन् म जान्दिन, किन कि म गाउँमा बस्ने र गाउकै जिवनयापन भोग्दै आएकोले गाउँकै कुरा गर्न रुचाउछु। अझै भनौ, आजका हाम्रा धेरै महिला दिदिबहिनीहरु आफनो पेसा (जागिर) मा पनि सहभागी भएका छन्। आफनो जागिरको दिनभरिको काम सकाएर घर फिरेका महिला दिदिबहिनीलाई झनै दोहोरा मात्रै होइन तेहोरो जिम्मेवारी बहन गर्न बाध्य भएका छन्। दिन भरि कार्यालयको काम सकाएर बेलुका थकित मुद्रामा घर फर्केका उनिहरुलाई बच्चाले भन्छ मामु यो होमवर्क गर्न नै आएन सिकाइदिनुस्न, अर्काेतिरबाट आवाज आउछ बुहारि मलाई असाध्यै भोक लाग्यो, अनि उस्तै आवाज आउछ मेरा लुगाहरु सबै मैला भएछन् । भोलि पार्टीको एउटा कार्यक्रममा जानू छ धोइदेउन है।
अझै यति मात्रै होइन उनको आवश्यकतामा अझ धेरै गुन्जिन्छन्, बिहानको जुठाभाडा यत्तिकै छन् घामले कटकटेर बसेको छ, मैले घाँस काट्नै भ्याइन बेलुका बस्तुलाई हाल्ने घाँस छैन । ओ माइ गड केके चाहिँ गर्ने? गरिरहनु पर्ने? हो व्यवस्थाहरु फेरिएका छन्, महिला अधिकारका सवालमा नीति, नियम कानुन फेरिएको छ संविधानको धारा ३८ मा महिलाको हकहरुलाई ६ वटा उपधारामा व्याख्या पनि गरिएको छ तर त्यसको अनुभूति कहाँ कति भए भनेर खोज्ने समय आएको छ ।
चाडवाड आउदा हाम्रा पुरुषहरु उफर र स्पिकरको तालमा अझ बियर र ह्विस्किको स्वादमा रोमान्स गरिरहदा महिला (आमा र भाउजु) हरु भने खाना बनाउने र भाडा माझ्ने अझ पाहुना मनाउनेर बुझाउने कुरामा तल्लिन भइरहेका हुन्छन्।
समाजमा अझै पनि यो मानसिकतामा सकरात्मक सोच पलाउन सकेको छैन कि पुरुषले भाडा माझ्नु हुन्न, खाको थाल सफा गर्नु हुन्न। अरे मेरो मनमा यो प्रश्न खड्गिरहन्छ कि किन हामिले ट्वाइलेट बस्दा आफनो दिशा जसरि सफा गर्छाै हो आफुले खाएको थाल पनि त्यहि सम्झेर सफा गर्न मिल्दैन र ? मलाई त लाग्छ कि आफनो काम आफै गर्ने मानव जाति समाजमा सबै भन्दा सर्वश्रेष्ठ हो।
उहीँ परिवारको सदस्य, उहीँ समाजको मानव गाउँका डाडा अनि भेला जम्मा हुने ठाउँमा बसेर राजनितीका गफ छाट्न भ्याउने विकास निर्माणका कुरा गर्न भ्याउने, समाजका अनेकन विषयमा टिकाटिप्पणि गर्न भ्याउने तर महिलालाई सधैं घरका सुसेधन्दामा ब्यस्त कहिले सम्म बनाउने ? के उनिहरुले राजनितीबारे नयाँ कुरा जान्न पाउन्नन? के गाउका विकास निर्माणका विषयमा आफनो चासो, खुल्दुलि व्यक्त गर्न पाउन्नन यहाँ त यस्तो हुने गरेको छ कि महिलालाई कोलम पूरा गर्नको लागि समितिमा राखिन्छ चित्त नबुझेको र अस्पस्ट विषयमा जान्न खोज्दा विकास निर्माणको समितिको नामका अध्यक्ष पुरुषले एकान्तमा भेट्दा उल्टो थर्काउछन्। त्यति मात्रै होइन तरतिमिलाई यति र उतिको हिसावकिताबमा मुख बन्द गर्न जवर्जस्ति लगाइन्छन्।
२०६८ को जनगणनालाइ अध्ययन गर्दा महिलाको साक्षरता दर ५७.४५ प्रतिशत छ भने पुरुष साक्षरता दर ७५.१ प्रतिशत छ। भने २०५८ को जनगणनालाई हेर्दा पुरुषको साक्षरता दर ६५.०८ छ भने महिलाको ४२.४९ छ । यसरी हेर्दा क्रमशः महिला साक्षरता दर बढ्नु राम्रो पक्ष मानिन्छ। अहिले समाजमा शिक्षित महिलाको सङ्ख्या नगन्य छ तर पनि उनिहरुलाई घरायसि काममा नै व्यस्त हुन बाध्य गराइदै छ।
विकास निर्माणका काम सम्पन्न गर्नका लागि र सम्विधानले व्यवस्था गरे अनुसार कार्य समिति निर्माण गर्दा महिलाको तोकिएको सङ्ख्या पूरा गरिन्छन्, अझै अध्यक्ष पदको लागि पुरुषहरुबिच हानाथाप भएपछि त्यो टार्नको लागि महिलालाई अध्यक्ष पदमा राखिएका छन् तर विडम्बना के भइदिन्छ त बिचरा पहिले काम गरेको भए थाहा हुने थियो एक्कासि अध्यक्ष बन्दा आफु सबै विषयमा अनविज्ञ हुन्छन् र यसको फाइदा उनै चतु¥याइँ गर्ने पुरुषले लिइरहेका छन्। अध्यक्षको हस्ताक्षर मात्रै गराउछन् कामको सिलसिलामा जानू पर्ने विभिन्न निकाय र काममा पुरुषको नै हात हुन्छ महिलाको नामको हस्ताक्षरले उनिहरु आफनो स्वार्थ र कमाउ धन्दामा खप्पिस भइरहेका छन्।
यस्ता कृयाकलापमा अझै के समेत भएको छ भने महिलाहरु विषय प्रती अनविज्ञ भएकै कारण ती पुरुषले बोलेको कुरामा शतप्रतिशत सहमती जनाउनु पर्ने र जनाउन बाध्य पारिएका उदाहरणहरु धेरै छन् ।

समय परिवर्तन भएको छ। देशको व्यवस्था परिवर्तन भएका छन्। पुरुष महिला दुबै मानव जातिले आफनो स्वतन्त्रताका साथ बाच्न पाउने अधिकार सम्विधानले नै सुनिश्चित गरिसकेको छ भने अब हाम्रा समाजका महिलाहरुलाई सहज जिवनयापनका साथ बाच्न र बचाउनका लागि पुरुषहरुको साथ सहयोग र हातेमालोको अत्यन्त जरुरि देखिन्छ। घरायसि धन्दामा उनिहरुलाई सहयोग गरेर, भान्साको काममा सघाएर, समाजका हरेक गतिविधिमा उनिहरुलाई उत्साहजनक आफनो सहभागिता गराउन र कुनै पनि काम गरेकै कारण मान्छे सानो हुदैन भन्ने भावनाको विकास गरेर साच्चै महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने भनाइलाई सत्य सावित गर्नका लागि एक अर्कालाई सहयोग गर्नु पर्दछ।

 13,877 total views,  2 views today

Related posts