कविताः धरती माता


योगेन पौडेल ।

धरतीले दिन्छिन् मात्र, केही माग्दिनन्
तिरस्कार दिनुस् वा चोट ऐया भन्दिनन्
हुर्काउँछिन्, बढाउँछिन्
फलाउँछिन्, फुलाउँछिन् र फैलाउँछिन्
मेरी आमा धरती हुन्

आमा भन्छिन्,
सानोमा रुख चढ्दा हात भाँच्यो,
चिसोमा अझै हात दुख्छ कान्छा ?
साइकल सिक्ने हुँदा हुरुक्क हुनेगरी लड्यो
साइकल अझै चलाउँस् कि बिर्सिस्, कान्छा ?
जिन्दगीको यो दौडमा
कान्छो अरु थप कति लड्यो र फेरि उठ्यो,
कान्छो भित्र भित्रै कति भाँचियो र फेरि जोडियो
आमालाई के थाहा
आमालाई म आफैँले बिर्सिसकेका
म सानो हुँदाका चोटपटकहरु अझै दुख्छन्
म सानो हुँदाका बिरामी र ज्वरोहरुले
तिनलाई भित्र भित्रै अझै तर्साउँछन्

योगेन पौडेल
योगेन पौडेल
आमा धरती हुन्
आमाले ग्रहण गर्न सक्छिन्
त्यसैले आमाले नदेखेका बाँकी मेरा चोटहरु
आमाले नदेखेका बाँकी मेरा असफलताहरु,
बाँकी पीडाहरु, दुःखहरु
बाँकी उकुसमुकुस र ऐेठनहरु
म रिठ्ठो नबिराई एकएक सुनाउँछु
आमा चुपचाप चुपचाप सुन्छिन्
आमा मेरो कपाल मुसार्छिन्
र, सायद मेरो कपालबाट आफ्नो हात हुँदै
सायद आमा मेरो पीडा ग्रहण गर्छिन्
र, आमा आफ्नो परेला भिजाउँछिन्
र, आमाको काखमा म आनन्दले निदाउँछु।

तर म सोध्दिनँ
आमाका उकुसमुकुसहरु
म सोध्दिनँ,
के घाम त्यसरी नै चर्किन्छ टाउकोमा आजकल ?
के झरी त्यसरी नै दर्किन्छ आँखाबाट आजकल ?
म सोध्दिनँ
एक एक गरी शरीरमा रोग छिर्दा कस्तो लाग्छ
आफ्नै शरीर आफैसँग पराई बन्दा कस्तो लाग्छ
शरीर पराई, सन्तान पराई,
मेलापात र हाट बजार पराई,
उजाड र उराठलाग्दो
यो पराई संसार कस्तो लाग्छ
म सोध्दिनँ,
आजकाल मक्किएको बूढो हड्डी कति दुख्छ
कति दुख्छ, एकान्तले
एकनासको सन्नाटाले

एक्लो एकलासले
जिन्दगीमा एकहरु कति दुख्छन्

 2,211 total views,  4 views today

Related posts