कथा ः पानबाबा

गणेशप्रसाद लाठ ।
मेरो पटनाप्रवासको अन्तिम रात्रिको मौका पारेर पानबाबाले आफ्नो घरमा सानो बिदाइ कार्यक्रम राखेका थिए । म, पानबाबा र उनकी गृह स्वामिनीलगायत उनका युनिभर्सिटीका दुई जना शिक्षक रामकृपाल सर र भानदेव सर उनको घरको बाहिरी आँगनमा लिट्टी चोखाको रसास्वादन सकेर अमेरिका–युरोपबारे ठूलठूला गफ छाँटदै थियौं । गेस्ट हाउसका फुच्ची छात्राहरूलाई हाम्रो अन्तर्राष्ट्रिय गफमा रुचि थिएन । आफ्नो उदरपूर्ति गरेर उनीहरू कोठामा फर्किएका थिए ।

गणेशप्रसाद लाठ
मैले मौका छोपेर घुर्की दिएँ– “पानबाबा ! तपाईं एकातिर मलाई दिदी भनेर त्यत्रो सम्मान प्रकट गर्नुहुन्छ । तर मैले भनेको एउटा पनि मान्नुहुन्न । कि त तपाईं पान खाएर पिच–पिच गरिराख्ने अम्मली बानी छोडिदिनोस्, कि मेरो तपाईं बीचको दिदी–भाइको नाता तोडिदिनोस् !”

रामकृपाल र भानदेवले मेरो घुर्कीमा समर्थन जनाउँदै भने– “पान त यदाकदा हामी पनि खान्छौँ, तर पानबाबा, तपाईंको तुलनामा किन्डरगार्डनको स्टुडेन्ट नै छौं हामी अझै पनि । तम्बाखुमिश्रित पान खानु नै हुन्न, केन्सर रोग लाग्ने सम्भावना हुन्छ ।”

मेरो यस्तो घुर्की नयाँ नौलो थिएन । म हरेक घुर्कीको अन्तमा जोड दिँदै भन्थें– “यस्तो अम्मली बानीले तपाईंको स्वास्थ र व्यक्तित्व दुवैमा भिलेनको काम गरेको छ । मेरो घुर्कीको प्रत्युत्तरमा उनी मुसुक्क हाँस्थे, तर हुन्छ, छोडदिन्छु भनेर कहिल्यै सकार्दैनथे । तर आज उनको अनुहारबाट मुस्कान गायब भएको थियो । उनले गम्भीर भएर मलाई गडेर हेरिरहे, जुरुक्क उठेर कोठाबाहिरतिर हिँडें ।

मेरो मनमा चिसो पस्यो– “बिचरा पानबाबाले माइन्ड गरे क्यारे ।”

एकछिनपछि उनी फर्के । उनले मुखभरिको पान कतै कुनै भित्तामा खन्याएर फर्किएका थिए क्यारे । सदाबहार मुस्कानका साथ । उनको हँसिलो अनुहार देखेर मेरो मन अपराधबोधबाट मुक्त भयो । उनले सबै जनालाई लहरैसित हेर्दै भने– “आज यहाँहरूलाई पानको महिमाबारे अवगत गराउनै पर्ने भयो । कुरो घतलाग्दो एवम् अनुसन्धानमूलक छ, तर यथार्थमा आधारित छ । ध्यान दिएर सुन्नुहोला ।”

भानदेवले पानबाबाको चरणस्पर्श गरेजस्तो नाटक गर्दै भनेँ– “परमपूजनीय गुरुज्यूको मर्जी होस्, हजुरको महावाणीलाई हामी ठट्टामा लिँदैनौँ ।”

उनका प्रत्येक गफमा हास्य–रस मिसिएको हुनाले उनका कुरा रुचिकर लाग्थ्यो मलाई पनि । उनको कुरो सुन्न म सजग भएँ ।

उनले मतिर हेर्दै भन्न सुरु गरे–“सरला दिदी ! तपाईंले पानलाई साह्रै हेय दृष्टिले हेर्नुहुन्छ । पानको विषयमा तपाईंलाई अल्पज्ञान भएर यसो गर्नुभएको होला । अन्यथा तपाईं उहिले नै पानको अनन्य भक्त भइसक्नुहुन्थ्यो ।”

पानबाबा धर्मगुरु झैँ भङ्गिमा बनाउँदै आफ्नो बेडमा पलेंटी कसेर बसे, हामी उनका भक्तजनझैं भुइँमा ओछ्याइएका चकटीरूपी आसनमा बस्यौं ।

उनले स्वस्थानी व्रतकथा वाचन गरेझैं आफ्नो प्रवचन सुरु गरे– “भक्तजन ! पानमहिमाको श्रवण ध्यानपूर्वक गर्नुहोला । यसको श्रवण मात्रले तपाईंहरूको कल्याण निश्चित छ । धर्म–पुराण, साहित्यिक ग्रन्थ, स्तोत्र आदिमा ताम्बूलको नामले पानको पवित्रताबारे वणर्न गरिएको छ । पानलाई यश, धर्म, ऐश्वर्य, श्रीवैराग्य तथा मुक्तिको साधक पनि भनिएको छ । त्यही भएर नै हिन्दू धर्मावलम्बीहरूको मङ्गलकार्य, देवपूजनमा तथा विवाहादिजस्ता शुभकार्यमा पानको प्रयोग बडो श्रद्धापूर्वक हुँदै आएको छ ।”

भानदेवले निहुरिएर खुट्टा ढोगेजस्तो अभिनय गर्दै भने– “परमपूज्य श्रीश्री १००८ पीपीबाबाको चरणभक्त भानदेवमा कोटि–कोटि नमन ! ताम्बूल अर्थात् पानको विषयमा थप ज्ञान अवगत गराइयोस् । तपाईंका भक्तजन कृत–कृत्य हुनेछन् ।”

पानबाबा झनै फुर्किए । उनले दुवै हात आशीर्वाद मुद्रामा मास्तिर उचाल्दै उँचो स्वरमा मन्त्रोच्चारण गरे– “ओम नमः शिवाय !”

हामी सबैले दोब्बर उँचो स्वरमा उच्चारण ग¥यौं– “ओम नमः शिवाय !!”

हाम्रो हल्लाखल्लाबाट अताल्लिएर होला, भोजनसामग्रीको थप आपूर्ति–व्यवस्थापनको निमित्त केही मिनेटअघि भान्सा कोठातिर गएकी पानबाबाकी श्रीमती उफ्रँदै आइन् । हामीलाई निस्फिक्री भएर हाँसो ठट्टा गरेको देखेर बर्बराउँदै फर्किन् ।

पानबाबाले आफ्नो प्रवचनलाई निरन्तरता दिए– “परमपिता परमेश्वरले यस चराचर जगतका सम्पूर्ण पानसेवन कर्ताको कल्याण गरून् । ज्ञान–अभिलाषी भक्तजनहरू हो ! पानको औषधीय गुणबारे चरकसंहिता एवम् वेदहरूमा पनि वणर्न गरिएको छ । मुखको सुन्दरता, सुगन्ध, शुद्धि, शृङ्गार र स्वाद आदिका निमित्त समेत पानसेवनको परम्परा परापूर्वकालदेखि हुँदै आएको छ । राजामहिषीहरूको दरबारमा समेत विशिष्ट अतिथिहरूको स्वागत–सत्कार पानबाट गरिने चलन रहँदै आएको छ ।”

पानबाबा त साँच्चिकै जानिफकार रहेछन् । हामी सबै मन्त्रमुग्ध भएका थियौं ।

मैले मख्खन लगाउँदै भने“– “पानबाबा, हजुरले पानउपर निकै शोध गर्नुभएजस्तो छ नि । तपाईं त ज्ञान सरोवर हुनुहुन्छ ।”

“तिम्रो अनुमान सत्य छ गृहस्थ दुनियाँकी बालिके । साक्षात् ईश्वरको आदेश पाएर नै मैले जनकल्याणहेतु पानको विषयमा शोध गरेको थिएँ । हे नेपाल देशकी ज्ञानातुर बालिके ! तिम्रो देशका महान् प्रजातन्त्रवादी नेताहरूले यही पान चपाउँदै चपाउँदै क्रान्ति ल्याएका थिए । पत्यार लाग्दैन भने वाराणसीका पान–पसलेहरूसित रुजु गरे हुन्छ । उधारोमा पान खाएर लुसुक्क नेपाल पसेका कतिपय नेताहरूको लिस्ट नै भेटिन्छ त्यहाँका पान–पसलहरूमा ।”

यसो भन्दै गर्दा उनको मुहारमा गौरवको आभा प्रकट भयो । मानौं उनले नेपाल सरकारबाट गोदबा नै पाएका हुन् ।

“शोध गर्ने क्रममै मैले थाहा पाएको थिएँ कि उद्गमस्थल, गन्ध, रासायनिक गुण आदिको हिसाबले पानलाई जगन्नाथी, बङ्गाली, साँसी, मगही, सौंफिया, कपुरी, कशकाठी, महोबाई आदि उपनामले चिनिन्छ । आफूले रुचाएको पानमा कत्था, चुना, सुपारी इत्यादिजस्ता सहायक सामग्रीका साथसाथै सुगन्धित र असुगन्धित तम्बाखु, भिन्नभिन्न प्रकारका पानमसला, ल्वाङ, कपूर, सुगन्धित द्रव्य आदिको सम्मिश्रणका साथ पान सेवन गर्ने चलन परापूर्व कालदेखि नै अविश्रान्त रूपमा चल्दै आएको छ, मेरा ज्ञानाकाङ्क्षी भक्तजनहरू हो !”

रामकृपाल अहिलेसम्म चुपचाप बसेका थिए । पानबाबाको नौटङ्की उनलाई पचेन क्यारे । कुन्नि उनको खुराफाती मगजमा के खेल्दै थियो, उनी एकाएक आफ्नो स्थानबाट उठे, दुवै हात जोर्दै नाटकीय मुद्रामा भने– “पानबाबा, तपाईंको लिटो चोखा वर्षौंदेखि खाँदै आएका छौं, तपाईंको यथेष्ट चम्चागिरी गर्नु हाम्रो परम धर्म हो । तैपनि एउटा धृष्टता गर्न चाहन्छु । तपाईं जस्तो पान खन्चुवा नभए पनि, पान त म पनि खान्छु । तैपनि सरलाजीको कुरोमा दम छ, जुन कुरो थुकेर फालिनुपर्छ, त्यो कुरो खानु नै किन प¥यो ?”

पानबाबाले मुसुक्क हाँस्तै फर्काए– “तपाईंको प्रश्नमै मेरो जवाफ लुकेको छ, मेरा परमभक्त रामकृपाल । म पनि तपाईंलाई सोध्न चाहन्छु कि जुन कुरोलाई आची गरेर फालिनुपर्छ, त्यो कुरो मुखमा हाल्नु नै किन प¥यो ?”

पानबाबाको वाक्पटुताले रामकृपाल निःशब्द भएका थिए । भानदेव मरी–मरी हाँस्न थाले । मैले पनि आफ्नो हाँसो रोक्न सकिनँ । भानदेव हाँस्य–विनोदको मनस्थितिमा आएका थिए । उनले छेउको टी–टेबल ठटाउँदै भोजपुरी भाषामा गीत बनाएर गाउन थाले–

“हमरे पानबाबा पिपरा के‘
खावे पान चबाईके‘
थुके पिकवा दबाईके‘
हो, हमरे पानबाबा पिपरा के‘
खिलावे लिट्टी चोखा
घरवा में बुलाईके‘
बाटे पान ज्ञान मुस्काईके‘
हो, हमरे पानबाबा‘।”

रुष्ट बालकझैं मुख रातो पारेर बसेका रामकृपालले पनि आफ्नो हाँसो रोक्न सकेनन् ।

“भक्तगण ! पानको ज्ञानगङ्गामा जति–जति डुबुल्की लगाउँदै जान्छौ, तिमीहरूको पुण्य–भण्डार उतिउति थपिँदै जान्छ । पानसेवनका अझै थुप्रै अद्भुत गुण छन्, तपाईंहरू श्रवण गर्न इच्छुक हुनुहुन्छ भने भक्तहरूको कल्याणार्थ म, श्री–श्री १००८ पानबाबा आफ्ना थप केही मिनेट खर्चन तैयार छु ।” पानबाबाले ओजस्वी स्वरमा घोषणा गरे ।

“जय होस् पगला बाबाको । सरी, सरी, पौरखी बाबाको जय होस् । हजुरको मुखारवृन्दबाट थप ज्ञानका कुरा सुन्न हामी अल्प–ज्ञानी मानव आतुर छौं ।” रामकृपालले तेजिलो स्वरमा फर्काए । मौकामा चौका हान्न पाएकामा उनी प्रसन्न देखिन्थे ।

“पान सेवनकर्ताहरूसँग विश्वभरिका जल्दाबल्दा समाचारहरूको भण्डार हुने गर्दछ । भक्तहरूलाई पत्यार नलागे केही बेरका लागि कुनै नाम चलेको पान पसलको छेउमा पुग्नुहोला । आफ्ना कणर्द्वार खुल्ला राखेर त्यहाँ भेला भएका पान सेवनकर्ताहरूको गफतिर ध्यान दिनुहोला । नर्थ कोरियाको मिसाइल परीक्षण, चीनको परराष्ट्रनीति, अमेरिकाको झुटनीति– यावत् महाशक्तिहरूको सम्भावित गुरुयोजनाको विषयमा निःशुल्क जानकारी पाउनुहुनेछ ।”

“कुनै सरकारी अथवा गैरसरकारी गुप्तचरलाई कुनै पनि घटित अथवा सम्भावित आपराधिक घटनाबारे सुराकी चाहियो भने बजारका दुई–चार पान पसलसम्म नपुगेर सुखै छैन । देशका पोलिसी–मेकरहरूको समेत यस्तै बाध्यता छ । उनीहरू पनि जनताको यथार्थपरक विचार सङ्कलन गर्न पानपसल पुगेका हुन्छन् । बरु म त भन्छु, सुरक्षा निकायको इन्टेलिजेन्सी, राजस्व संयन्त्रको भिजिलेन्सी र राजनैतिक पार्टीको परमानेन्सी यस्तै पानपसल र पान–खन्चुवाहरूको भरोसामा टिकेको छ ।”

“पान सेवनकर्ताहरूलाई छरछिमेकको मसालेदार न्युजको निमित्त कसैलाई गुहार्नुपर्दैन । नजिकको पानपसलसम्म पुगे हुन्छ । कसकी श्रीमती कसको साथमा पोइल गई ? कुन केटो र कुन केटीबिच लसपस चल्दै छ ? कुनमान्छेले कस्ताकस्ता गोप्य सौख पालेको छ ? कसको आम्दानी कति छ ? कसलाई कस्तो खालको रोग लागेको छ ? यावत् मसालेदार वार्तालाप सुन्ने सौभाग्य पानपसलहरूमा मात्र प्राप्त हुनेछ ।”

यस्तै टाइम–पास गफ गर्दागर्दै दुई घण्टा बितेको हेक्का नै भएन । म निद्राले लट्ठिन लागेकी थिएँ । आजको सत्सङ्गलाई यहीं बिराम दिऊँ भन्दै म आफ्नो स्थानबाट उठें । हामी पनि बिदावारी लिऊँ भन्दै रामकृपाल र भानदेव पनि उठ्ने उपक्रममा लागे ।

पानबाबाले पनि आफ्नो दाहिने हातलाई आशीर्वादको मुद्रामा माथि उचाल्दै आफ्नो प्रवचनमा पूणर्विराम दिए– “कल्याणहोस्, कल्याण होस् ।”

 230 total views,  32 views today

Related posts