पुष्कर रिजाल ‘पुष्प’ ।
तिमीलाई म कसरी भनौँ
गुलाबका फूलहरूले सजाइएका
बास्नादार र सुकोमल
यी पलङ सजिलै त्याग भनेर
कसरी भनौँ
मखमल विच्छाएको
यो बाटो
अबदेखि नहिँड भनेर
प्रिय
जानकारी लेऊ
म आफैँ छु– अविराम यात्रामा
मरुभूमिमा राता क्याक्टस फुलेर
मलाई आफैँ चुम्न मरिहत्ते गर्छन्
बगरका पल्टेका पत्थर–रत्न
मेरा चरणस्पर्श गरी
मख्ख पर्छन्
यी वनगुलाब माला बनेर
मेरा गाला सुम्सुम्याई
धित मार्छन्
पाखाका ढकमक्क यी लालीगुराँस
मेरो सिउर बनेर ढल्कन खोज्छन्
यो शरीर बगाउँछ
गौमुखीमा पुगी पसिनाको नीलो माडी
र मिसाएर ठाडो झिमरुक
ऐरावतीमा बनाउँछ सलल रापती
नाघेपछि सगरमाथा
बनेका हुन् हिराजडित यी
सबै हिमालहरू
ए सपनाहरू !
तराईमा म झर्नुअघि
बनाएर पन्नाका हरिया ब्याड
मंसिरको साइतमा
ढाकिदिनू सुनैसुनले यी फाँटहरू
म हुँ सपनाको खेती
म हुँ अविराम यात्री !
464 total views, 2 views today