कविताः तिमी कहाँको ?

राजाराम बर्तौला

तिमी कहाँको?
म कहाँको?
फतफत पोल्ने बालुवा भएको ठाउँको
अमेजनको जङ्गलको
हिमालको शरताज
कोइलीको कुँहुँ, मयूरको नाच
सागरको किनार या कैलाशको काख
मानिसहरूका कोलाहलबीच
रङ्गीन कोलाजको बास
म कहाँको?

मेनहाटनको फुटपाथमा गोराले सोध्यो
बालुवाको रेतमा अमिरले सोध्यो
मलेसियाको पामआयलको जङ्गलमा
रबरको जङ्गल छोडेर आउने
इण्डोनेसियालीले सोध्यो
चिनियाँ फङ्योले सोध्यो
जापानी र कोरियन पासाले पनि सोध्यो
तिमी कहाँको?

ह्वेर आर यु फ्रम?
कहाँबाट कस्ले प्रश्न गर्यो
को कहाँको, को कताको
छालाले, नाक नक्साले
आँखाको कोसले
कपालको नोकले
बोलीको चालले
हिँडाइको तालले
म कहाँको भन्ने
अव्यक्त, तर प्राकृतिक
नृवंशीय परिचय धारक
भूगोलको नक्सा नाप्दैछ मानिस

जो जहाँ जताको भए पनि
आफ्नो धराको मेरो
जननी र जन्मभूमि
कर्ममा, धर्ममा र चित्त मार्गमा
भक्तिमा, भावमा, भावनामा
चित्तमा, चिन्तनमा
भौतिक, अभौतिक ज्ञानेन्द्रियहरूले
आफूले टेकेको भुईँको स्पन्दन
हावाको सुवास
माटोको गन्ध
हरियालीको मोहकता
पुष्पलताहरूको सुन्दरता
रमणीय छटाछहरा
मानसपटलमा तैरिएर आउँछ र
पोखिन्छ अनियन्त्रित भएर
भावोन्मत, अपनत्व
‘आईएम फ्रम नेपाल’

उहिले
लाहोरबाट आउने लाहुरे होस् वा
मलाया पल्टनको
गोरखा पल्टनको लाहुरे
पछाडि ढाडमा रेडियो घन्काउँदै
कालो चश्मा ढल्काँदै
पहाड उक्लन्थ्यो
उसका पितापुर्खाको पसिनाले भिजेको
पाखा, पखेरा र खोरिया सम्झेर
जहाँ मानवीयता, धर्म, संस्कार र संस्कृतिको
जीवनको, जीत र हारको
वीरताले लेखिएको
इतिहासका डोबहरू सम्झेर
घर सिंगार्न आउँथे

अहिले
पहाडमा तरेली परेका गह्राहरू
शितले भिजेका छन्
तराईका फाँटहरूमा
हुस्सुले ढाकेको छ
पहाड चिसो छ, शितले शितोष्ण
तराई उष्ण छ घामले बाफिएर
धर्ति धरा एक्लिएकी छन्
परदेशिएको छोरो
फर्कने आश लिएर
व्यग्रतामा प्रतीक्षामा

छोरो उतै कि त मस्त छ
कि त व्यस्त
कि त बेवारिसे हण्डर खाएर
सनैया, रियाद, पेनाङ
सिओल, टोक्यो, लण्डन
मेनहाटनको फुटपाथमा
गोरालाई भन्दै होला
‘आई एम फ्रम नेपाल’
ब्युतिफुल फर
अ कन्ट्री लाइक हेवन
बट आई एम इन ट्रबुल
क्यान यु हेल्प मी सर !

बाँसबारी, काठमाडौँ ३

 3,278 total views,  4 views today

Related posts