देश कामले बन्छ कि प्रतिबद्धताले ?

दिवस खनिया

नेपाली शब्द प्रतिवद्धतालाई अंग्रेजीमा ‘कमिटमेन्ट’ र हिन्दीमा ‘बादा’ भनिन्छ । सम्भवत राजनीतिमा यो शब्द निकै नै प्रचलित र धेरै प्रयोगमा आउँछ । निर्वाचनको बेला त झन् सबै नेताले सक्ने नसक्ने सबै खालका प्रतिबद्धता गर्छन् । त्यसो त प्रत्येक दिन हामी आम मानिसले पनि नयाँ नयाँ प्रतिवद्धताहरु गरेका हुन्छौँ । मानिसका असीमित चाहनाहरुको पूर्ति गर्न व्यक्तिले आफूभित्रको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदा नयाँ नयाँ आविष्कार भएका हुन्छन् । र,यस्ता आविष्कारलाई हामी वैज्ञानिक चमत्कार पनि भन्ने गर्दछौँ ।

जब नयाँ आविष्कार हुन थाल्छन्,तब पुराना कुराहरु असान्दर्भिक हुन्छन् र सवै मानिस नयाँ कुरा प्राप्तीको चाहना राख्दछन् । जुन समाजका वा देशका आफ्ना आविष्कार हुँदैनन्,ती देश वा समाज अरुमा परनिर्भर हुन्छन् । जव उनीहरु परनिर्भर हुन्छन्,स्वभाविकै रुपमा आविष्कारकर्ताले वेलावेलामा उनीहरुलाई अपमान गरी नै रहन्छन् । परनिर्भर हुनु भनेको आफ्नो स्वतन्त्रता र सार्वभौमिकतालाई एक प्रकारले बन्धक राख्नु हो ।

अहिलेको विश्वमा देशहरुबीचको फरक भनेको नै आविष्कार गर्ने र अर्काले गरेको आविष्कारको उपयोग गर्नेहरु बिचको हो । यो आविष्कारको रुप फरक फरक हुन सक्दछ । तर सबै देशका राजनेताहरुले नयाँ आविष्कार गरी समृद्ध देश र समृद्ध जीवन बनाउने प्रतिवद्धता भने नियमित रुपमा नै गरिराखेका हुन्छन् ।

सम्भवतः नेपालमा नेताहरुले सबैभन्दा वढी प्रतिवद्धता व्यक्त गर्ने गर्दछन् । मानौ कि यो नै संसारका प्रतिवद्ध नागरिकको देश हो । एकजना विद्वानले भनेअनुसार संसारको सवैभन्दा निरीह चिज पनि प्रतिवद्धता नै हो,एकछिन हेरचाह नपाउने वित्तिकै यसको मृत्यु भइहाल्छ । त्यसकारण प्रतिवद्धतालाई सधै दोहोर्याई रहनुपर्दछ र सम्झिरहनु पर्दछ ।

शीत युद्धकालमा संसारलाई हतियार र शक्तिले नियन्त्रण गरेको थियो । तर आजको २१ औँ शताब्दीमा संसारलाई चेतना,विचार र आविष्कारले नियन्त्रण गरेको छ । जुन देशमा संसारकै धेरै मानिसले उपयोग गर्ने प्रकारका उत्पादन आविष्कार भएका छन्,तिनै देश धनी र शक्तिशाली छन् । जुन देशमा अरुको देशमा आविष्कार गरिएका वस्तु तथा शिक्षण पद्धतिको उपयोग गर्ने जमात ठूलो हुन्छ,ती देश गरिवी,अभाव र द्वन्द्वको चपेटामा रहेका हुन्छन् । त्यस्ता देशले आफ्नो देश र जनतामा अन्तरनिहीत संभावना र क्षमताको पहिचान गर्न सक्दैनन् । ती संभावना र क्षमताहरुको प्रस्फुटनको अभावमा सिंगो देश र जनता गरिव रहिरहन्छन् ।

आविष्कारको लागि औपचारिक शिक्षाको आवश्यकता पर्दैन । यो त केवल सीप र दक्षतालाई प्रस्फुटन गर्ने वातावरणमा भर पर्दछ । जब कुनै देशमा ग्रामीण तहदेखि विश्वविद्यालय स्तरसम्म आविष्कारका कुरा सुरु हुन थाल्छन्,तब त्यो देश विकासको मार्गमा छ भनेर अनुमान गर्न सकिन्छ ।

प्रसिद्ध व्यवस्थापक पिटर ड्रकरले कामलाई शारीरिक र वौद्धिक गरी दुई भागमा बाँडेका छन् र आजको जमानामा वौद्धिक काम गर्ने मानिस शारीरिक काम गर्ने मानिसको तुलनामा हजारौ गुणा समृद्ध हुन्छन् । उनका अनुसार ज्ञान भनेको नै अर्थशास्त्र हो र यसले त्यसैलाई पछ्याउँदछ,जसले आफ्नो क्षमताको पहिचान गर्न सक्दछ । आफ्नो संभावना र क्षमतालाई प्रस्फुटन गराई विकासको मार्गमा हिँडेका आधारमा संसारभरका देशलाई अतिविकसित,विकासशील र अतिकम विकसित गरी तीन भागमा विभाजन गरिएको छ ।

नेपाल अति कम विकसित देश हो भने आज भन्दा लगभग ३५ वर्ष पहिला नेपालकै हाराहारीमा रहेका सिंगापुर,दक्षिण कोरिया अहिले अति विकसित राष्ट्रको सूचीमा पर्दछन् । त्यस्तै मलेशिया,चीन,भारत,कम्बोडिया आदि देश विकासशील राष्ट्रको सूचीमा पर्दछन् । यसबाट पनि के प्रष्ट हुन्छ भने पिटर ड्रकरले भनेझंै यदि कुनै देशले आफ्नो देशको प्राकृतिक श्रोतको संभावना र नागरिकको क्षमतालाई पहिचान गर्न सक्यो र ती संभावना तथा क्षमतालाई प्रस्फुटन गराउन सक्यो भने ती देशमा विकास जादुमयी हुन्छ । र,सोचे भन्दा निकै छिटो सकारात्मक परिणाम प्राप्त हुन थाल्छ ।

नेपालमा सबै तह र तप्काका जनता समृद्धि र विकास त हेर्न चाहन्छन् तर विकास कसरी हुन्छ भन्ने कुराको सामान्य ज्ञान र प्राथामिकता निर्धारण नहुँदा यहाँ विकास हुन सकिरहेको छैन । काम गर्नु वा दुःख गर्नु मात्रैले विकास हुँदैन,त्यसका लागि भविष्यमुखी,स्पष्ट लक्ष्य र उद्धेश्य किटान गरिएको मार्गचित्र अनिवार्य हुन्छ ।

सन् १९२७ मा स्टालिनले तत्कालीन सोभियत संघमा योजनावद्ध विकासको सुरुवात गरेका थिए र तत्पश्चात सोभियत संघको विकास द्रुततर गतिमा भएको थियो । सिंगापुर,मलेशिया,चीन वा दक्षिण कोरियाको तीव्र गतिको विकासका पछाडि पनि राष्ट्रिय संभावनामा आधारित समग्र जनताको योग्यता,क्षमता र सीपलाई प्रस्फुटन गराउने भविष्यमुखी योजनावद्ध सोच नै प्रमुख कारण हुन् ।

नेपालमा विस २०१२ देखि नै योजनावद्ध विकासको सुरुवात गरिएको हो । तर वडो दुःखका साथ भन्नुपर्छ,आजसम्म पनि देशले गति लिन सकेको छैन । नेपालमा अहिलेसम्म पनि परनिर्भरतामा आधारित उपभोगवादी चिन्तन र संस्कृतिकै विकास भइरहेको छ । गलत योजना र प्राथमिकताका कारण ५० लाख भन्दा धेरै उत्पादन क्षमता भएको जनसंख्या विदेश पलायन भएको छ ।

यहाँको राष्ट्रिय श्रोत र साधनमा विदेशीको गिद्धे दृष्टि छ भने उत्पादनशील युवा शक्ति विदेशीको कब्जामा छन् । देश आज गलत नीति र योजनाको शिकार भएको छ । मेरो विचारमा यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन ।

आज हाम्रो वास्तविक सार्वभौमिकतालाई सम्वर्द्धन गर्न जरुरी छ । यस्तो अवस्थामा विदेशिएको जनशक्तिलाई देशमै फर्काउने,देशका संभावनालाई अवसरमा बदल्ने र ऐतिहासिक रुपमा समृद्धिको मार्गमा नेतृत्व गरेर समग्र समृद्धि चाहने नागरिकको इच्छा र चाहना पूर्ति गर्ने मार्गमा देशलाई दोहोर्याउन निर्वाचनपछि बन्ने नयाँ सरकारलाई ऐतिहासिक अवसर प्राप्त हुनेछ ।

अल्वर्ट आन्सटाइनले भनेझैं पटक पटक एउटै काम गरेर फरक परिणामको आस गर्नु भनेको पागलपन हो । यदि छिटो र दिगो विकास गर्ने हो भने सफलतावाट सिक्नु पर्दछ । छोटो समयमा चमत्कारिक विकास गरेका टर्की,चीन,दक्षिण कोरिया,सिंगापुर,मलेशियावाट सिक्नु पर्दछ ।

यदि देशले प्राथामिकता पहिचान गरेर पद्धति र स्थिति बसाल्न सक्यो भने चरम राजनीतिक अस्थिरताका बिच पनि विकास निरन्तर हुन सक्दछ । विकासका प्राथामिकता र संयन्त्रको निर्माणले विकासलाई निरन्तरता दिन्छ । अब नेपालको अगाडि दुईवटा अवसरहरु छन् । पहिलो जे चलिरहेको छ,त्यसकै निरन्तरता,दोस्रो समृद्धि र नयाँ भविष्य निर्माणको लागि विकासको प्राथामिकताको आमुल पुनसंरचना ।

देशलाई समृद्धिको मार्गमा दोहर्याउन यो देशको योजना पद्धति र विकासका प्राथमिकतालाई विना कुनै हिचकिचाहट आमुल परिवर्तन गर्नु पर्नेछ । यदि विगतका प्रधानमन्त्रीहरुले त्यस्तो हिम्मत गरेको भए देश समृद्धिको मार्गमा हुन्थ्यो ।

विकासको केन्द्रविन्दु भनेको जनता हुन्,न कि कुनै योजना वा आयोजना । जनताको लागि विकास आयोजना हो न कि आयोजनाको लागि जनता । यद्यपि विगतदेखि वर्तमान सम्मका योजनाविद्ले विकासको केन्द्रविन्दुमा ढुंगा माटो,गिटी बालुवा र छड सिमेन्टलाई नै राखे । तर,दुनियाँको सफल उदाहरणले सिद्ध गरिसकेको छ कि विकासको केन्द्रविन्दु जनता हुन पर्दछ ।

पहिला दक्ष जनशक्ति भएपछि जनता स्वयंले दिगो भौतिक पूर्वाधारको निर्माण गर्दछन् । सबैले बुझ्नैपर्ने कुरा के हो भने विकासको नेतृत्व सरकारले गर्ने हो तर आम रुपमा विकास जनता स्वयम्ले नै गर्ने हो । जब ३ करोड जनता सबै आआफ्नो ठाउँबाट देश विकासमा योगदान दिन लालयित हुन्छन्,तब विकास जादुमयी तवरवाट हुन्छ ।

विकास कुनै एक जनाको ठेक्का हैन । अहिलेसम्म हाम्रा नेतृत्वकर्ता र जनता स्वयम्को वुझाइ पनि विकास सरकारले गरिदिने हो भन्ने छ । सरकार आफूलाई विकासको ठेकदार ठान्छ र जनतालाइ रैती सम्झेर योजना वनाउँछ । परिणामतः न त जनताले विकास आयोजनाको वारेमा थाहा पाउँछन्,न त अनियमितता उपर प्रश्न नै उठाउन पाउँछन् ।

एक त विकासको प्राथामिकता नै ठीक छैन,अर्को भइरहेको विकास प्रक्रियामा पनि जनताको स्वामित्वलाई बहिष्कार गरिएको छ । यस प्रकारको योजना पद्धति र विकासको प्राथमिकताले देशलाई गरिवीको मार्गमा डोर्याइरहेको छ ।

देशका सवल पक्षको पहिचान गर्न सक्ने,विगतका सफलताबाट सिक्न सक्ने,नागरिक र राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमिकताको आत्मसम्मानको रक्षा गर्न सक्ने,दूरदृष्टि र उच्च परिकल्पनाशीलता र वैज्ञानिक दृष्टिकोण भएको राजनेताको आवश्यकता देशले महसुस गरिराखेको छ ।

विज्ञान प्रविधि र वैज्ञानिक आविष्कार एवम् भूमण्डलीकरणका कारण संसारका सबै सूचना,उपकरण र प्रविधिहरुको सहज पहुँच र उपलब्धता नेपालमै हुन्छ । यस्तो अवस्थामा दुनियाँले ३० वर्षमा गरेको विकास नेपालले ५ वर्षमा गर्न सक्दछ ।

तर सहज प्रकारले आउने कमिशन,आफन्त,नातागोता,कार्यकर्तालाई राज्यसंयन्त्रमा हालीमुहाली गर्नबाट पूर्ण रुपमा मुक्त गराएर यस्तो विकासको नेतृत्व गर्न निर्वाचन पछि आउने सरकार तयार होला ?के ब्यवस्था परिवर्तनका नायकले समृद्धिको पनि नेतृत्व गर्न सक्लान् ?यसको उत्तर जनताले मतदान मार्फत् दिनेछन् ।

लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन्

 3,719 total views,  95 views today

Related posts