जनतापत्र,-
नेपालमा विकास निर्माणका कार्यहरुमा देखा परेका विवादहरु समाधानका लागी मेलमिलाप सम्वन्धी आधारभुत तालिम नगरकोटमा सुरु भएको छ । विश्वबैंकको आर्थिक सहयोग र मेलमिलाप परिषद्संगको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटनसत्रमा बोल्दै सर्वोच्च अदालतका रजिष्ट्रार एवं मेलमिलाप परिषद्का सदस्य सचिव नारायण प्रसाद पन्थीले विकास निर्माणका कार्यहरुमा देखा परेका विवादहरुलाई मेलमिलापको माध्यमले समाधान गरि छिटो छरितो कार्यसम्पादनमा तालिमले सहयोग पुर्याउने भनाई राख्नुभयो । उहाँले विकास निर्माणको क्षेत्रमा मेलमिलाप प्रक्रियाको प्रयोग नेपालमा नौलो अभ्यास भएको र मेलमिलाप परिषद्ले यसकालागी बेग्लै पाठ्यक्रम निर्माण गरेको समेत बताउनु भयो । यसै पाठ्यक्रममा रहेर प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले आयोजना गरेको यो तालिम नै नेपालमा पहिलो हाे।

यसैगरि कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक एवं मेलमिलाप परिषद् सदस्य चुप बहादुर थापाले मेलमिलापको प्रयोग हरेक क्षेत्रमा आवश्यक रहेको वारे दर्शाउदै तालिमको महत्ववारे सहभागीहरुमाझ प्रकास पार्नु भएको थियो । मेलमिलापकर्ता फाटेका मन सिउने डाक्टर भएकोले कुशल मेलमिलापकर्ता ज्ञान र शिपयुक्त हुनुपर्ने भनाई उहाँको रहेको थियो ।

मिति २०८० असोज ४ गते देखि सुरु भएको तालिममा नेपाल बिद्युत प्राधिकरण, बैकल्पिक उर्जा प्रवर्धन केन्द्र, र विभिन्न तहका अदालवाट गरि जम्मा २७ जनाको सक्रिय सहभागीता रहेको छ । आठ दिन सम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षक बरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलको साथमा डा. कुमार शर्मा आचार्य र चुप बहादुर थापाले प्रशिक्षण गर्नुहुनेछ । तालिम असोज ११ गते समापन हुनेछ ।
5,006 total views, 2 views today