विकास कि विनाश?

सुमन बुढाथोकी ।

प्रकृतिको विनाशमा आधारित मान्छेको विकास कदापि दीगो हुँदैन। नेपालको अहिलेको अवस्था विकासका नाममा प्रकृतिको अनियन्त्रित र चिन्तरहरित शोषणको अवस्था हो। यो गम्भीर त्रुटि हो।

अनियन्त्रित बजारबिस्तार (अर्थात् साम्राज्यवाद) र अत्यधिक मुनाफावृद्धि (मानवशोषण र पर्यावरणीय विनाश) नव–उदारवादी पुँजीवादको मुख्य चरित्र हुन्। यसलाई स्थापित सत्य बनाई विश्वभर फैलाइएको छ। परिणाम चाहिँ प्रकृतिको अकल्पनीय विनाश र विकराल आर्थिक असमानता, गरिबी, र भोकमरी । विश्वको एक प्रतिशत मानिसको मुठ्ठीमा नब्बे प्रतिशत सम्पत्ति कब्जा हुनु। यो सम्भ्रान्त वर्ग समाजसेवा र मानवीय सहयोगको छद्मभेष ओडेर विश्वका गरिब मुलुकका साधनस्रोत दोहन गर्ने दाउमा बहुराष्ट्रिय कम्पनीको घातक जरा फैलाउन व्याकुल रहेको छ। यो सम्भ्रान्त वर्ग पृथ्वीको विनाशको मार्फत जम्मा भएको अकूत सम्पत्ति अन्तरिक्षमा वैकल्पिक बसाइ सराईको अनुसन्धानमा खन्याइरहेकोमा गर्व गर्न लागेको छ। विज्ञानको अतिरञ्जना गर्ने यस्तो विशुद्ध तर्कवादसँग मानवीय संवेदना र सदाचार हुँदैन।

अर्थशास्त्रलाई गैर –सदाचारी शास्त्र मानिएकोले मुनाफाको लोभ नै पुँजीवादी धर्म बनेको छ। उपयोगिता वृद्धि नै सम्पूर्ण मानवकर्मको एकल उद्देश्य बनाइएको छ। प्रतिस्पर्धा (चाहे जतिसुकै विनाशकारी नै किन नहोस) सम्वृद्धिको एकमात्र आधार मानिएकोले सामाजिक र पर्यावरणीय न्यायको मतलव राख्दैन पुँजीवादी बजार। यस्तो अर्थशास्त्रलाई घातक रुपमा गलत भएको देख्न थालिएको छ।

प्रकृतिप्रदत्त साधनस्रोतको विवेकयुक्त उपयोग र जनजीविका अलग विषय होइनन्। यो शासन व्यवस्था र यसका अन्तर्गत नियमनकारी कानुन र नीति तथा कार्यक्रमसँग अन्ततः अनिवार्य सम्बन्धित विषय हो। प्रकृतिको संरक्षण सहित आम नागरिकको जीविकोपार्जन हेतु न्यायोचित उपयोग असाध्यै गहन महत्वको विषय हो। विकास र समृद्धि जस्ता अवधारणा यससँगै जोडिन्छन् र यो परस्पर विरोधी राजनीतिक विचारधाराको संघर्षको पनि विषय बन्न पुग्छ।

प्रकृतिको अविच्छिन्न र सीमाहीन दोहनको वकालत गर्दछ पुँजीवादी विचारधारा र प्रविधिको विकासबाट प्रकृतिमाथि विजय हासिल गर्ने विचारको रुपमा मार्क्सवादी विचारमाथि पनि आक्षेप लाग्ने गर्छ। तर, आम जनताको जीवनमा समाजका सम्पूर्ण सुविधा र सम्पत्तिको न्यायोचित वितरणको दर्शन भएकोले मार्क्सवादी विचारले पर्यावरणमैत्री प्रगतिको पक्ष लिनुपर्ने हुन्छ। प्रकृतिको विनाशकारी शोषणमा आक्रामक रुपमा विश्वभूगोल निल्ने व्याकुलताले नवउपनिवेशवादी दौडमा लागेको आजको पुँजीवादको आलोचनात्मक बुझाइमा मार्क्सवादी विचारको सहयोगी भूमिका भने अवश्य पनि रहेको छ। संविधानले अवलम्बन गरेको नेपालको ’समाजवाद उन्मुख’ राज्य नीति नव–उदारवादी दोहन नीतिको विरुद्ध विकसित गर्नुपर्ने हुन्छ।

नेपालको सन्दर्भमा भने यही घातक रुपमा गलत नव–उदारवादी आर्थिक विकास (?) को शास्त्र स्थापना गर्न उत्साहित भएको छ राजनीतिक नेतृत्व। त्यसैले सहकार्यमा आधारित सामुदायिक हित र समान आर्थिक उन्नयनको लागि वैकल्पिक चिन्तन बारे बेलैमा चर्चा गर्नुपर्ने देखिन्छ।

नेपालजस्तो राष्ट्रिय पुँजी सानो भएको र पर्यटन र वैकल्पिक कृषिको प्रचुर सम्भावना रहेको देशका लागि बहुराष्ट्रिय कम्पनी र विदेशी लगानीमाथि अत्यधिक निर्भर भएर युरोपको विकासको सपनाको पछाडि दौडेर आफ्नो मौलिकतासहितको विकासका सम्भावना खेर फाल्नु मनासिव छैन। वातावरण संरक्षण गर्दै विकास र पर्यावरणीय सन्तुलन कायम रहने कुरामा सुनिश्चितता रहोस् । यही नै दीगो र सम्यक विकास हुनेछ।

 6,923 total views,  18 views today

Related posts