देशको राजनीति ः घुमीफिरी रुम्जाटार


मोहनप्रसाद सापकोटा ।
एकदिन टीका लगाएर एउटा दलले कुनै डाँकालाई पार्टी सदस्यता दिन्थ्यो भने अर्कोदिन अर्को दलले ज्यानमारालाई आफ्नो दलभित्र हुल्थ्यो । चुनावी शैली देख्दै लाज लाग्दा हुन्थे । पद्धतिले नियन्त्रण गरेको भनेर विश्वास गर्ने वातावरण बनेन । त्यसैले बहुदल आएपछि पनि जनतामा नैराश्यता हराएन । जनतामा कायम रहेको त्यही नैराश्यतालाई भजाएर फेरी आन्दोलन र फेरी परिवर्तन गर्दै गयौं र आजको अवस्थामा आइपुगेका छौँ । तर जनतामा आश जगाउन सकेनौँ

त्यो खराब छ वा ती खराब छन् त्यसैले त्यसलाई वा तिनलाई पाखा लगाउनु पर्दछ । हामीले सातसालदेखि अठहत्तर सालसम्म गरेका वा गर्न खोजेका परिवर्तनको मुख्य आधार यही हुने गरेको छ । अरूका जे जे खराबी देखाएर हामी बदलिएको ठान्दै सपनामा रमाए पनि नव प्रतिस्थापित व्यक्ति, व्यवस्था र दलले त्यही त्यही खराब आदत बारम्बार दोहोर¥याउँदै आएका छन् । नाम बदलियो, अनुहार बदलिए तर प्रवृत्ति बदलिएन । जहानियाँ राणाशासन थियो अहिले जहानिया गणतन्त्र छ । निर्दलीय पञ्चायत थियो अहिले अरूको अस्तित्व स्वीकार्न नसक्ने निर्दलीय चरित्रको गणतन्त्र छ ।

सत्य कुरा अलि पच्दैन । लुटेको धन थुप्रिएपछि फुपूको पनि श्राद्ध गर्नुपर्दछ भन्ने विचार फुर्न थाल्दछ । स्वास्नी थुपारे, सन्तान धेरै भए, भागबण्डा मिलेन, त्यसैले राणाशासन ढल्यो । बिहारको दुःख (नदी विशेषको उपमा, बुझ्नुहोला) कम गर्नु थियो त्यसैले राणाशासन ढल्यो । यसै गरी बिपी ढले, वीरेन्द्र ढले, पुष्पलाल ढले, मदन ढले, गणेशमान ढले, भट्टराई ढले, सुशील ढले । अब त ढाल्नै पर्ने खालका कोही बाँकी रहेनन्, त्यसैले परिवेश ढुक्क छ । तैपनि ‘कृष्णे र खुकुरी’ कथामा जस्तै उसको हतियार बोकेको हात चिलाइरहेछ, ऊ ढाल्ने कुरा खोज्दै यताउता आँखा घुमाइरहेछ ।

गजबको रोइलो सुन्न थालिएको छ ‘फलानो भान्छेले नुन कम हाल्यो, मलाई कम खान थियो, त्यसैले भान्छे बदल्नु पर्दछ, उसका कारणले हन्डी (फोकटमा खान पाइने गणतन्त्रको मूल मर्म बेचेर बनाइएको भान्छा) संकटमा परेको छ’ अरे । आफू भान्छे हुँदा के गरेँ भनेर कसैले सोच्दैन । सबैलाई आफू भान्छे बनी गणतन्त्रलाई जहानियाँ गणतन्त्र बनाएर हण्डी चलाउनुपरेको छ । यी सबैको, उसको वरिपरि झुम्मिए जसरी आफ्नो वरिपरि लामखुट्टे, उडुस, उपियाँ र झिंगा नझुम्मिदा पहिले पहिले चिलाएजस्तै जीउ चिलाइरहेछ । उसको चिलाएको जीउ कन्याइदिन सदाझैँ अब फेरी जनता सडकमा आइदिनु परेको छ ।

एउटा बाँदरले अर्र्को बाँदरले चोरेर खाएको घरमूलीलाई बताइरहेछ । घरमूली भएका जनता युगौँदेखि एउटा बाँदरको कुरा सुन्दै अर्को बाँदरलाई लखेटी रहेछन् । लखेटी रहनेछन् । तिनलाई बाँदरको स्वभावको ज्ञान शायद युगौंसम्म हुने छैन । ती एउटा बाँदरलाई चाट्दै अर्को बाँदरलाई लात हानिरहने छन् । बाँदरहरू पालैपालो कुरा लाइरहनेछन् ।

स्वतन्त्रता र दासता

दासता दुई किसिमको हुन्छ शारीरिक र मानसिक । कसैको अधिनमा स्वेच्छाले वा बलजफ्ती सेवा गरेर बस्नु शारीरिक दासता हो । कुनै पनि आस्थाप्रति स्वेच्छाले वा डरले वा बाध्यताले वा स्वार्थले अन्ध समर्थन गर्नु मानसिक दासता हो । दक्षिण एसिया वा अन्य भेगका समान प्रकतिका देश पछाडि पर्नुको प्रमुख कारण मानसिक दासता हो । परिवार, समाज र मुलुक नै मानिसक रूपमा दास भइरहेको हुन्छ । यी देशमा एकपछि अर्को राजनीतिक परिवर्तन हुने गर्दछ तर मानसिक दासताबाट मुक्त हुन त्यहाँका जनताले कहिल्यै चाहेनन् । कुनै बेला धर्मका दास थिए । अहिले राजनीतिका दास हुने गर्दछन् ।

मेरै देशका कुरा गर्नुहुन्छ भने हामी कुनै बेला राणाका दास थियौँ, मन परेन राजाका दास भयौँ, फेरी मन परेन नेताका दास भयौँ । फेरी मन परेन दलका दास भयौँ । जबसम्म जनतामा मानसिक दासता हराउँदैन तबसम्म जुनसुकै दल, व्यवस्था वा सिद्धान्त आए पनि वा अपनाए पनि स्थिरता हुँदैन ।

आफूसँग भएका १० वटै इन्द्रीयले स्वतन्त्र रूपमा गलतलाई गलत र सहीलाई सही भन्न, ठान्न वा जान्न नसक्नु नै मानसिक दासता हो । मानसिक दासता सबैखाले अरू दासताभन्दा बढी खतरनाक र अरू सबै मानसिक रोगभन्दा बढी खतरनाक मानसिक रोग हो । यो रोग हुँदासम्म राजनीति वा अरू परिवेश सुध्रने कुरा हामी कसैले पनि नगर्दा हुन्छ, सम्भव नै हुँदैन । छातीमा हात राखेर भन्नुहोस् चन्द्र शमशेरले दासप्रथा उन्मूलन गरेकै थिए त ? हामी अहिले कसैका दास छैनौँ त ?

खोट

पद्धतिमै खोट छ त्यसलाई सुधार्नतिर कोही पनि लागेको छैन । पहिले राजतन्त्र हुँदा आफ्नो स्वार्थ पूरा गर्न छनोटको सुविधा थिएन, राजाकै वा उनले जन्माएकै व्यवस्थाको समर्थन गर्नुपर्ने बाध्यता थियो । अहिले छनोटको सुविधा छ, कि कांग्रेस बन्नुहोस् कि कम्युनिस्ट वा अन्य । सक्रिय हुनुहोस् निष्क्रिय भएर हुन्न, त्यसपछि सबै नियम, कानुन तपाईंका गोजीमा सररररर आउन थाल्दछन् । बीचमा बसेर पद्धति बसाउन खोज्नुभयो भने तपाईं उखु पेलिए जसरी पेलिनुहुन्छ, एक्लो बृहस्पति झुटो भएझैं झुटो हुन पुग्नुहुन्छ ।

पद्धति नबसेको देशमा कुनै अमुक एक व्यक्तिलाई नायक बनाएर केही पनि परिवर्तन हुँदैन । उसको नाम भजाएर मोजमस्ती गर्नेहरू नै बढी क्रियाशील हुने गर्दछन् । उदाहरण घाँटीसम्म आइसके, पद्धति सुधन्छ कि भन्ने आशमा वमन गर्न चाहिरहेको छैन ।

पक्ष विपक्षका बहस

संसद्मा पेस भएका जुनसुकै विधेयकका बारेमा पक्ष विपक्षका कुरा पढ्न पाउँछौँ, पाइरहेनेछौँ । म पनि आफ्ना धारणा ओकल्न अनुमति चाहन्छु । गल्ती आजदेखि सुरु भएको छैन जब बहुदल आयो तबदेखि नै हामीमा छाडापन छ । त्यसभन्दा पहिलेका सद्दे थिए, यसो भन्न खोजिएको होइन । दुःख नमानौँ हामीले सिकेको पनि छाडापन छ र सिकाइएको पनि यही छ ।

जुनबेला राजतन्त्र वा पञ्चायती व्यवस्था थियो तब एउटा सत्ता विरोधी पत्रिका पढ्न वा आन्दोलनसँग सम्बन्धित तथ्य समाचार पढ्न पनि कठिन थियो । पत्रिका लुकेर र खोजीखोजी पढ्नुपर्दथ्यो भने समाचार सुन्न बिबिसी वा अन्य रेडियो सुन्न रेडियो बटारिरहन पर्दथ्यो । सत्तापक्षका समाचारपत्र र रेडियो वा टेलिभिजन सुन्दा यस्तो लाग्दथ्यो कतै केही भएकै छैन । एकाध पागल व्यक्ति वा अराष्ट्रिय तत्व देशको शान्ति खलबल्याइरहेका छन् । तपाईं हामी तिनै अराष्ट्रिय तत्वभित्रका जमात हौँ । कि होइनाँै ? हामीले विगतमा आफूसँग मत नमिल्नेलाई के भन्न सिक्यौँ वा सिकायौँ ? त्यसको हेक्का छ हामीलाई ?

अहिले पनि आफूसँग फरक मत राख्नेहरू एकअर्कालाई जानेसम्म गालिरहेका छन् भने सामाजिक सञ्जालमा कसैले कसैलाई गाली गर्दा किन आकाश खसिरहेछ ? तिनले नेताले नसिकाएको के नचाहिँदो काम गरे ? कागती रोपेर सुन्तला फल्छ र ? हाकाहाकी गरिएका अपराधको त पुष्ट्याइँ गर्न सकिरहेका छैनौँ भने कसैको भनाइ वा लेखाइले अरू कसैको मानमर्दन भयो वा भएन भनेर नाप्ने हैसियत हामीसँग छ भनेर के आधारमा भन्ने ? सदाचारका कुरा सदाचारमा रहने वा विश्वास गर्नेले गरेका भए ए हो त नि भन्नु हुन्थ्यो । छाडापन भयो अब आफू पनि जथाभावी गर्दैनन्, बोल्दैनन् अरूलाई पनि गर्न दिँदैनन् बोल्दैनन् भने ठिकै हो नि भन्नुहुन्थ्यो । तर यहाँ फरक मत राख्ने व्यक्ति वा समूहलाई चाहे जोसुकै जतिसुकै ठूलो पदमा पुगोस् सबै वचनले खसाल्न माहिर छन् । त्यसैले हामीले सार्वजनिक पद धारण गर्ने व्यक्तिले गर्ने आचरण र बोलीवचन समाजले अनुकरण गर्दछन् होस गरेर बोल, होस गरेर आचरण गर भन्यौँ ।

तर ‘नपाउनेले के पायो बोक्रैसमेत चपायो’ शैलीमा प्रस्तुत हुने क्रम रोकिएन । कसकसको मात्र नाम लिउँ हामी ? इज्जत कानुनले जोगाउँँदैन, आफँैले जोगाउने कुरा हुन् । इज्जत पाउनलाई पहिले आफू इज्जतका लागि योग्य हुनुपर्दछ र अरूलाई समेत इज्जत गर्न जान्नु पर्दछ । राजनीतिले के यसको पुष्टि गर्न सक्छ ? मलाई लाग्छ सक्दैन । छाडापन नभएका होइनन् छन् । तर सिकाएको त हामीले नै हो नि । यदि यो गलत हो र सुधार्न चाहने हो भने अरूलाई सन्मान गर्न नसक्ने वा नजान्ने खालका सबै राजनीतिज्ञले राजनीतिबाट पहिला सन्यास लिनुपर्दछ । के यो तागत छ राजनीतिसँग ? नैतिकता, इमानदारी, सदाचारजस्ता कुरा जोसँग छैनन् तिनले अरूलाई सिकाएको सुहाउँदैन । मलाई यस्तै लाग्छ ।

सत्य सजिलै पच्दैन

राणाशासन सुरु हुनुभन्दा अघिदेखि जुनबेला दरबारभित्र कलह सुरु भयो, अनियमतिताले प्रवेश ग¥यो र सामान्य नैतिकतासमेत पालना हुन छोड्यो, हो त्यही बेलादेखि यो देशमा विदेशी हस्तक्षेप सुरु भएको छ । हतियार वा माध्यम नेपाली नै हुने गरेका छन् तर गिदी अर्थात् योजना विदेशीको हुने गरेको छ । राजा रणबहादुर शाहका पालादेखि चलेको यो क्रम आजको गणतान्त्रिक–राजतन्त्रसम्म पनि अनवरत चलिरहेछ । त्यसभन्दा पहिलेको मल्लकालीन इतिहासमा पनि यसका प्रमाण भेटिन्छन्, नजिकै जो शक्तिशाली विदेशी थियो त्यसैको आडमा देशभित्र उधूम मचाइएका दृष्टान्तहरू पाइन्छन् । अहिलेको हाम्रो सीमा भारत वा चीनसँग र सम्पर्क अरू देशसँग पनि छ र हामी तिनका हस्तक्षेपका कुरा गरिरहेका हुन्छौँ, त्यतिखेर सीमा साना थिए तर विदेशी हस्तक्षेप हुन्थ्यो, हुलिन्थ्यो ।

विवेकशून्य शक्तिमा केन्द्रित राजनीति नेपालको उत्पत्तिदेखिकै खानदानी रोग हो । इतिहासमा यही देखिन्छ, पौराणिक कालका विषयमा खुलस्त जानकारी छैन । यति हुँदाहुँदै पनि लिच्छवीदेखि मल्लकालसम्मको नेपालको इतिहास स्वर्णकालीन इतिहास थिए । जति पनि कला र संस्कृति फूले फले यही अवधिमा फले, यही अवधिमा पूmले । पौराणिक कथा हालेर मेरा पनि बाउबाजे घिउ खान्थे भनेर नाक निचोरेर देखाउँदैमा नहुने रहेछ । आज हामी जति पनि संस्कृति उपत्यकाभित्र वा त्यस बाहिर नेवार वा पर्वते समुदायमा देख्छौं त्यसको पुनर्ताजगी जय मल्लले गरेका हुन् । उनले स्थिति बसाए त्यसैले लोकले उनलाई जयस्थिति मल्ल भनेर चिने । अब फेरी बेथिति बढेको छ । थिति बसाउने निउँमा खिचडी स्थिति बस्दै गएको छ । विश्वमै नभएको अधिकार र स्वतन्त्रताको यहाँ परीक्षण र प्रयोग गरि रहिएको छ ।

भो इतिहास नकोट्याउँ वर्तमानतिरै लागौं । एउटा देशका लागि ५०÷६० वर्षको समय भनेको वर्तमान समय नै हो । यो समयमा हामीले के सिक्यौँ ? मीठा कुरा सुन्न र पत्याउन अनि कुरा काट्न । आजको मितिमा आइपुग्दा पनि हामी सबै शब्दजालमा रुमलिने गरिरहेका छौँ । ट्रम्पले के भने, मोदीले के भने, ओलीले के भने, देउवाले के भने, प्रचण्डले के भने, ज्ञानेन्द्रले के भने आदि आदि कुरामै हामी भुल्ने भएका छौँ । तिनको भित्री मनशाय के छ, आचरण कस्तो छ र यथार्थता के हो हामीले कहिल्यै सोच्ने गरेनाँै । ऋतिक् रोशन, धर्मेन्द्र आदिजस्ता विदेशी कलाकारले बोलेका कुरामा हामीले आफ्नै भौतिक सम्पत्ति मात्र होइन ज्यानसमेत गुमाएका थियौं, होइन र ?

राजा वीरेन्द्रले एसियाली मापदण्डको कुरा गरेका थिए, हाम्रा नेता विश्वेश्वरले समाजवादका बडो मीठो भाषण दिन्थे, अर्का सन्त नेता कृष्णप्रसाद नेपाललाई सिंगापुर बनाउँछु भन्थे, कम्युनिस्टका अनेक नेता नेपालीका बाध्यता र गरिबीलाई अनि सामाजिक असमानतालाई भजाएर अनेक चाख लाग्दा नारा दिँदै आए । क्रम चलिरहेको छ । को कति पानीमा छ हामीले हेर्दै आयौँ, हेरिरहेका छौँ । राम्रो व्यवस्था छान्ने क्रममा हामी अहिले गणतान्त्रिक व्यवस्थामा आइपुगेका छौँ, अब हामीसँग सजिला विकल्प छैनन् । अझै पनि यो देश शब्दजालमै अड्किरहेको छ । मीठो र सबैलाई समेट्ने वचन हाम्रा मुखबाट अब निस्कन छाडे, घोचपेच र गालीबाहेक योग्यताका आधारहरू सबै हराए, आमनागरिकमा शब्द–मह खुब बिक्री हुने गरेको छ । कुनै महामहिम राष्ट्रपतिले गरेको संसद् सम्बोधनमा प्रयोग भएका शब्द विशेषलाई लिएर चलाइएको बहस यही शब्दजालमा रमाउने वा भुल्ने नेपाली संस्कृतिको निरन्तरता हो । शब्दजालले धेरै अन्य यथार्थतालाई लुकाउँछ वा गौण बनाउँछ तर हामी नानीदेखि लागेको बानी बदल्न सकिरहेका छैनौँ ।

गलत संस्कार

दिएर आफ्नो बनाउने संस्कार गलत संस्कार हो । सधैँ दिने कुरा नहुन सक्दछ, नपुग्न सक्दछ अनि आफन्त पनि टेढिन थाल्दछन् । नेपालीमा देशभित्र मिहिनेत नगर्ने अत्यन्त गलत संस्कार विकसित भइरहेको छ, वितरणमुखी आर्थिक नीतिले यो संस्कारलाई घटाउँदैन उल्टो मलजल मात्र दिन्छ ।

विकास नेपाल र नेपालीको हितलाई सर्वोपरी राखेर गरिनु पर्दछ । सीमापारीको वा समुद्रपारिको लागि होइन देशको आवश्यकताको पहिचान गरेर त्यसको परिपूर्तिका लागि विकासलाई अघि बढाइनु पर्दछ । नेपालीले अपनत्व ग्रहण नगर्ने नमुनाका विकासहरू टिक्दैनन् । रोप–वे, धरान–ठोरी–जनकपुर–अमलेखगञ्जसम्म चलेको रेल, ट्रलीबस, पछिल्लोपटक विराटनगरको ग्याँस पाइप वितरणपरियोजना र असंख्य बन्द गरिएका उद्योगधन्दा यसका प्रमाण हुन् । दुई÷तीन वर्षको बजेट र त्यति नै रकम बराबरको ऋण खन्याएर रकेट उडाउन पनि सकिन्छ । तर, खोक्रो प्रसिद्धिका लागि त्यसो गरिए पनि त्यो दीगोचाहिँ हुन्न । किनकि त्यस्ता विकासका आयोजना नेपालीको आवश्यकता, स्तर र प्राथमिकताभित्र अहिले पर्दैनन् ।

निषेधको राजनीतिले प्रशंसकको संख्या हरेक दिन घटाउँछ, लामो समय टिक्दैन । राणाशासन, पञ्चायत यसै कारण अस्ताएका हुन् । कांग्रेस जनताबाट दण्डित हुनुको प्रमुख कारण पनि यही हो । प्रचण्ड, सिके राउत आदि जन्मनुको कारण पनि यही हो ।शीघ्र प्रतिक्रिया दिने बानीले एउटा सफल राजनीतिज्ञ हुनबाट मानिसलाई रोक्दछ । पद ठूलो कुरा होइन, कहिले को राजा हुन्छन्, कहिले को राष्ट्रपति हुन्छन् कहिले को प्रधानमन्त्री हुन्छन्, मन्त्री आदि पदमा पनि एउटा न एउटा त पुगिहाल्छ नै । कोही कुनै पदमा पुग्दा उसका घेरामा पर्नेले फाइदा लिन्छन् नै, फाइदा लिनेले गुणगान गाउँछन् नै ।

राजतन्त्र वा राणतन्त्रमा जस्तै अरू तन्त्रमा पनि कसैको हुँदै नभएको गुण गाउँदै हिँड्ने भाटहरू त हुन्छ नै । गुण कुनै सिद्धान्त वा वाद वा आस्थाले जन्माउने कुरा होइन, व्यक्तिमा जन्मसिद्ध हुने कुरा हो । यसैले मानिसको मनले व्यक्ति विशेषले देशका लागि गरेको योगदानलाई मात्र लामो समय सम्झने गर्दछ । स्वार्थी जमातको भिडले स्वार्थवश आस्थाको आधारमा आँखा चिम्लेर गरेको कसैको प्रशंसा दिगो नहुने रहेछ । कसैको नाम इतिहासका पानामा टाँसिँदैमा त्यो अमर नहुँदो रहेछ, उसको चरित्र अनुकरणीय बन्न नसक्दो रहेछ, मान्न नसकिने रहेछ ।

सात सालदेखि हालसम्म दिवंगत भएका वा राजनीतिकरूपमा पाखा लागेका अनुहारहरू यसका प्रमाण हुन् । कम से कम दुई तीन पुस्ताका जनताका मनमा टिक्ने काम जसले गर्न सक्दैनन् तिनको भौतिकरूपमा ठडिएका सालिकको पनि कुनै महत्व नहुँदो रहेछ, त्यस्ता सालिक वर्षभर चराले विष्ट्याउन सजिलो थलो मात्र हुँदो रहेछ । उसका जीवनी लेखेर छापिएका करोडौंका सचित्र पुस्तकहरू पनि जीरामरिच पोको पारेरै सकिँदा रहेछन् ।

आफैँले अँगालेको सिद्धान्त, आफैँले बोलेका कुरा, आफैँले लेखेका दस्तावेज जब आफैँबाट उल्ट्याइन्छन् तब त्यो राजनीतिज्ञ जनताको मनबाट बाहिरिन्छ । देशमा भएका विगत, वर्तमान र भविष्यमा सबै राजनीतिज्ञको चरमोत्कर्षमा पुगेको प्रसिद्धि दिनानुदिन पतन हुनुको प्रमुख कारण यही हो ।

जतिसुकै नास्तिक भए पनि वा भौतिकवादी भए पनि सामान्य मानवीय संस्कार समाजमा टुट्दैन । कैद भुक्तान गरेर वा नगरेर आएको ज्यानमाराले दिएको अहिंसाको प्रवचन, स्रोत नखुलाई करोडौँको सम्पत्ति जोड्नेले भ्रष्टाचारको विरोध गर्दै लेखेको कानुन, चार÷चारवटी श्रीमतिको पोइले वा असंख्य श्रीमानको जोइले दिने नारी अधिकारको भाषण, बापती लागेको व्यक्तिले गेरुवस्त्र धारण गरी दिएको आध्यात्मिक प्रवचन, शास्त्रको अपव्याख्या गरी कुनै भ्यान्टे पण्डितले गर्ने पुराण वाचन अनि शारीरिक वा मानसिक वा नीतिगतरूपमा विदेशीको अगाडि आत्मसमर्पण गर्ने र त्यसलाई पनि राष्ट्रवादसँग लगेर जोड्ने राष्ट्रियता समाजले पचाउँदैन, अहँ पचाउँदैन । जबरजस्ती कोच्याउनु बेग्लै कुरा हो, तर कहिलेसम्म ? स्वार्थको पर्दा वा पर्खालले यस्ता कुरा केहीसमय छोपिन्छन् तर बहुमत समाजले त्यसलाई आत्मसाथ गरेकै हुँदैन, त्यसैले लामो समय टिक्दैन ।

घुमीफिरी रुम्जाटार

म ती दिन सम्झन्छु, जतिखेर सत्तामा बस्नेहरू आफूले देशको भलो गरिरहेको नै भनिरहन्थे, जनताको हितमा काम गरिरहेको नै भन्दथे । मलाई त्यस्तो लाग्दैनथ्यो त्यसैले परिवर्तनका पक्षधरहरूसँग लागेर आन्दोलनमा सामेल हुन्थेँ । अहिलेको जस्तो सम्हालिनसक्नु सञ्चारको विकास भएको थिएन । सत्ताको विरोध गरेर निकालिएका पत्रिका डराइडराइ खोज्नु, किन्नु र पढ्नु पर्दथ्यो । जेजति सञ्चार माध्यम सर्वसुलभ थिए ती सत्ताको वसन्तभैरवी राग गाएर बसिरहेका हुन्थे । रेडियो बटारी बटारी बिबिसी सुन्थ्यौँ ।

निश्चय नै सत्ताबाहिर बसेर सत्तामा बस्नेको खोइरो खन्न जति सजिलो हुन्छ, सत्तामा बसेर त्यो पूरा गर्न त्यति नै कठिन हुन्छ, हुँदोरहेछ । यस अवधिमा भइरहेका कागजी परिवर्तन अनि सत्तामा बस्नेको हुति र चाला धेरै हेरिरहेका छन् नेपालीले । कथनी र करनीमा आकाश जमिनको फरक देखिएपछि नेपालीले द्रूतगतिमा सत्ताको बनोट र शैलीमा परिवर्तन गरिरहेका छन् । बहुमत, अल्पमत, दुईतिहाइ सरकार हुँदै अहिले खिचडीकोे सरकार छ । पहिलो आमनिर्वाचन पछिका धेरै लक्षण र कुलक्षणहरू अहिले दोहोरिइरहेका छन् । दलका गतिविधिबाट आजित भएका नेपालीले करिब तीन महिनासम्म राजा ज्ञानेन्द्रलाई पनि पाइन हालेर हेरे । यत्रा परिवर्तन भए तर पनि जनतामा किन सन्तोष छैन ? किन सत्तामा बस्नेको विरोध गर्ने संस्कारलाई नै निरन्तरता दिन चाहन्छन् ? गम्भीर विषय यो हो ।

राजतन्त्र हुँदा अरौटेभरौटेहरू आफू मोजमस्ती गर्दथे र दोष जति लगेर दरबारको पर्खालतिर तेस्र्याउँदथे । त्यतिखेर जो जो गनाए ती दण्डित भएनन्, राजाले पनि जनतालाई चित्तबुझ्ने किसिमले तिनलाई दण्डित गर्न सकेनन् । विश्वेश्वरले यही गल्ती गरेका थिए । जसको विरोध गरेर सात सालमा आन्दोलन भयो तिनैको पाउ पुज्न उनी बाध्य भए । राजा महेन्द्रले यो गल्ती सुधार गर्न त खोजे तर समर्थकको आदतमा सुधार लेराउन सकेनन् । पद्धतिलाई संस्थागत गर्न सकेनन् । बहुदलपछि कांग्रेस र अन्य दलले त्यही गल्ती फेरी दोहो¥याए । राजनीतिक दलभित्र र बाहिर पद्धति बसाल्नतिर ती लागेनन् । एकदिन टीका लगाएर एउटा दलले कुनै डाँकालाई पार्टी सदस्यता दिन्थ्यो भने अर्कोदिन अर्को दलले ज्यानमारालाई आफ्नो दलभित्र हुल्थ्यो । चुनावी शैली देख्दै लाज लाग्दा हुन्थे । पद्धतिले नियन्त्रण गरेको भनेर विश्वास गर्ने वातावरण बनेन । त्यसैले बहुदल आएपछि पनि जनतामा नैराश्यता हराएन । जनतामा कायम रहेको त्यही नैराश्यतालाई भजाएर फेरी आन्दोलन र फेरी परिवर्तन गर्दै गयौं र आजको अवस्थामा आइपुगेका छौं । तर जनतामा आश जगाउन सकेनौँ ।

सत्तामा जो बसे तिनको आचरण पद्धति हुने भए, मानिने भए, राणाशासन नै अहिलेसम्म टिकिरहेको हुन्थ्यो । परिवर्तनको यो ७० वर्षको कालखण्डमा हरेक विचार धारा र राजनीतिक दल एउटा अदृश्य जालोमा पसेका देखिएका छन् । जति उम्कन खोज्छन् त्यति जेलिन्छन् । यो हाम्रा राजनीतिक दलकै कारणले भएको हो । चित्रविचित्रका भूट बोल्ने नगरिएको भए, जनतामा अति महत्वाकांक्षा जाग्दैनथ्यो, पद्धति बसाउन सजिलो हुन्थ्यो । अधिकारलाई क्रमशः प्रवाह गरिएको भए जनतालाई कर्तव्यवोध गराउन सजिलो हुन्थ्यो । अनुशासनमा नेतृत्व तह बसिदिएको भए राजनीतिमा छिर्ने पछिल्लो पुस्ता अनुशासित हुने थियो । हामीले यसो गर्न सकेनौँ त्यसैले विकृति र विसंगतीहरू संस्थागत हुन पुगे । हामी टालटुल गर्नमै व्यस्त हुन विवश हुन थाल्यौँ ।अभिमान, धम्की, वा भूmट धेरै दिन टिक्दैन । कसैका आग्रह होलान्, कसैका पूर्वाग्रह होलान्, कसैले मान्लान् कसैले नमान्लान्, सबै स्वतन्त्र छन् । तर अचम्मको भूमिगत सञ्जालले देश खाइरहेछ म पनि एक जिम्मेवार निकायको एक जिम्मेवार नागरिक हुँ, कसैको नाम लिएर वा कुनै घटना बताएर बस्तुथिति दर्शाउन मन छैन । एउटा भए पो केरकार गर्नु ।

पद्धतिको धज्जी उडाइएका हजारौँ उदाहरण मसँग छन् । भूमिगत गिरोह वा तस्कर मनोविज्ञानले ग्रसित समूहको पकड सबै क्षेत्रमा झांगिसकेको छ । व्यवस्थापन, युनियन, हाकिम र कारिन्दा को कसरी चल्छन् तिनको राजनीतिक सम्बन्धको डोरो कस्तो हुन्छ र तिनको ध्येय कस्तो हुन्छ, कुनै दिन धित पुगुन्जेल लेखौंला नै ।

अन्तमा,

पद्धतिको विकास सहमतिमा हुनुपर्दछ । निषेधको जगमा पद्धति बसाउन खोजिए फेरी अर्को परिवर्तन हुन्छ । जनताले हरेक राजनीति भित्रको जालो फाल्न निर्णायक भूमिका निभाउन सक्ने अवस्था नआएसम्म जालोले सबै राजनीति र राजनीतिज्ञलाई गाँजिरहनेछ । एउटा पशुपतिले धानेको देशमा अर्का पशुपतिले कुनैबेला गाएका गीतमा मचाइको रडाकोजस्ता आकस्मिकरूपमा आउने मुद्दाहरूले मूल विषयलाई विषयान्तर गर्ने गरेको इतिहास छ । सम्झनुहोस् एकपटक विगतलाई राती झ्याप्प बत्ती जान्थ्यो, हामी भन्दथ्यौं ‘कताको मूर्ति उखेल्न लागे कि, विमानस्थलबाट केही पास गराउन थाले’ ।
(सौर्यअनलाइनबाट)ं

 9,824 total views,  15 views today

Related posts