मेलम्ची वाढी प्रभावितलाई केन्द्र सरकारले चासो देखाएन – मेलम्ची नगरका प्रमुख अर्याल

जनतापत्र, मेलम्ची ।

मेलम्चीमा आएको वाढीले यति धेरै क्षति गर्दापनि केन्द्र सरकारले सहयोग नगरेको मेलम्चीका नगरपालिका प्रमुख डम्वर अर्यालले वताएका छन । स्थानीय सरकार मरिमेटेर लागी पर्दा केन्द्र सरकारले भने खासै चासो नदेखाएको उनले वताएका छन ।
असार १ गते देखिनै मेलम्ची नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको मेलम्ची नगरपालिकाको दाबी छ।

तत्कालका लागि सामूहिक बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माविमा प्रभावितलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख अर्यालले बताए।
पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको नगरपालिकाले मंगलबार निकालेको अपिलमा उल्लेख छ।

हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ। यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए।

बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ।

 5,781 total views,  2 views today

Related posts