म त्यही पुतली हुँ

लेनिन बञ्जाडे ।

म सानोमा आत्माभरि खिल भएको झुसिल्कीरा थिएँ।

सम्पूर्ण खानदानमा म मात्रै त्यस्तो झुसिल्कीरा थिएँ, जसको कुनै लार्भा र प्युपा थिएन।

म सधैं पैसा चोर्थें। म सधैं फिल्म हेर्थें। यिनै कारण म सधैं आमा, दिदी र भाइसँग झगडा गर्थें। दिदीले खुत्रुकेमा राखेको पैसा सिनित्तै पारेर रित्याइदिन्थेँ। घोराहीका तीनवटै हलका हरेक सिटको गन्ध मेरो नाकले सोसेको थियो। हरेक हलका चर्पीको गन्ध थाहा थियो। साथीभाइ सबैसँग कुनै न कुनै बहानामा बोलचाल बन्द हुन्थ्यो।

ष्लखयतभअज
म घर छाडेर करिष्मा कपुर भेट्न बम्बै जाने सपना बुन्दै धेरैपटक निदाएको छु। जान नपाएपछि ’जी टिभी’ बाट ठेगाना टिपेर चिठी लेखेको छु।

कहिल्यै फिर्ता नआउने त्यो चिठीको सुगन्ध मेरो शरीरमा अमिट भएर छापिएको छ। करिष्मालाई देख्दा म अहिले पनि ’झाँझरिया’ हुन्छु। ’राजा हिन्दुस्तानी’ की प्रियासँग अहिले पनि म उत्तिकै प्रेम गर्छु। कतै ’परदेशी परदेशी’ गीत बज्यो भने मन अहिले पनि उसैगरी झंकृत हुन्छ। आमिर खानलाई झरीमा म्वाई खाएको लामो दृश्यले महिनौंसम्म मेरो निद्रा उडाइदिएको छ। धर्मेश दर्शनसँग वर्षौं ठुस्किएको छु।

करिष्मालाई चिठीमा लेखेको थिएँ, ’मै बम्बै आकर आपसे मुलाकात करना चाहता हुँ। आपको कोई ऐतराज तो नही?’

कयातधबचष्अबलष्अ
मसँग मुलाकात गर्न ऐतराज भएरै होला, करिष्माले उत्तर फर्काइनन्। मेरी तिनै करिष्मा अहिले हराएकी छन्। जसरी मैले बम्बै पठाएको चिठी हराएको छ।

र, हराएको छ त्यो ’वसन्ते’। जसरी ’फिरफिरे’ मा पवन हराएको थियो।

एकदिन दिदीको खुत्रुकेबाट पैसा हरायो। घरमा हल्लाखल्ली भयो। हिसाब गर्दा पाँच सय जति रहेछ खुत्रुकेमा। एउटा पाँच रूप्पेको च्यातिएको नोटबाहेक त्यो खुत्रुकी सर्वांग नांगो थियो। भाइ सानो भएकाले उसलाई कसैले शंका गरेन, बाआमाले चोर्ने कुरा भएन, खुत्रुकी दिदीकै भइहाल्यो। अन्तिम शंका ममाथि आएर टक्क अडियो।

’बसन्ते ह्याँ आ,’ आमाले चिच्याएर बोलाउनुभो। म लुरूलुरू गएँ।

’यो भुर्कीको पैसा काँ हालिस्, खुरूक्क भन् नत्र तेरा हड्डी भाँच्छु,’ शरीरभरि डरका काँडा उम्रिए।

’मलाई के था, मुसाले लग्यो होला। ऊ त्यत्रो भ्वाङ छ त,’ मैले बचाउ गरें, ’पैसा लगे पनि त्यत्रो ५ सय लग्छु क्या हो मैले? जहिले नि मलाई मात्रै देख्नी!’

मैले निन्याउरो मुख लगाएँ।

आमाले खुत्रुकेतिर हेर्नुभो, त्यसमा दुई इन्चजत्रो भ्वाङ थियो।

’त्याँ हेर्नुस् न, नोट पनि धुजाधुजा भा’छ, मुसाले नै टुक्रा पारेको हो,’ मैले अझै जोड दिएँ।

आमाले मुसालाई सरापिन्। दिदीका पिलपिले आँखाले मलाई धेरै दिनसम्म सुत्न दिएनन्।

अनि त्यो मुसाले ’आँधीबेरी’, ’आँखें’, ’दिल है बेताब’, ’डर’, ’बाजीगर’, ’दामिनी’, ’अनारी’, ’गर्दिस’, ’खलनायक’ हे¥यो।

त्यो मुसा आफूलाई त्यही ’बाजीगर’ को शाहरूख सम्झन्थ्यो। बा–आमा उसलाई त्यही ’बाजीगर’ को मदन चोपडा सम्झन्थे। मुसाकी दिदी ’आँधीबेरी’ की गौरी मल्ल हुँदा ऊ गोपाल भुटानी भएर छल्थ्यो।

त्यो मुसा आफूबाहेक कसैको नजरमा मान्छे थिएन।

म मुसा बनेर हरेक हलका हरेक दुलामा घुस्रिएँ। घरमा टिभी नहुँदा छरछिमेकी घरका ढोका ढुकिबसेँ। म र हाम्रो परिवारलाई रातबिरात टिभी खोलेर देखाइदिने ती मान्छे पनि हराए। जसरी मेरो चिठी हराएको थियो।

त्यति बेला ’वसन्ते’ भित्र लेनिन जन्मिँदै थियो। हाम्रो घरको झुसिल्कीरा बिस्तारै लार्भा बन्दै थियो।

म पत्रपत्रिका पढ्थेँ। कविता लेख्थेँ। लघुकथा लेख्थेँ। ’नवप्रतिभा’, ’मुना’, ’युवा’ मा पठाउँथेँ। कविता लेख्न नसक्दा किताबबाट सारेर ’सामान्य ज्ञान’ मा पठाउँथेँ। आक्कलझुक्कल छापिन्थे। छापिएको पत्रिका आमाबुवालाई देखाउँथेँ। स्कुलमा लगेर देखाउँथेँ।

पढ्न नजाने पनि आमा फिस्स हाँस्थिन्। भन्थिन्, ’काले! हस्क्या हेर् न!’

बाले रेडियो नेपालमा ’घटना र विचार’, ’दिन प्रतिदिन’ सुन्दा म उहाँको काखी सुँघ्दै निदाउँथेँ। त्यो पसिनाको सुगन्ध मेरो नाकमा अत्तरझैं टाँसिएर बस्यो। म अचेल कहिलेकाहीँ छोरालाई त्यसैगरी काखी सुँघाइदिन्छु। ऊ ’छिञ्ञ्छिञ्ञ्’ भन्दै बटारिन्छ।

सबै सन्तानको भाग्यमा बाउको काखी हुँदैन। सबै बाउको भाग्यमा काखी च्याप्ने सन्तान हुँदैनन्।

कहिलेकाहीँ सोच्छु— यस्तै म ठीक छु कि त्यस्तो म, जसलाई वर्षौंअघि कतै छाडेर आएको छु?

म ’ऐना झ्यालको पुतली’ को अशान्त ’वसन्ते’ हुँ कि ’मुना’ मा कविता पठाउने शान्त विद्या हुँ? काठमाडौंको सपना बोकेर घर छाडी हिँड्ने ’बांगे’ हुँ कि ग्याङसहित नांगै खोलातिर दौडिने ’मिलन’ हुँ?

म सबै हुँ।

’ऐना झ्यालको पुतली’ का यी स–साना पुतलीमा मेरो आत्मा बाँडिएको छ। यी सबै पुतली मेरो ढुकढुकी बोकेर सिसाको बट्टाबाट आकाशमा उडेका छन्। आमाको सन्दुकबाट पैसा चोरेर फिलिम हेर्ने ’वसन्ते’ को हुटहुटीले मलाई फेरि त्यहीँ पु¥याएको छ, जहाँ मैले सिंगो ब्रह्माण्ड छाडेर आएको छु। बुद्धिसागरले ’फिरफिरे’ मा लेखेको ’वसन्ते’ पनि त मै थिएँ!

पात्रहरूले फेर्ने हरेक सासमा आफ्नो आत्मा देख्नुभएको छ?

मैले देखेको छु।

पुतलीलाई सिसाको बट्टाभित्रै निसास्सिएर मार्न पैसाको ब्रह्मास्त्र चलाउनेहरू चिन्नुहुन्छ?

मैले चिनेको छु।

झुसिल्कीराबाट पुतली बनेको देख्नुभएको छ?

मैले देखेको छु। हरेकपटक ऐना हेर्दा म त्यही पुतली देख्छु।

त्यसैले ’ऐना झ्यालको पुतली’ मेरो कथा हो। सुजित बिडारीले मलाई नसोधी मेरो कथा खिचेका छन्। केदार श्रेष्ठले मलाई नसोधी मेरो ठाउँमा स–साना पुतली उभ्याएका छन्। ’वसन्ते’ की आमा सिरू विष्ट मेरै आमा नीमा त हुन्।

मेरो आफ्नै फिल्म म आमाबुवा र दिदीसँगै बसेर हेर्न चाहन्थेँ। हेरेर सोध्न चाहन्थेँ— ’म वसन्ते नै ठीक थिएँ कि लेनिन ठीक छु? म झुसिल्कीरा नै ठीक थिएँ कि पुतली ठीक छु?’

तर मलाई फिल्म हेर्न सिकाउने घोराहीमै खुलेको नयाँ हलले ’ऐना झ्यालको पुतली’ लाई गुँड दिएको छैन। दिएको त देशको राजधानीले पनि छैन।

हलमा पुतली देखाउने हुटहुटीले असिनपसिन भ
एका सुजित र केदारजीको उदास अनुहार देख्दा लाग्छ— उनीहरूले यो फिल्म बनाएर पाप गरेका छन्।

यसले पैसा कमाउला÷नकमाउला— समयले बताउला। तर यसले मजस्ता हजारौं पुतली कमाएको छ।

यो फिल्म बाँचिरहनुपर्छ ताकि यसले हामीलाई विस्मृत समयको ऐना देखाइरहन्छ। कसैले ’तँ सानोमा कस्तो थिइस्?’ भनेर सोधिदियो भने अब हामीसँग दिने उत्तर हुनेछ।
(सेतोपाटीबाट)

 3,718 total views,  46 views today

Related posts