नेट बिनाको एक दिन


प्रमिला बि.क, चौतारा । 

 ओहो के भएको हो यो, कतै केही हराए जस्तो कतै केही रोकिए जस्तो, कतै केही छुटे जस्तो के भइरहेको छ । ए साँच्ची आज त बिहान देखि नेट नै पो चलिरहेको छैन त । अनि नेट नचल्दा पनि किन यस्तो सासै फेर्न गाह्रो भएको जस्तो लागिरहेको छ । एक छिनको समय पनि किन यति लामो लागिरहेको छ । यस्तो लागेको छ कि म अरू कुनै दुनियाँमा छु । जहाँ मेरो कोही छैन । एक्लै छु,  केवल एक्लै अन्धकार छ । यस्तो लागिरहेको छ कि मलाई कसैले ठुलो पानीको दहमा फालेर गएको छ । साँच्ची अनि मलाई पौडिनै आउँदै म यहाँबाट बाहिर जमिनमा निस्किन खोजिरहेकी छु तर सकिरहेको छैन । यो पल यो समय कति गाह्रो भएको छ । सोचे किन यस्तो भएको छ ? ए फेरी सम्झे बिहान देखि नेट नै चलेको छैन । बिहान ८ बजे देखि नेट नचलेको अहिले दिउँसोको साँढे १ भइसकेछ । जम्मा ५ घण्टा नेट नचल्दा किन यति गाह्रो भएको ? 
ओहो पाँच घण्टा देखि मैले टिकटक चलाको छैन, झन् फेसबुकमा हिजो पोस्ट गरेको फोटोमा कति लाइक आयो होला ? अँ साची ककसले के कमेन्ट ग¥यो होला ? अनि उसले चाहिँ मेरो पोस्ट देख्यो कि देखेन होला ? उसले मेरो पोस्टमा लाईक ग¥यो कि गरेन होला ? लाईक ग¥यो भनी कुन रियाक्ट ग¥यो होला ? साँच्चि अनि त्यो अर्कोले म्यासेज ग¥यो कि गरेन होला ? 
मलै यति बेला सम्म नि उसको म्यासेज रिप्लाई नगर्दा के सोच्यो होला ? उफ् छ्या किन नचलेको के यो नेट ? म फेरी राउटर अफ गर्छु, अन गर्छु , बारम्बार म यो कार्य दोहोराइरहन्छु । तर मेरो त्यो प्रयास विफल हुन्छ । किन भने नेट चलेकै छैन । अफिसको काम पनि नेट नभएर केही गर्न पाएको छैन । दिन बिस्तारै गइरहेको छ । तर काम भने थोरै पनि गर्न पाएको छैन । भरे फेरी राती सम्म यहीँ अफिसमा बसेर काम गर्न पर्ने भयो । नजिकै रहेको बोतलको पानी पिउँछु । म एकोहोरो टोलिन्छु । फेरी मोबाइल हेर्छु , ह्या नेट नै चलेको छैन । मोबाइलको ग्यालरीमा भएका सबै फोटोहरू हेरे । हेर्दा पुरानो चार वर्ष अगाडि देखिका फोटोहरू रहेछन् । चार वर्ष अगाडि म र अहिलेको म लाई हेरे म मा धेरै परिवर्तन भइसकेछ । ग्यालरीमा भएभरका सबै फोटोहरू हेरे कति फोटो डिलिट गरे कति राखे कतिपय फोटोहरू हेरेर आफै छक्क परे । मैले कहिले त्यसरी पुरै ग्यालरी हेरेकी रहेनछु । साँच्ची मोबाइल त मै सँग चौबिसै घण्टा हुन्थ्यो तर किन मैले पुरै फोटोहरू हेरिन । फेरी मन नेट तिरै गयो नेट चलेकै थिएन । मनमा फेरी टिकटकको याद आयो । एउटा गीतमा टिकटक बनाएकी थिए पोस्ट गर्न पर्ने ।  कति बेला चल्छ यो टिकटक । दिक्क लाग्यो । यो दिन पनि के भएको समय नै कट्दै । कति बिस्तारै चलेको घडीको सुई पनि भर्खर दुई बज्न लागेछ । अब एक छिन् घरमा फोन गर्नु प¥यो । फोन लगाए ममिले उठाउनुभयो । फोन उठाउने बित्तिकै ममिले भन्नुभयो, एक महिना पछि पो कल गरिस् त ? कति हामीले फोन गर्दा नि किन फोन उठाइनस् के भो सन्चै छ ? ममिले यो प्रश्न गर्दा म झल्याँस्स भए । ओहो मैले घरमा एक महिना देखि फोन गरेको रहेनछु । सोचे एक महिना सम्म मैले घरमा फोन नगर्दा केही नहुने, कि याद समेत भएन मेरो नि घर परिवारमा आमाबाबा पनि छन् भनेर । तर फेरी पाँच घण्टा सम्म नेट नचलेर उ सँग बोल्न नपाउँदा किन यति गाह्रो भइरहेको छ । के म घरपरिवारलाई भन्दा बढी उसलाई चाहन्छु र ? सोचिरहेकी थिए ममिले फेरि फोनमा भन्नुभयो ? के भो किन बोल्दिनस् । मैले ए नेटवर्कको समस्या भयो होला केही सुनिन भनेर कुरा टारे । लगभग एक घण्टा जति ममी र बाबासँग कुरा गरे । एक महिना देखिका सबै घटनाहरू बेलिबिस्तारसँग सुनाउनु भयो । त्यो एक महिना भित्र ममी बिरामी पनि पर्नु भएछ । तर मैले एक चोटि फोन समेत गरेनछु । म आफूलाई छ्या भन्ने लाग्यो । फोनमा बाबाले सोध्नु भयो, के छ ? कस्तो छ काम ? खाना सममै पकाएर खानु  । आफ्नो ख्याल गर्नु । पैसा छैन भनी घरमा फोन गर्नू हामी पठाइदिन्छौ । तर कहिले काहीँ घर परिवार पनि छन् बाबाआमा पनि छन् भनेर सम्झिएस् है छोरी भनेर फोन राख्नु भयो । म आफूलाई सरम लाग्यो । म चौबिसै घण्टा मोबाइल चलाइरहेको हुन्छु । साथीहरूसँग दिनभरि च्याट, म्यासेज, फोन गरिरहेको हुन्छु । तर एक महिना सम्म मेरो जन्मदातालाई एक कल पनि फोन किन गरिन ? आफू देखेर आफैलाई रिस उठेर आयो । फेरी मनमनै प्रण गरे अब देखि दिनमा एक चोटी घरमा फोन गरेर हालखबर सोध्ने गर्छु । फेरी मोबाइल हेरे नेट चलेकै थिएन । बिना नेटको फोन पनि चलाउन मन नलाग्ने । मोबाइल चार्जमा छोडिदिए । अफिसमा नेट नहुँदा केही काम नहुने हुँदा बजार तिर निस्के । बजारमा दसैँ लागिसकेछ । बजार भिलिमिलि कपडाहरूले सजिएका थिए । कोही हतार हतार गरेर हिँडिरहेका, कोही लुगा पसलमा दाइ यसको मूल्य कति भनेर सोधिरहेका, कोही पन्ध्र सय त महँगो अलि मिलाउनु न भनेर बार्गेनिङ गरिरहेका थिए । खचाखच मानिसको भिड, तै छट मै छट गरेर बजारमा पाइलो राख्ने ठाउँ थिएन । म यहीँ दुश्र्य हेर्दै गर्दा एउटी चिनेको आन्टीले भनिहाल्नुभयो ? के हो प्रमिला आज कताबाट बाहिर निस्क्यौ । धेरै दिन पछि पो देखियो त ? सोचे हैन म बजार ननिस्किएको कति भएछ ? याद आयो ए अस्ति नै एकचोटी दुई महिना अगाडि अफिसको कामले आको थिए त्यसपछि आकै छैन ।  फेरी बजार पनि कति बेला आउने । बिहान उठ्यो ९, १० बजे सम्म मोबाइलमा नेट चलायो, खाना खाएर अफिस गयो, काम हुँदा काम ग¥यो अनि फेरी मोबाइल मानै झुन्डियो । टिकटक, फेसबुक, स्नयाप, इन्स्ट्रा, युट्युब ….. आदिमा नै मेरो संसार थियो । मैले त्यो नेटलाई सर्वस्व मानेर पूजा गरिरहेकी रहेछु ।  लगभग एक घण्टा जति त्यो आन्टी सँग कुरा गरे । त्यो आन्टीसँग कुरा गर्दा पनि नेट चल्यो होला, ओहो के के नोटिफिकेशन आइसक्यो होला भनेर मन तरगिंत भइरहेको थियो । मोबाइल अफिसमै चार्जमा छोडेर म बजार गएकी थिए । सायद ध्यान मोबाइलमा भएर होला त्यो आन्टीले के के भन्नुभयो याद नै भएन । कुरा सकाएर मोबाइलको तलतल लाग्यो एक छिनमा अफिस तिर दौडिए । आएर हत्त न पत्त मोबाइल हेरे तर नेट चलेकै थिए । यतिकैमा चार बजेछ । आज नेट नचल्ने भएपछि म अफिस बाट निस्केर रुम गए । रुममा पनि सेम समस्या नेट चलेको थिएन । मोबाइल ओछ्यानमा राखे । रुमलाई एक चोटि नियाले । किताब जताततै छरपस्ट थियो । कपडाहरू यता उता फालिएको, कोठाको भुईँको धुलो समेत बडोरेको थिएन । अरू त परै जाओस् कति दिन देखिका त्यो ग्याँसको चुलो सफा गरेको छैन रहेछ । बिहानको भाडा जुठै थियो । म कति सम्म मोबाइलमा गहिरिएकी थिए भनेर बल्ल चाल पाए । बिस्तारै रुमलाई सफा गरे । भाडाँ माझे, कपडा धोए, किताबहरू मिलाए । सबै काम सकेर हेर्दा मेरो कोठा सफा भयो । मन आनन्दित भयो । सोचे किन मैले यस्तो फोहोर पारे रुम । कारण थियो मोबाइल अनि नेट । मोबाइल अनि नेटको लतले गर्दा मैले आफूलाई  म मानिस हो भन्ने कुरा बिर्सिएछु झैँ लाग्यो । ९,१० मा पढ्दा सधैँ प्रथम हुने म अहिले बल्ल तल्ल पास मात्र हुने गरेको छु । कारण हो मोबाइल । पहिला मोबाइल थिएन । ध्यान दिएर पढ्थे । अहिले पढ्दा एक छिनमा निन्द्रा लाग्छ मोबाइल हेर्दा रात भरी पनि आँखा जोडिदैन् । परिक्षाको आउनु भन्दा एक दिन अगाडि बल्ल बल्ल पढ्ने गर्छु त्यो पनि पाठको नाम मात्र यसो हेर्ने गछु अनि म पास चाहिँ धन्न भइरहेको छु । सोच्दा सोच्दै मोबाइलको याद आयो । हेरे नेट अझै चलेको छैन ।  उफ् निक्कै गाह्रो भयो । फेसबुकमा आउने नोटिफिकेसन र म्यासेसहरुलाई बारम्बार याद गरे । टिकटकका भिडियोहरूमा आँखा वरिपरि घुमिरहे । रुमको बाहिर भित्र मोबाइललाई हेर्दै १० फन्को लगाए । तर पनि नेट चलेन । खाना पकाउने तरर्खर गरे मनमा खानाको भन्दा पनि नेट कति बेला चल्ला भन्ने भइरहेको थियो । बेलुकाको ९ बजेछ । नेट चलेन । निकै सकस भइरहेको थियो । आँखाले नेट खोज्थ्यो । कति बेला श्वास फेर्न गाह्रो भएको जस्तो हुने । बारम्बार युट्युबमा दैनिक हेर्ने सिरिजहरूको याद आउने । ओहो १० बजेछ । सधैँ विभिन्न सिरिजहरू हेर्दै खाना खाने बानी साँच्चि मलाई आज खाना पनि मिठो भएन । रातको साँढे १० भइसकेको छ । तर पनि नेट चल्दैन । मनमा कसैले छोडेर गएको जस्तो तड्पन भइरहेको थियो । अरू बेला मोबाइल चलाएर रातको २ बजे निदाउने आज नेटको पखाई मा म साँढे १० बजे निदाए । राती निदाउँदा पनि बेला बेला बिउँझिएर मोबाइल हेर्थे कतै नेट चल्यो कि भनेर तर नेट चलेकै थिएन । बिहान ७ बजे विँझिएछु । हत्त न पत्त मोबाइल हेरे । नेट चलेको रहेको रहेछ । मन प्रफुल्ल भयो ।  निक्कै लामो तपस्या पछि भगवान् भेटेझैँ भयो ।  पानि बाट निकालेर जमिनमा राखेको माछा जस्तो भएकी म नेट चलेसी फेरी पानीमा फालिदिएकी माछा झैँ आनन्दीले पौडिन थाले ।  फेरी म नेटको दुनियाँमै हराउन थाले । 

 4,285 total views,  44 views today

Related posts