के नेकपा विखण्डन होला ?

अरुण नेपाल

केही दिनयता नेपाल कम्युनिष्ट पार्टी – नेकपा फुट्न लागेको व्यापक चर्चा चलिरहेको छ । पार्टीका महासचिवले नै यसै आशयको विचार सार्वजनिक गरेपछि “दालमा कालो छ” भनेर अनुमान गरिनु अन्यथा होइन । पार्टीहरु समान्यतः सिद्धान्त, विचार र नीतिका कारणले जुट्ने र फुट्ने गर्छन् ।

तर, अनौठो कुरा के छ भने यस प्रकारको फुटको चर्चामा नीति, विचारको कुनै स्थान देखिँदैन । यसमा पार्टीका दोस्रो, तेस्रो पुस्ताका नेता कार्यकर्ताको भूमिका पनि पाइँदैन । सार्वजनिक भएको विषयहरुलाई केलाउँदा माथिल्लो स्तरमा रहेका थोरै नेताहरुको वीच विकास भएको अन्तरविरोध, कार्यशैली र पार्टीले स्थापना गरेको विधि, विधान र निर्णयलाई पालना गर्ने वा नगर्ने विषयमा रहेको समस्या नै प्रमुख रुपमा देखिन्छ ।त्यसैले यदि पार्टी खण्डित भयो भने अन्य कारणले होइन, यिनै कारणले गर्दा हुने स्पष्ट छ । यति लामो इतिहास, अनुभव, योगदान भएका नेताहरुले एकीकरणले पूर्णतासमेत प्राप्त नगरी सकेको अवस्थामा पार्टी विभाजन गरिहाल्नु होला भन्ने विश्वास त गर्न सकिँदैन । तर, विभाजन हुँदैन भन्ने भरपर्दो अभिव्यक्ति र व्यवहार प्रदर्शन नइरहेको योबेला आशंका र चिन्ता उत्पन्न हुने अवस्थाचाहिँ निश्चय नै छ ।

विभाजन गर्ने निश्कर्ष निकाल्नुपूर्व पार्टीका शीर्षनेताहरुले तपसिलका विषयहरुमा पक्कै ध्यान पुर्याउनु हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छः

१. हुन त नेपालको कम्युनिष्ट आन्दोलनमा विचार सिद्धान्तभन्दा नेताहरुको व्यक्तिगत असन्तुष्टि, टकराब, महत्वकांक्षा, आपसी अन्तरबिरोध र घटना विशेषले फुट सिर्जना गर्ने गरेको अनुभव छ । तर, क्रमशः परिपक्वता प्राप्त गर्दै गरेको यो आन्दोलन र यसका नेताहरुले यति नै कारणले पार्टी विभाजन गर्नु हुन्छ होला त ? के यस्तो विभाजनको औचित्य पुष्टि हुन सक्छ ? आज पार्टीभित्र देखिएका समस्याहरु विभाजन बेगर समाधान गर्नै नसकिने खालका हुन् ? पार्टीमा विभाजननै हुनुपर्ने गरी सैद्धान्तिक मतभेदहरु के के उत्पन्न भएका छन् ? यस्ता प्रश्नहरुको तथ्यपरक जवाफ नभएसम्म जसले गरेपनि विभाजन केवल “बाक्लो दाल खाने” ईच्छा मात्र सावित हुने छ । यसरी गैर सैद्धान्तिक आधारमा हुने खण्डिकरणको औचित्य पुष्टि हुन सक्तैन ।

२. गत आम निर्वाचनमा संयुक्त उम्मेदवारी र निर्वाचनपछि पार्टी एकताको वचन दिइएको थियो । दुई पार्टीको एकताले देशमा स्थिरता दिनेछ भन्ने विश्वास दिलाईएको थियो । समृद्धि प्राप्त गर्ने र समाजवाद उन्मुख हुने वचनबद्धता जाहेर गरिएको थियो । यो वचनवद्धतालाई जनताबाट अपार विश्वास र समर्थन प्राप्त भयो । देशमा एउटा आत्मविश्वास सिर्जना हुन पुग्यो । अब नेपाली समाजले गती लिन्छ भन्ने आम मनोविज्ञान उत्पन्न भयो । यसैको परिणाम स्वरुप दुई तिहाईको हाराहारीमा संसदीय सिट प्राप्त गर्ने अवस्था भयो । यस्तो बेलामा पार्टी खण्डित गर्नुको अर्थ जनता को सपना चकनाचुर पार्नु हो । यो अवस्थाले एउटा राष्ट्रिय निराशा उत्पन्न गर्ने निश्चित छ । सपना ध्वस्त भएको, धोका महसुस भएको र चरम निराशामा पुगेको जनताको प्रतिकृया कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

३. पार्टीमा शीर्षस्थानमा रहेका नेताहरुमध्ये अधिकांश सत्ताको उच्च आसनमा पुग्नुभएका वा पुगिसक्नु भएका व्यक्तित्वहरु हुनुहुन्छ । कायम रहने वा पुनरावृत्ति गर्ने बाहेक उहाँहरुका लागि अब त्यहाँ भन्दा माथिको आसन छैन । उहाँहरुलाई त्यो स्थानमा पुर्याउन हजारौँ हजार दोस्रो, तेस्रो पुस्ताका नेता कार्यकर्ताहरुको योगदान छ । पार्टी विभाजन गरेपछि ती हजारौं नेता कार्यकर्ताहरुको भविष्यको जिम्मा कसले लिने हो ? नेतृत्वले यस्ता विषयमा गम्भीर र जिम्मेवार बन्नै पर्दछ ।

४. अहिले देशमा नेपाल कम्युनिष्ट पार्टी सर्वाधिक ठूलो शक्ति हो । तलदेखि माथिसम्मको सरकार यसैको हातमा छ । यस्तो शक्ति खण्डित हुनुको अर्थ देशको राजनीतिमा एउटा ठूलो शुन्यता उत्पन्न हुनु हो । यस्तो शुन्यता लामो समयसम्म कायम रहन सक्दैन । त्यसलाई कुनै न कुनै शक्तिले भर्नैपर्दछ, राजनीतिक सामाजिक नियम यही हो । यसरी बन्न पुगेको शून्यतालाई भर्ने शक्ति के हुनसक्ला ? खाली स्थानलाई पूर्ण गर्न सक्ने कुनै भरपर्दो, लोकप्रिय र लोकतान्त्रिक शक्ति तत्कालका लागि देशमा छैन । यस्तो अवस्थामा देशको राजनीतिमा के हुन सक्ला, अनुमान गर्न सकिन्छ ।

किटान गर्न नसकिए पनि संभावित परिणामलाई यसरी आँकलन गर्न सकिन्छः

संविधान समाप्त हुन सक्छ । यसको अर्थ आजसम्म प्राप्त गरिएका उपलब्धीहरु अन्त्य हुन सक्छन् । देश निरंकुशता तर्फ जान सक्छ । हत्या हिंसाले स्थान पाउन सक्छ । साम्प्रदायिकता र विखण्डनवादले यो शुन्यतामा प्रवेश गर्न सक्छ । देश अराजकतातर्फ जान सक्छ । धमिलिएको र समस्याग्रस्त बनेको राजनैतिक सामाजिक अवस्थाको बहानामा प्रकारान्तरले विदेशी हस्तक्षेप पनि हुन सक्छ भन्ने अनुमान गर्नु अन्यथा हुँदैन । यीमध्ये जेसुकै हुनुको अर्थ देश भयंकर दुर्घटनामा पर्नु हो। यस्तो अवस्थाको कारक बन्न के साँच्चै हामी तयार भएका हौं त ? विखण्डनको चर्चा चलिरहँदा हाम्रा नेताहरुले यस्तो अवस्थाको अन्दाज कति र कसरी गर्नु भएको छ ?

५. संसार भरकै कम्युनिष्ट पार्टीहरुको एउटा साझा विशेषता छ । चाहे शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने पार्टी हुन् वा शसस्त्र युद्ध गर्ने पार्टी हुन् अथवा सत्तासीन पार्टी नै किन नहुन् एक पटक ओरालो लागे पछि ढलेर पिँधमै पुगेको र फेरि फर्कन नसकेको अनुभव सर्वत्र छ। शान्तिपूर्ण आन्दोलन र निर्वाचन प्रणालीबाटै राम्रो हैसियत बनाएका जापान, इन्डोनेशिया, फ्रान्स, स्पेन, ग्रीसका कम्युनिष्ट पार्टीहरु आज कहाँ छन् ? यसको अर्को ताजा उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन छिमेकी भारत हाम्रा सामु छ । सशस्त्र संघर्षलाई मुल कार्यनीति बनाएका मलाया, थाईल्याण्ड, फिलिपिन्स, पेरुका पार्टीहरुले प्राप्त गरेका अनुभवहरुबाट हाम्रो नेतृत्व निश्चयनै अनभिज्ञ छैन ।

एक समय भारतमा ठूलै तहल्का मच्चाउन सफल नक्सलवादी आन्दोलनको अवस्था अहिले के छ, देखे बुझेकै कुरा हो । सत्तासीन पार्टीहरु कसरी ढल्दा रहेछन् र पतन हुँदा रहेछन् भन्ने अवस्था बुझ्न रुस र पूर्वी युरोपेली देशमा केही वर्ष अगाडि घटेका घटनाहरुको स्मरणबाट मात्रै पनि पर्याप्त शिक्षा लिन सकिन्छ। आजको नेकपा विभाजन हुनु/गर्नुको अर्थ स्पष्ट छ, यो ओरालो लाग्नु हो । पिँधमै पुग्ने आम कम्युनिष्ट विशेषता अनुसार हाम्रो देशको आन्दोलन पनि फेद मै पुग्ने छ र फेरि फर्केर शिखरमा पुग्ने प्रयत्न केवल सपना मात्रै हुन सक्छ । यति विघ्न त्याग, बलिदान र मेहनतले निर्माण भएको आन्दोलनलाई सीमित स्वार्थ, ईच्छा, आकांक्षा, महत्वाकांक्षा कै कारणले समाप्त पार्न मिल्छ र ?

यस्ता अनगिन्ती यक्ष प्रश्नहरु छन् जसको सोझो र स्पष्ट जवाफ बेगर पार्टी विभाजनको औचित्य पुष्टि हुनै सक्तैन । विभाजन उन्मुख हुँदै छ भन्न थालिएको नेकपाको मुल समस्या माथिल्लो नेतृत्वमै छ । यसैले यहाँ उठाइएका प्रश्न र जिज्ञासाहरु पनि त्यतैतिर केन्द्रित छन् । तर, यो टिप्पणी कुनै खास नेता वा व्यक्तिलाई आक्षेपित गर्ने आशयबाट निर्देशित छैन, बरु संभावित परिस्थितिको गाम्भीरता अनुभुत होस् भन्ने मनसायबाट निर्देशित रहेको जानकारी गराउनु उपयुक्त हुन्छ ।

(नेकपा नेता नेपाल वाग्मती प्रदेश्का मन्त्री हुन्)

(अन्लाइन खवरवाट साभार)

 3,449 total views,  2 views today

Related posts