ओसो

एउटा फकिर एक गाउँमा बसेका थिए । त्यो गाउँको मानिसले उनलाई भने— तपाईं हाम्रो मन्दिरमा प्रवचन दिन जानुहुन्न ?
त्यो फकिर बोले— मलाई केही थाहा भए पो प्रवचन दिनु ! मलाई त केही थाहा छैन ।त्यस गाउँको मानिसले सुनेका थिए कि जो मानिसले परमज्ञान प्राप्त गरेका हुन्छ, उसले भन्छ, ‘मलाई केही थाहा छैन ।’ गाउँलेले अनुमान गरे, यो साधुलाई अवश्य केही थाहा हुनुपर्छ । त्यसपछि उनीहरूले उनीहरूले साधुलाई ज्यादै कर गरेर मन्दिरमा लिएर गए । उनलाई एउटा मञ्चमा राखियो । अनि ती फकिरले त्यो मन्दिरका मानिससँग सोधे, ‘तिमीहरूलाई म एक कुरा सोध्न चाहन्छु । मैले कुन विषयमा प्रवचन दिएको तिमीहरू सुन्न चाहन्छौ ? गाउँलेले भने— निश्चय नै हामी ईश्वरको सम्बन्धमा सुन्न चाहन्छौँ । फकिरले सोधे, ‘तिमीलाई थाहा छ, ईश्वर छ ? तिमी मान्छौ, ईश्वर छ ? तिमीलाई थाहा छ, ईश्वर छ ?’गाउँलेले एकै स्वरमा भने— हो, हामीलाई थाहा छ, ईश्वर छन् । फकिरले भने, ‘त्यसो हो भने मलाई क्षमा गर । जब तिमीहरूलाई ईश्वर छन् भन्ने थाहा छ भने कुरै सिद्धियो । अब म के बोलूँ ? ईश्वर छन् भन्ने ज्ञान भएपछि अरू ज्ञान आवश्यक हुँदैन । यही अन्तिम ज्ञान हो । जे थाहा पाउनु थियो, त्यो तिमीहरूले थाहा पाइसक्यौ । जे पाउन योग्य थियो, त्यो तिमीहरूले पाइसक्यो । ईश्वर अर्थात् अन्त, ‘द अल्टिमेट’, अब मैले बोल्न आवश्यक छैन । क्षमा गर । व्यर्थमा म किन श्रम गरूँ ? म जान्छु ।’ गाउँलेहरू छक्क परे । उनीहरूले सोचे— यो त बडो गडबड भयो । आउने शुक्रबार साधुसँग फेरि कुरा गर्ने उनीहरूले योजना बनाए । शुक्रबारको दिन फकिरलाई मन्दिरमा ल्याइयो । फकिरले फेरि सोधे— ईश्वर छन् भन्ने मान्छौ नि ? गाउँलेले भने— कस्तो ईश्वर ? कहाँको ईश्वर ? हामीलाई केही थाहा छैन । ईश्वर छन् कि छैनन् भन्ने हामीलाई केही थाहा छैन । हामीले ईश्वरलाई न मान्छौँ, न हामी जान्दछौँ ।फकिर बोले, ‘उसो भए कुरा सकियो । जब तिमीहरू ईश्वरको मूल्य मान्दैनौ र जान्दैछौ भने बेकारको मेहनत गर्नुको के आवश्यकता छ र ? जे कुरा छँदै छैन, त्यो सम्बन्धमा चर्चा गर्नाले के फाइदा हुन्छ ? म जान्छु । ईश्वर तिम्रो प्रश्न नै होइन, ईश्वर तिम्रो समस्या होइन ।’फकिर मञ्चबाट ओर्लेर हिँडे । गाउँलेहरू असमञ्जसमा परे, अब के गर्ने होला ? अर्को शुक्रबार फेरि फकिरलाई मन्दिरमा ल्याए । फकिरले सोधे— मित्रहरू ! के विचार छ, अब के प्रश्न छ ?गाउँलेहरू होसियार थिए । जस्तो कि सबै गाउँका मानिस होसियार नै हुन्छन् । र ती होसियार मानिसले तेस्रो उत्तर खोजिसकेका थिए । जस्तो कि ईश्वरको सम्बन्धमा उत्तर तयार गर्नु गाउँका मानिसको अधिकार हो । होसियारहरूको सबै उत्तर दुई कौडीको हुन्छ । होसियारहरूको उत्तरको कुनै मूल्य हुँदैन । किनकि उनीहरूलाई थाहा हुँदैन, केवल सोचेर उत्तर तयार गरेका हुन्छन् । यसपालि पनि फकिरले सोधे— के विचार छ आज ? ईश्वर छन् कि छैनन् ? मान्छौ कि मान्दैनौ ?यसपटक उपस्थित आधा मानिसले ईश्वर छन् भने, बाँकी आधा मानिसले हामीलाई थाहा छैन भने । फकिरले हाँस्दै भने, ‘तब त मेरो यहाँ आउनु बिल्कुलै अनावश्यक भयो । ईश्वरको बारेमा थाहा भएकाहरूले थाहा नभएकाहरूलाई बुझाइदेऊ ।’ यति भन्दै फकिर हिँडिहाले ।
त्यो फकिरसँग मैले सोधेँ, ‘चौथोचोटि ती मानिस आए कि आएनन् ?’
फकिरले भने— चौथोचोटि तिनीहरू आएका भए फेरि मलाई बोल्नुपथ्र्याे । यसपालि पनि मैले सोध्थेँ, उनीहरू चुप हुन्थे । कुनै पनि उत्तर दिँदैनथे । अनि मलाई अवश्य बोल्नुपथ्र्यो । सत्यको खोजको पहिलो चरण हो, मौन । मौन निष्पक्ष हुन्छ । हो र होइन भन्नेमा विभाजित हुन्छन्– आस्तिक र नास्तिकहरू । यसैले दुवै धार्मिक होइनन् । दुवैको खोज सत्यको खोज होइन । आस्तिकहरूले ‘हो’को पक्ष र नास्तिकले ‘होइन’को पक्ष लिइरहेका हुन्छन् । निष्पक्ष कोही हुँदैन । सत्यको खोज त्यसले मात्र गर्न सक्छ, जो निष्पक्ष छ, ‘अनप्रेजुडिस्ड’ ।
जसको मनमा कुनै पक्षले कुनै स्थान बनाएका छैन, उसले भन्छ, मलाई थाहा छैन । यसैले म कुनै पक्षमा कसरी सम्मिलित होऊँ ? जुन दिन मलाई थाहा हुनेछ, त्यो दिन म कुनै पक्षमा उभिनेछु । त बडो आश्चर्यको कुरा यो छ कि, जसले जानेका छन्, उनीहरू सबै पक्षबाट बाहिर भएका छन्, उनीहरू कुनै पक्षमा कहिल्यै उभिएनन् । जसलाई थाहा छैन, उनीहरू पक्षहरूमा विभक्त छन् । सत्यको खोजको हत्या यो संसारमा यसैले भयो कि सत्यको नाममा पक्ष बन्यो ।
सत्यको कुनै पक्ष हुँदैन । सत्यको कुनै मत हुँदैन । सत्यको कुनै पन्थ हुँदैन । सत्यको कुनै सम्प्रदाय हुँदैन । सत्यको कुनै धर्म हुँदैन । तर सबै मनुष्य विभक्त छन्— पन्थमा, धर्ममा, पक्षमा, मतमा, फिलोसफिजमा, सिस्टम्समा । हरेक मानिसले कुनै न कुनै पक्ष बनाएका छन् । जुन मानिसले पक्ष बनाएका छन्, उनीहरू असत्यको बाटोमा गइसकेका छन् । उनीहरूको सत्यको यात्रा हुन सक्दैन ।
सत्यतिर जानका लागि निष्पक्ष चित्त, अनप्रेजुडिस्ड माइन्ड, एउटा यस्तो चेतना चाहिन्छ, जसले भनोस् कि मलाई थाहा छैन । पक्ष लिनका लागि ज्ञानी मान्न आवश्यक हुन्छ, आफूले आफूलाई । यसैले म भन्छु, पक्षले मनुष्यलाई असत्यको यात्रामा लैजान्छ । पक्षमा सम्मिलित हुनु भनेको म जान्दछु भनी स्वीकार गर्नु हो । अनि त पक्ष लिन सकिन्छ ।
धर्मको नाममा आजसम्म जति हत्याहरू भएका छन्, त्यति हत्या न डाँकुहरूले गरेका छन्, न चोरले, न त बदमासले । बडो आश्चर्यको कुरा हो यो । धर्मको नाममा जति घर जलेका छन् र जति स्त्रीहरूको बेइज्जती भएको छ, त्यति आजसम्मका सारा पापीहरूले मिलेर पनि गरेका छैनन् । यो आश्चर्यको कुरा हो । धर्मको नाममा यस्तो कसरी हुन सक्छ ? यदि धर्मको नाममा यो सबै हुन्छ भने फेरि अधर्म गर्नका लागि केही पनि बच्दैन, फेरि अधर्म के गाह्रो ? अधर्मका लागि कुनै उपाय नै छोडेका छैनन् धार्मिक मानिसले ।
धर्मको नाममा यस्तो भएको छ, यसैले कि हामीले धर्मलाई पन्थ सम्झेका छौँ, पक्ष सम्झेका छौँ । धर्मको पक्ष र पन्थसँग कुनै पनि सम्बन्ध हुँदैन । धार्मिक व्यक्ति निष्पन्थ र निष्पक्ष हुन्छ ।

के तपाईं धार्मिक व्यक्ति हो ? तपाईं भन्नुहुनेछ— हो, म धार्मिक हुँ । म हिन्दु हुँ, टीका लगाउँछु, जनै लगाउँछु । म मुसलमान हुँ, मस्जिद जान्छु । म जैन हुँ, नमोकार पढ्छु । तपाईंलाई कहिले पनि यो विचार आएन होला कि तपाईं पक्षमा उभिनुभएको छ, त्यसैले तपाईं धार्मिक हुनुभएन । धार्मिक व्यक्तिले सत्यको खोज गर्न सक्छ, अधार्मिकले होइन । र धार्मिक हुनका लागि निष्पक्षता पहिलो सूत्र हो । (रातोपाटी बाट)

Facebook Comments Box