रन्जना श्रेष्ठ, बलेफी ।

तल्लो बलेफी खोला जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीयले बलेफी गाउँपालिका १–२ तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ मा पर्ने फलामसाँगुमा ड्याम बनाई बलेफी आँपबोटेमा पावरहाउस बनायर काम सुरु गर्न लागेको तल्लो बलेफी हाईड्रोपावर विरुद्व आन्दोलन गरेका हुन् ।
जलबिरेका स्थानीय काशीराम थापाले नौबिसेबाट सुरु भई जलबिरे बजारसम्म करिब छ सात सय मान्छे जुलुसमा सहभागी भई हाइड्रो विरुद्ध चर्काे नाराबाजीमा उत्रिएको जानकारी दिए । उनले आन्दोलनमा सहभागी आक्रोसित भिडले जिल्लाका शिर्षनेताहरुसंग हाईड्रो सञ्चालकहरुले कुरा मिलायर स्थानीय समस्याका बारेमा छलफल गर्न नचाहेको भन्दै उनीहरु आक्रोसित भएको बताएका छन् ।
प्लेकार्ड बोकेर नाराजुलुसमा उत्रिएका उनीहरुले ‘बस्ती उठाउन पाईदैन खोला सुकाउन दिंदैनौ, हाईड्रोको दक्षिणा लिंदैनौं सुरुङ खन्न दिंदैनौ’ जस्ता चर्का नारा लगाएका थिए । ‘हाईड्रोपावरले हाम्रो माग सम्वोधन नगरे सम्म हाम्रो आन्दोलन रोकिदैन’, नाराजुलुसमा सहभागी एक प्रभावितले भने । ‘यो भिड कुनै नेताको मासु भातमा बिक्न र कुनै संस्थाले बाँडेको राहत लिन आएको होइन । मेरो बस्ती असुरक्षित नबनाइदेउ, पानीको मूल नसुकाइदेउ, जल, जमिन र वनजंगल नमासिदेउन भन्ने हरूको सानो भिड हो’, त्यहाँका स्थानीय राजिब हमालले आफ्नो फेसबुक मार्फत आक्रोस व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । साझा पावार डेभलपमेन्ट प्रालिले यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । उक्त जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको बताईन्छ । जसमा ७५ प्रतिशत कुमारी बैङ्कले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।

Facebook Comments Box