रन्जना श्रेष्ठ, जुगल ।
नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले जुगल हिमाल आरोहण गर्दै छन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष तथा पर्यटन अभियान्ता मिलन तामाङले आरोहणमा नेपालका ३ र दक्षिण कोरियाका ७ जना गरि १० जनाले आरोहण गर्न लागेकोे जानकारी दिए ।
२०८० चैत्र २४ देखि बैशाख १५ गतेसम्म ६ हजार ५ सय ९१ मिटरमा रहेको जुगल १ र ६ हजार ५ सय १८ मिटर उचाईमा रहेको जुगल २ को आरोहण गर्ने भएको हो । गाउँपालिकाको जलबिरेमा नेवारी, गुम्बामा तामाङ र तेम्वाथाङमा शेर्पा साँस्कृतिक कला र झाँक्रीले पर्वतारोही संगै आउने कोरियन पत्रकार र कोरियाली अन्य पर्यटकहरुको टोलीलाई बलेफी स्वागत गर्ने तयारी भएको छ । साथै पैदल मार्गमा पर्ने जुगलको टाँडे, कात्तिके, मान्जे, गोन्डेगाउँका स्थानीयहरुले ठाउँठाउँमा स्वागत गर्ने कार्यक्रम निर्धारण भएको छ ।

बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, नेपालको पहिलो अन्तराष्ट्रिय माउन्टेन महिला गाईड दावा याङजुङ शेर्पा र मिलन तामाङ जुगल हिमाल आरोहणमा नेपाली टोलीमा रहेका छन् । गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले आवश्यक अन्य व्यवस्थापकीय प्रवन्धको लागि जुगल गाउँपालिकाले सहयोग पुर्याउने बताए ।

Facebook Comments Box