जनतापत्र / सिन्धुपाल्चोक
पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राती पौने १० बजे खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सुरु हुनेछ ।
सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलको अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो, भने जोर्डनले प्यालेस्टाइनलाई हराएर सेमिफाइनलमा पुगेको थियो । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ । तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम मानिन्छ । नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५ औँ स्थानमा रहेको छ ।
यस प्रतियोगितामा नेपाल आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण सावित्रा भण्डारी साम्बाले आजको फाइनल खेल नखेल्ने भएकी छिन ।

Facebook Comments Box