नारायण गाउँले
कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए । आज गोटी बन्न पाउँदा निकै हर्षित देखिन्छन् । औचित्य र अस्तित्व दुबै सिद्धियो भनेका माओवादीसँग ती दुई दलको कुनै स्पर्धा छैन । माओवादीको एक तहमुनि को बस्ने भन्ने स्पर्धा हो कांग्रेस र एमालेको । तिनको दुःख, खुसी, हार या जीत भनेको काँध बन्न पाउनु र नपाउनुमा हो ।

रोचक त के छ भने आफ्नै काँधको निर्णय पनि तिनको आफ्नो हातमा छैन । थाप्छु भन्नेबित्तिकै पनि पाइन्न । कुर्नुपर्छ । प्रचण्डले दिए, एमालेले सभामुख पायो । कांग्रेसले ‘रियलाइज’ ग¥यो, राष्ट्रपति पायो । फेरि एमालेले रियलाइज ग¥यो, केही मुख्यमन्त्री पाउने भो । भोलि कांग्रेसले फेरि रियलाइज गर्ला र बाँकी बचेको केही पाउला । रियलाइजेसन भनेको आफ्नो हैसियत र स्तरको पहिचान न हो ।

संख्यामा सानो होला, तर देशका ठूला साना सबै दललाई ‘रियलाइजेसन’ मा पु¥याउने र इख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन । र, यतिबेला कांग्रेस एमालेजस्तै हाम्रो ‘रियलाइजेसन’ पनि के हो भने, तीन जनामध्ये प्रधानमन्त्रीका लागि उपयुक्त पात्र प्रचण्ड नै हुन् । १७ हजार त सत्ता बाहिर हुनेबित्तिकै मुखमा आइहाल्ने एउटा अर्थहीन थेगो मात्रै हो दलहरूको । आफ्नो काँध खाली हुँदा चिलाउनु स्वभाविक हो । कन्याएर आफैँले आनन्द लिनका लागि हो १७ हजारको प्रसंग कोट्याउने । हिजो एमाले र रास्वपाले कन्याए, अब केही महिना कांग्रेसले कन्याउँछ ।

के बुझौँ भने एक्लै कसैले केही खेल्न सक्दैन । अरू पनि सहभागी भएकाले नै त खेल बन्ने हो । अरूले पनि खेलेकै हुन्, खेल्छन् । प्रचण्डले अलि बढी खेले होलान्, यत्ति हो । नागरिकको रूपमा, हिंसात्मक विगत, अस्थिर राजनीतिक चरित्र, ठोस आदर्श र अडानको अभावजस्ता कुरा बिर्सिने हो भने प्रचण्डको प्रधानमन्त्रित्व बाँकीभन्दा खराब छैन । प्रतिपक्षका कुरा सुन्छन्, स्पेस दिन खोज्छन् । संसद्मा जाँदै नजाने या एक वर्षमा जाने र दुई घण्टा ‘सम्बोधन’ गर्नेजस्तो परम्परा थियो, उनले तोडेका छन् । आफैँ उपस्थित हुन्छन्, प्रश्नहरू सुन्छन्, जवाफ दिन्छन् । आक्रोश सुन्छन् र नम्र भएर जवाफ दिन्छन् । एक पैसा काम गरेर एक मोहोरको गफ गर्दैनन्, गर्न सकिएको छैन भन्ने ‘रियलाइज’ गर्छन्, माफी माग्छन् । भ्रष्टाचारका यत्ति धेरै फाइल खुलेको र ठूला माछासम्म पुगेको पनि उनको अडानले नै हुनुपर्छ । निर्मूल त कसले गर्न सक्छ र ! सबैभन्दा ठूलो कुरा, आफू अलग हुनेबित्तिकै शब्दकोश नै रित्तिने गरी दुर्वचन र गाली गर्दैनन् ।

मिसन ८४ पछि कसको के हुन्छ, यसै भन्न सकिन्न । पार्टी सदस्यले त यता र उता हुँदा के भन्ने भन्ने पहिल्यै घोकेका हुन्छन्, अरूले चाहिँ तिनकै पछि लाग्नु किन ? कामको आधारमा, गुणदोषको आधारमा टिप्पणी गर्ने हो । अबको तीन–चार वर्ष उनै प्रधानमन्त्री हुन् भने उनी असफल हुनु भनेको देश नै असफल हुनुजस्तै हो ।

कांग्रेस र एमालेले अस्थिरता र ‘राजनीतिक वेश्यावृत्ति’को दोष जति सबै प्रचण्डलाई दिएको देखिन्छ । तर यो वृत्तिमा खेल्ने मूल प्रवृत्ति त तिनकै हो । एक्लै त त्यस्तो वृत्ति हुँदैन । सरकार बनाउने ठेक्का प्रचण्डको मात्रै त होइन । अरूले हुति देखाउन नसकेपछि गाली गरेर हुन्छ र ? प्रचण्डबिना पनि त सजिलै सरकार बन्न सक्छ । खोइ त ?

कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । सबैभन्दा ठूलो दलबिना नै सरकार बन्न सक्छ भने उसले प्रचण्ड बाहेकको सरकार बनाउन सक्दैन ? घुसघुसे देउबा र एकआपसमा झगडा गरेर आफ्नो भूमिका देखाउने त थुप्रै छन् तर ‘डिल मेकिङ’ क्षमता भएका नेता छैनन् । अघिल्लो गठबन्धन पनि कांग्रेसले होइन, माओवादीले चाहेर बनेको हो । भोलि फेरि बन्यो भने पनि त्यो अरूकै चाहले बन्ने हो ।

एमाले दोस्रो ठूलो शक्ति हो । पाएको मत र कार्यकर्ता बेस हेर्ने हो भने यो कांग्रेसभन्दा सानो दल होइन । पहिलो दलले नसकेपछि स्वभाविक रूपमा नेतृत्व गर्ने र डिल गर्ने हक उसको हो । च्याँखे थापेर एक–दुई सिक्का जित्नुमा ऊ पनि रमाएकै छ । सानो माओवादीले एमालेबिना सरकार बनाउन सक्छ भने ठूलो एमालेले नसक्ने भन्ने हुन्छ र ? दुई ठूला दलले मिलेर निकास दिएको भए पनि माओवादीले रोकेको थियो र ? आलोपालो प्रधानमन्त्री बन्न तिनले पनि सक्दा हुन् ।

आफू पंगु नै भएको हो र हात उठाएको हो भने जनमत स्पष्ट रूपमा रास्वपासँग थियो । यत्ति सबैले बुझेका थिए । साइजमा माओवादी र रास्वपा उत्रै थिए । जनमतप्रति त्यति धेरै सम्मान हो भने बारम्बार प्रचण्डलाई प्रधानमन्त्री बनाउनुको साटो एकपल्ट रास्वपालाई दिएको भए के जान्थ्यो ? राप्रपाजस्तो सैद्धान्तिक रूपमा यो व्यवस्था विरोधी पनि थिएन रास्वपा । दुबैसँग मिल्दोजुल्दो नै थियो ।

माओवादीसँग जनमत छैन भन्ने, हाम्रै काँध चढेर यो साइजमा पुगेको हो भन्ने अनि उसको ओत नलागी उभिनसमेत नसक्ने काँतर र अक्षमहरूले प्रचण्डलाई दोष दिनु कत्ति पनि तर्कसंगत छैन । माओवादीबिना सरकार नबन्ने स्थिति भएको र त्यसको फाइदा उठाएर प्रचण्डले अस्थिरता निम्त्याइरहेको भए पो । आफ्नो नालायकीको फाइदा उठाएकोमा त लाज मान्नु र चुप बस्नु नि । आफ्नै भाषामा जनमत नभएको दललाई काँधमा बोकेर पालैपालो सत्तामा लैजानु जनताप्रति धोका होइन ? धोकेबाज तिमी कि प्रचण्ड ? (सौय अन्लाइनवाट साभार)

Facebook Comments Box