रन्जना श्रेष्ठ, पाँचपोखरी ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सहकारी संस्थाका सञ्चालक तथा सदस्यले लिएको ऋण समयमा नै नतिरे ऋणीले पालिकाबाट पाउने सेवा सुविधाबाट कट्टा गरी असुली गर्ने भएको छ । चैत ५गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
‘गाउँपालिकामा कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले पालिका अन्तरगत रहेका कुनैपनि सहकारी संस्थाको सञ्चालक समितिमा रही सदस्यहरूको रकम हिनामिना गरेको भएमा वा उक्त सहकारीलाई बुझाउनु पर्ने ऋण रकम नतिरेको भएमा नीजले गाउँपालिकाबाट पाउने सेवा सुविधा कट्टा गरी असुल उपर गर्ने निर्णय भएको छ’ ।
‘कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सहकारी संस्थामा तिर्नुपर्ने भाखा नाघेको ऋण भएमा जतिसक्दो छिटो असुल गर्नु’ भनि सुचनामा जानकारी गराएका छन् ।
गाउँकार्यपालिकाको निर्णय अनुसार कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले सहकारी संस्थाको रकम हिनामिना गरेको वा ऋण नतिरेको भनी उजुरी प्राप्त भएमा कारवाही गर्ने पालिकाले जनाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका भित्र कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिने सदस्यहरूले समयमा ऋण असुली नगरेका कारण सहकारी संस्थाहरूको कारोबारमा समस्या आएको र कतियप सहकारी संस्थाहरूले सदस्यहरूबाट संकलन गरेका बचत फिर्ता गर्न समेत नसकेको भन्ने गुनासो बढेको जनाइएको छ ।

Facebook Comments Box