रन्जना श्रेष्ठ, ईन्द्रावती ।

इन्द्रावती गाउँपालिका ९ को नव निर्मित साङ्खोला डाँडा खेल मैदानको उद्घाटन गरिएको छ । शनिबार ईन्द्रावती गाउँपालिका र गैरसरकारी संस्था जय नेपालको साझेदारीमा निर्माण भएको सेभेन ए साईड खेल मैदानको पालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गरेका हुन् ।
उक्त खेलमैदान उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपालले समृद्ध इन्द्रावती बन्न एउटा पाटो खेल पनि भएकोले यस क्षेत्रलाई पनि पालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको बताउँदै यस्ता खेल मैदानले पालिकामा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने बताएका छन् ।
गाउँपालिका अध्यक्षका स्वकीय सचिव सुनिल तामाङले जय नेपाल सँस्था र गाउँपालिकाको ५० ५० प्रतिशत साझेदारी अन्तर्गत करिव १२ लाख खर्चमा खेलमैदान निर्माण भएको जानकारी दिए । कार्यक्रममा वडा नं –९ का वडा अध्यक्ष बाबुराम लामा, जय नेपाल संस्थाका संस्थापक सदस्य बासु न्यौपाने, सहयोगी विदेशी पाहुनाहरु लगायत स्थानियहरुको उपस्थिति रहेका थिए ।

Facebook Comments Box